पूर्ण बहादुर राना मगर
मेराे गाउँकाे क्लबकाे नाम ईन्द्रेणि क्लब हाे । म याे क्लबकाे अध्यक्ष भएर आफ्नो कार्यकाल बिताएको छु । क्लबमा बसेर हामी युवाहरूले निम्न काम गरेका छाैं ।

१. पँधेराे सफा र मर्मत गर्ने
गाउँमा पँधेराे सफा गर्ने, बाटोमा झरेकाे काब्राेकाे पात, बर्राकाे पात, लपलपेकाे पात, असुराकाे पात र अन्य झारपात सफा गर्ने काम गरेका छाैं । याे काम हामीले स्कुल विदा भएपछि बाटाेमा सिउँडिकाे हाँगालाई झाडु बनाएर धेरै पटक बढार्ने काम गरेका छाैं ।
हामीले पँधेराे सफा गर्थ्याैं । केही समय पँधेराे सफा नगरेपछि लेउ जम्ने गर्थ्याे । हामीले बाल्टिन, बटुकाे, ताप्के र थाल लिएर गएर पँधेराेकाे सबै पानी फालेर लेउ सिउँडिकाे हाँगाबिंगाले घाेटेर सफा गर्थ्याै । पछि कलेज पढ्दा रेयुकाईकाे सदस्य बनेर जुन शिबुचाे बनेपछि ५ बाेरा सिमेन्ट पाएपछि झिरूदिकाे पँधेराेमा बालुवा सिमेन्टले जानिनजानि पलाष्टर गरेका छाैं । जुन पँधेराेमा पानी पाेहाेर हुन्थ्याे । पछि पलाष्टर गरेपछि पानी खान र पिउन याेग्य भएको थियाे । हाम्रो गाउँ डाँडामा भएकोले बालुवा लिन हामी बेसि कालिगण्डकिकाे तिर नारनटार भाेल्टङ्गेबाट बाेरामा बालुवा हालेर डाेकाेमा बाेकेर लिएर आएका थियाैं ।
२. बाटो खन्ने र मर्मत गर्ने काम
(क) नारानटारकाे बाटाे
हाम्रो क्लबले भिरकाेटदेखि बेसि नारानटार जाने १ घण्टाकाे बाटो खनेका छाैं । हामीले बाटाे खन्दा अर्नि(खाजा) भुटेकाे मकै र काेदाेकाे राेटि लगेर जान्थ्याैं । तिर्खा लाग्दा हामीले जर्किनमा पानी र कसैले छानेकाे जाँड लिएर जान्थ्याैं । किनकि त्याे बाटोमा पिउने पानीको अभाव छ ।
(ख) हाँडिबनकाे बाटाे
अर्काे पटक हामीले हाँडिबनकाे बाटाे खन्याैं । याे बाटाे पनि गाउँबाट तल बेसिमा पर्छ र लगभग १ घण्टा बढि लाग्छ । यी बाटाेहरू खन्दा हामीलाई कसैले १ रूपैयाँ सहयाेग गरेकाे थिएन । खाना, खाजा हाम्रै हुन्थ्यो । यी बाटाहरू खन्दा हाम्रो खुट्टामा धेरै चाेटपटक लागेकाे थियाे ।
यी बाटाहरू गाेरेटाे बाटाे भएको र हिउँद याममा बेसि भैंसी र गाईगाेरू झार्न गार्हाे हुन्थ्यो । गाईभैसिहरू बारि माेल्न झार्दा अप्ठ्यारो हुने भएकोले हामीले बाटाे खनेका थियाैं । हामीले बाटो खन्दा उकालाे चाैपारिमा क्लबबाट पाईप किनेर पानीको धारा पनि बनाएका थियाैं । त्यहाँ पानी ल्याउँदा घाँस काट्न जानेहरू र गाउँ बेसिमा मकै भारि र मल बाेकेर हिंड्दा तिर्खा मेट्न सजिलाे हुन्थ्यो । त्यतिबेला मानिसहरू सहर बजारमा त्यति बस्ने चलन थिएन । सबै गाउँमै बस्थे । दिनभरि बेसि जान्थे । काम गर्थे । गाईगाेरू चराउँथे । राति बास बस्न गाउँमा उक्लन्थे ।
सहरबजार जस्तै दमाैलि पाेखरामा त ब्रिटिश आर्मिका लाहुरेहरू मात्रै बस्थे । नुन लिन र अनिकालमा मकै लिन र मट्टीतेल, जिरा, लसुन, लत्ताकपडा लिन ४/५ घण्टाकाे बाटो पैदल हिंडेर दमाैलि जानुपर्थ्याे । बाटोमा बास पर्ला भनेर १ माना चामल दमाैलिबाटै किनेर डाेकाेमा हालेर ल्याउँथ्याे । हामीले डाेकाेमा खाईनखाई जम्मा गरेकाे भैंसीको घिउ, केरा, कुखुराको भाले बाेकेर जान्थ्याैं । अनि दमाैलि घर हुनेहरूले हामीलाई डाेके र पाखे भन्थे । उनिहरूले ए डाेके यता आईज । के ल्याएकाे छ भन्थे ।
त्यतिबेलाका मानिसहरूले जानेरै गर्मी भएको बेसिमा दिनभरि घामकाे राप र तापमा काम गरे पनि ४ पहर रात आनन्दले गाउँमा आएर सुत्ने चलन थियाे । बिहानै भुटेकाे मकै वा काेदाेकाे राेटि खाजा खाएर फेरि बेसि झर्थे । बेसि झर्दा घाँस लिएर जान्थे । गाउँ उक्लिंदा अन्न भए अन्न नत्र दाउरा लिएर आउँथे । यसरी गाउँबेसि गर्दा गाउँका मानिसको नत सुगर हुन्थ्यो । नत प्रेसर हुन्थ्याे । नत काेलेस्टर जम्थ्याे । बिहानैदेखि दिनभरि असिनापसिना भएर काम गर्थे । रात साँझमा प्राकृतिक एसि(Natural AC) मा आएर चार प्रहर रात कटाउँथे । शरिरलाई आवश्यक पूरा शरिरकाे व्यायाम(full body exercise) हुन्थ्याे । त्यतिबेला नत मर्निङ वाक गर्नुपर्थ्याे । नत जिम गर्नुपर्थ्याे ।
अनिकाल पर्दा खानामा पनि जलुका मिसाएर वा फाक्स्या मिसाएर ठूलो कराईमा नुन र जलुका हाल्ने र एकमाना मकैकाे चामल हालेर पकाएर खाेले खान्थ्याे । याे खाेले ४/५ जनालाई पनि पुर्याउँथ्याे । पेटभरि खान पनि पाउँदैनथ्याे । याेनै अहिलेकाे डाईटिङ रहेछ । हामीहरू आँटाे(मकैकाे भात) र कादाेकाे ढेंडाे खाँदाखाँदा वाक्क हुन्थ्यो । अहिले आँटाे र ढेंडाे शहर बजारकाे खाना भएको छ । धनिमानिकाे खाना भएको छ । नाम चलेकाे हाेटल र तारे हाेटलमा पाउने महङ्गो खाना भएको छ ।
धानकाे भात खान कहिले पाउने हाेला जस्तो लाग्थ्याे । धानकाे भात खान चण्डी पुर्णिमा साउने सक्रान्ति, तिज, दशैं, तिहार, पन्ध्र पुस, माघे सक्रान्ति कुर्नुपर्थ्याे । कसैकाे बिहे भएमा पनि धानकाे भात खान पाउँथ्याे । आजापुजा जस्तै कुल पुजा, दिबरा पुजा, आईतेबारे, बुढाबाराज्यु, झाँक्री पुजा, नवलदेउ आदिकाे पुजा हुँदा कुखुराकाे भाले र पाेथि काट्थ्याे अनि मासु भात खान पाउँथ्याे । याे बेलामा मामाघर जान सार्है महत्त्व हुन्थ्याे । दुधुबाजे र दुधुबजैले बाेलाएपछि खुसि भएर जान्थ्याे । धानकाे चामलकाे भात र मासु पाउँदा भात थपिथपि खान्थ्याे । घरमा पनि कहिलेकाहीँ पन्युमा धानकाे चामलकाे भातकाे सीता देख्दा कम्ता खुसि हुन्थेन । किनकि घरमा आमाले के खान पकाएको छ हाेला भनेर हेर्ने गर्थ्याे । धानको भात पाक्दा थपिथपि खान्थ्याैं । थपिथपि खाँदा त पकाउने आमालाई नै पुग्थेन कहिलेकाहीँ । यसरी पनि हामी बाटो खन्न जान्थ्याैं । समाजसेवामा लाग्थ्याैं ।
(ग) बाटाे मर्मत र खन्ने काम हामीले धेरै पटक गर्याैं
लाङ्घादि खाेला अर्थात् भुँई खाेलामा बनबाट काठ काटेर ल्याएर हामीले गाई गाेरू र बाख्रा हिंड्दा नचिप्लियाेस भनेर काठको मुढाहरू तेर्स्याएर बाटो बनाएको थियो । यसरी बाटो बनाउँदा बर्षामा घाँसकाे भारि बाेकेर हिंड्न पनि सजिलाे हुन्थ्यो । यसरीनै बाटाे बनाउने र खन्ने काम बलङ्घरि थर, लाँकुरि थर, नेवार गाउँ आदिमा बाटो बनाएको थियाे ।
