स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्याः मुख्यमन्त्री 

Read Time:6 Minute, 9 Second

सन्जिब दुलाल 

भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ । 

बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख, अध्यक्ष, तथा आर्थिक आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको हो । 

सार्वजनिक खरिद व्यवस्थापनमा विभिन्न समस्या समाधान तथा कसरी यसको समाधान गर्न सकिन्छ भन्ने हेतुका साथ बागमती प्रदेशका ४ जिल्लाका २३ स्थानीय तहलाई उक्त अभिमुखीकरण तालिम दिइएको प्रदेश सुशासन केन्द्रले जानकारी दिएको छ । 

स्थानीय तहको मागका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा तयार गरिएको पाठ्यक्रमका आधारमा स्थानीय तहले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने सावधानी र कानुनी पाटोका विषयमा जानकारी दिने हेतुले उक्त कार्यक्रम गरिएको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक खरिदको परिचय कानुनी र संस्थागत व्यवस्थाको विषयमा कक्षा लिनुभएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव राम चन्द्र दंगालले बोलपत्र कागजात तयारी सम्बन्धी सामान र कार्यका विषयमा कक्षा सञ्चालन गर्नुभएको थियो । 

यस्तै पूर्व सचिव एवं विज्ञ मणिराम गेलले बोलपत्र मुल्याङन प्रक्रिया, करार सम्झौता व्यवस्थापन तथा कालो सूची र निर्माण कार्यको खरिदमा उपभोक्ता समिति लाभग्राही समुदाय लगायतका तीन विषयमा कक्षा सञ्चालन गर्नुभएको थियो । 

यसै गरी स्थानीय तहको लेखा परीक्षण बेरुजु तथा सम्परीक्षणको विषयमा प्रादेशिक लेखापरिक्षण महानिर्देशनालय बागमती प्रदेका ताराप्रसाद पाण्डेले कक्षा सञ्चालन गर्नुभएको थियो । 

स्थानीय तह सञ्चालन तथा खरिद प्रक्रियामा ज्ञान नहुँदा बेरुजु हुने तथा बोलपत्रको प्रक्रिया नमिल्दा हुने झन्झटको समाधानका लागि उक्त कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । 

स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी नहुँदा भएको समस्या समाधान गर्नका लागि प्रदेशले यस्ता कार्यक्रमको आयोजना सबै स्थानीय तहमा गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमका कारण स्थानीय तहमा बेरुजु नहुने र सुशासन आउने तथा यस्ता कार्यक्रमले गर्दा खरिद प्रक्रियामा चुस्त दुरुस्तता आउनेमा आफू विश्वस्त भएको मुख्यमन्त्री लामाले बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रम सञ्चालन गर्ने तथा जानकारी दिने दक्ष जनशक्ति तथा प्रशिक्षक उत्पादन तथा प्रशिक्षण कार्यक्रमलाई प्रदेशले निरन्तरता दिने समेत बताउनुभयो । 

यस्तै कार्यक्रममा उहाँले कर्मचारीको पिआएस थाहा नहुँदा भएको समस्या समाधान गर्नको लागि प्रदेश सरकार लागि परेको छ, सफ्टवेयर डेभलप गरेर कुन स्थानीय निकायमा को को कर्मचारी छन् हाजिरी कस्तो छ देखि सरुवा तथा बढुवाका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि यसबाट सहज हुने उहाँले बताउनुभयो । 

यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थानीय सरकारले जनताको प्रत्यक्ष आवाज सुन्नु पर्ने हुँदा एक आर्थिक वर्ष भित्र एकै प्रकारका वस्तु तथा सेवा खरिद र निर्माण धेरै पटक गर्दा यस्ता खरिदलाई ऐनले टुक्रे खरिद भनी अनियमित भन्दै महालेखाले बेरुजु देखाउँदा स्थानीय तहमा बेरुजुको अङ्क बढ्दो भएको बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रदेश सचिव रितेश कुमार शाक्य लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा रसुवाका ५ पालिका , नुवाकोटका १२ पालिका, भक्तपुरका ४ पालिका र ललितपुरका ३ गाउँपालिका गरी २३ पालिकाका जनप्रतिनिधि( प्रमुख वा अध्यक्ष) तथा आर्थिक प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %