देब पचभैया
पाल्पा, भाद्र २१ – मगरहरुको साझा सामाजिक संस्था नेपाल मगर संघ र राजनैतिक पार्टीहरुमा आवद्ध मगर संगठनहरुको साझा मोर्चा संयुक्त मगर मञ्च, नेपाल ले मगरात संघर्षका तेस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
(नन्दकिशोर पून मगरको फोटो फाइल)
आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको तेस्रो चरणको कार्यक्रमहरुमा मगरातको भूमिहरुमा विरोध सभा, मगरात क्षेत्र भित्र भित्ते लेखन, मगरात जिल्लाहरुका प्रशासन कार्यलयबाट नेपाल सरकारलाई पुन स्मरण पत्र बुझाउने लगाएतको कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा नेपाल मगर संघ केन्द्रीय समितिको महासचिव नवीन रोकामगरले प्रेस विज्ञप्ति वाचन गरेका थिए भने एमाओवादी नेता नन्दीकिशोर पुनमगर (पासाङ) ले मगरात संघर्षको आन्दोलन सशक्त बनाउने बारेमा धारणा राखेको कार्यक्रमको अध्यक्षता संयुक्त मगर मञ्चको संयोजक लोकबहादुर थापामगरले र सञ्चालन नेपाल मगर संघ केन्द्रीय समितिको सचिव ज्ञानेन्द्र पुनमगरले गरेका थिए ।
तेस्रो चरणको मगरात संघर्षका कार्यक्रमहरुः
१. भाद्र २१ गते पत्रकार सम्मेलन ।
२. भाद्र २२ देखि २५ गते सम्म मगरात क्षेत्र भित्र मगरातको पक्षमा भित्ते लेखन गर्ने ।
३. भाद्र २७ गते पहिचान सहितको संघीयताको पक्षमा देशै भरि भएका आन्दोलनहरु प्रति मगरात क्षेत्रका सबै जिल्लाहरुमा ऐक्यबद्धता सभाको आयोजना गर्ने ।
४. भाद्र २९ गते मगरात क्षेत्रहरु पाल्पा, रोल्पा, बाग्लुङ र तनहूँमा बिरोध सभाको आयोजना गर्ने ।
यी कार्यक्रमहरु आयोजना गर्दा सम्म पनि मगरातको मागहरु पूरा भएन भने मगरात युवा दस्ता निर्माण गर्दै अनिश्चित कालिन मगरात बन्द लगायतका शसक्त संघर्षको कार्यक्रमहरु सर्वजनिक गरिने सम्मेलनमा जानकारी गरिएको छ ।
साथै मगरात क्षेत्र भित्रका जिल्लाहरुमा नेपाल मगर संघ जिल्ला समितिको संयोजकत्वमा जिल्लामा क्रियाशिल राजनैतिक पार्टीहरुका मगर संगठनहरुलाई समेतेर जिल्ला स्तरिय मगरात संघर्ष समिति निर्माण गरेर संघर्षमा परिचालिन हुन समेत सम्मेलनबाट आवहान गरिएको बैठक पछि नेपाल मगर संघ केन्द्रिय समितिका सचिब ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।