हामीले धेरै पटक चाैपारि बनाएका छाैं । भताभुङ्ग भएको चाैपारिमा ढुङ्गा चित्थ्ने र सफा गर्ने गरेका छाैं ।
३. ट्वाईलेट बनाअाैं, वातावरण सफा राखाैं(Make the Toilet, Clean the Environment)
म क्लबकाे अध्यक्ष हुँदा “ट्वाईलेट बनाअाैं, वातावरण सफा राखाैं”(Make the Toilet, Clean the Environment) भन्ने नारा बनाएकाे थियाे । त्यतिबेला गाउँमा कसैको ट्वाईलेट थिएन । दिसा गर्न बारिकाे कान्लाकाे छेउ पारेर गर्नुपर्थ्याे । बुढापाकाले अरूले नदेखाेस भनेर दिसा झिसमिसेमा गर्थ्याे । तर हामीले त उज्यालोमा गर्थ्याैं । हामी केटाकेटी हुँदा गफ गर्दै दिसा गर्थ्याै । एउटाको दिसाकाे गन्ध अर्काेले र अर्काेकाे अर्काेलाई गन्हाउने गर्थ्याे । दिसा गरणदा हेर्याे भने तेराे आमाको दूध कुहिन्छ भन्थ्याे । सायद याे भनेकाे हेर्छ भनेर हाेला ।
“ट्वाईलेट बनाअाैं, वातावरण सफा राखाैं” नारा मुताबिक हामीले २०/२५ जना युवाहरू जम्मा हुने र एक जनाकाे घरमा गएर सेफ्टि ट्याङ्की खन्ने गर्थ्याे । एक जनाकाे सिद्धिए पछि फेरि हामीले अर्काेकाे सेफ्टि ट्याङ्की खन्थ्याैं । यसरी आलाेपालाे खन्थ्याैं । क्लबले ट्वाईलेट पेन दिने र बाँकि ढुङ्गा बाेक्ने बनाउने सम्बन्धित घरबेटी आफैले गर्नुपर्थ्याे ।
४. पार्क निर्माण, बन गाेडमेल र खाेलाकाे दुबै किनारमा बाँस लगाउने याेजना
हाम्रो क्लबले पार्क निर्माणकाे लागि काेलगैर्हि, नाचन डाँडा, ढाबाडी पँधेराे नजिकैकाे चाैर, लाँकुरि पाेखरि नजिककाे खालि जग्गा, सिद्ध थुन्किकाे खालि जग्गामा पार्क निर्माण स्थल भनेर घाेषणा गरेका थियाैं ।
हामीले लामडाँडा माईतिघर सामुदायिक बन गाेडमेल गरेका थियौं । सामुदायिक बनमा पैसा नहुँदा खेप हालेर बेसिकाे अक्कर भिरबाट खयर काठ बाेकेर श्रमदान गरेका थियाैं ।
घ्याँसिडी(चिलाउनेपानी) काे खाेला र बेराैटा खाेलाकाे किनारमा बाँस लगाउने निर्णय गरेका थियौं ।
५. शिव मन्दिर निर्माण
गाउँमा शिव मन्दिर निर्माणकाे लागि छाउने ढुङ्गा १ घण्टा भन्दा बढि दुरिबाट बाेकेर ल्याएका थियौँ ।
६. क्लबकाे नाम र नारा
हाम्रो क्लबकाे नाम २०४८ सालतिर मगर बाल क्लब राख्याैं । पछि क्लबकाे नाम ईन्द्रेणि क्लब नामाकरण भएको थियाे । पछि हाम्रो चेत खुल्याे । क्लब सबै जातिकाे साझा हाे । नामै ईन्द्रेणि क्लब भएपछि ईन्द्रेणिका रङहरू मिलेर सुन्दर मनमाेहक दृश्य बनाएर मानिसलाई आनन्द तुल्याए जसरी हामी गाउँमा जति जाति छाैं सबै जातिलाई समेट्नु पर्छ भनेर सबै जातिलाई समेट्याैं । हाम्रो क्लबमा मगर, रानाभाट, दमै, कामी, सार्की, नेवार सबैलाई समेटेका थियौं । हाम्रो गाउँका अन्य जातिहरूकाे क्लबले यसरी सबै जातिलाई समेटेकाे थिएन ।
अपराधी र उच्छृङ्खल मानिसहरूले हाम्रो क्लबको कार्यक्रममा पटकपटक मञ्च र दर्शक माथि ढुङ्गा हान्थे । दर्शक बिथाेल्थे । बालबच्चाहरू आमैबाबै भनेर तितरबितर हुन्थे । काेहाे ढुङ्गा हान्ने भनेर माईकिङ गर्थ्याे । तर म हाे भनेर काेहप आउँदैनथे । बरू गाउँका केही मानिस झगडा गर्न आउँथ्याे । सायद ती झगडा गर्न आउनेहरूलेनै ढुङ्गा हानेकाे हुनसक्थ्याे । नत्र ढुङ्गा नहान्नु । ढुङ्गा हान्न राेक भन्दा त सबै मिलेर ढुङ्गा हान्नेलाई पाे खाेज्न सहयोग गर्नु पर्थ्याे त । कतिलाई चाेटपटक पनि भएको थियाे । साँस्कृतिक कार्यक्रम राति हुने गर्दथ्यो ।
हाम्रो क्लबकाे नारा “भाषा, धर्म, सँस्कृति हाम्राे पहिचान, सबैखाले एकाधिकारवाद विरूद्ध हाम्रो अभियान” भन्ने मूल नारा थियाे ।
७. अर्मपर्म
हामीले घरकाे नाल बाेक्ने, सुलि बाेक्ने, ठूलठूला थाम बाेक्ने, मकै र पराल बाेक्ने काम घर र गाेठ छाउने काम पनि बिना निमेक पटकपटक गरेका छाैं ।
८. आम्दानीको श्राेत
पैसा बिना केही काम गर्न सकिँदैन । त्यसैले हामीले प्रत्येक गाेजाग्रत पूर्णिमामा वार्षिक कार्यक्रमकाे रूपमा ईन्द्रेणि साँस्कृतिक कार्यक्रम राख्थ्याैं । त्यसबेला हामीले सबै क्लबका सदस्यका घरमूलिलाई चिठिपत्र पठाउँथ्याैं । र हामीलाई वहाँहरूले सक्दाे आर्थिक सहयाेग गर्नुहुन्थ्याे ।
विदेश गएर घरमा आउने मानिसहरूलाई चिठि काटेर याे दिनमा तपाईंलाई स्वागत गर्न आउँछाैं भनेर जान्थ्याैं । र उनिहरूले सक्दाे आर्थिक सहयाेग गर्नुहुन्थ्याे ।
मेराे अध्यक्ष कार्यकालमा यी कार्यहरू गरेकाे २०६५ सालतिर हाे ।
यसरी हामीले कुनै एनजीओ र आएनजिओ बिना धेरै काम गरेका थियाैं । याे नै श्रमदान हाे । हाम्रो घरगाउँमा नेपाल सरकारकाे नुनपानी खाएकाहरू १% छन् । बाँकी हाम्रा जिजुका जिजुहजुरबाका पाला देखि अहिलेसम्म नेपाल सरकारकाे नुनपानी खाएका छैनाैं । हर्क साम्पाङले श्रमदान श्रमदान भन्दा कताकता लाग्छ हामीले कहिलेसम्म श्रमदान गर्ने हाे? अहिले त पैसा बिना जीवन चल्दैन । सेकेन्ड सेकेन्डमा पैसा गईरहेकाे छ । किनकि हामीले फेसबुक, युट्युब, टिकटक, मेसेन्जर, ह्वाट्सयाप चलाईरहेकै हुन्छौं । भारि बाेकेर ७/७ घट्टा टुँईटुँई हिंड्ने बाटोमा हामी अहिले गाडिमा हिंड्छाैं । विकासले मानिसलाई अल्छी बनाउँदाे रहेछ । एक्लै हिंड्न पनि झ्याउ लाग्छ ।
अब त हामीले श्रमदान मात्रै हाेईन नेपाल सरकारले दिएकाे राेजगार गरेर देशकाे विकासकाे लागि दिनभरि बाटाे खन्ने, ढुङ्गा बाेक्ने, अफिसमा काम गर्न पाए हुन्थ्याे जस्ताे लाग्छ । मेराे ८० वर्ष पुगेकाे बाबा र अन्य मेरा गाउँका बाबाहरू र ७३ वर्ष पुगेकाे मेरी आमा र अन्य हाम्रा नेपाली आमाहरूले अहिलेसम्म श्रम गरिरहेकै हुनुहुन्छ । बरू श्रमदान नै गर्ने र गराउने हाे भने नेपाल सरकारले अधिकांश नेपालीलाई तत्कालै राेजगार दिन नसक्ने हाे भने अहिले नेपालमा सरकारि जागिर गर्ने सेना, प्रहरी, शिक्षक, कर्मचारीलाई वर्षकाे कति शनिबार श्रम गराउने हाे गराए हुन्छ । किनकि उनिहरूले शनिबार विदाकाे दिन पनि तलब पाउँछन् । यसरी नै प्रदेश र संघीय सांसद, मन्त्री, वडासदस्य, अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई श्रमदान गराउनुपर्छ । र यसरी नै करोडौं र अरबाैं कमाउने विनाेद चाैधरि, विशाल ग्रुप, हुलास, ज्ञानेन्द्र शाहका सन्तानलाई श्रमदान गराउँदा उचित हाेला कि हर्कजि!
