
-पूर्ण बहादुर राना
हुनत हिजाे राजतन्त्र हुँदा मेराे घर ५ तलाकाे सिमेन्टेड आरसिसि भएको र आज गणतन्त्र आएसि ढुङ्गा र माटाेकाे घर भएको हाेईन हाेला । राजतन्त्र हुँदा मेराे गाउँमा चार लेनकाे चिल्लो पिच गरेकाे बाटोमा मेरा बाबाआमा र हामी टाेयाेटा कारमा हिंडेकाे अहिले गणतन्त्रमा धुले र हिले बाटाे र घुम्तिमा गाडिलाई माेड नपुगेर ब्याक गर्दा कतै उच्छिट्टिएर ५०० मिटर भिरबाट खस्छ कि भनेर डराई डराई यात्रा गर्नुपर्ने बाटाे भएको हाेईन हाेला । हिजाे राजतन्त्रमा सबै जाति समुदायकाे मातृभाषामा विद्यालय र विश्वविद्यालयसम्म अध्ययन अध्यापन गर्न पाएकाे र अहिले गणतन्त्रमा पढ्न नपाएको हाेईन । हिजाे राजतन्त्र हुँदा नेपालमा राेजगारै राेजगार भएर महिनाकाे कम्तिमा पनि चारपाँच लाख तलब देखि लिएर १५/२० लाख तलब भएको र अहिले गणतन्त्रमा महिना १० हजार तलब भएको जागिर र अझ बेरोजगार भएर विदेशीनु परेकाे हाेईन हाेला ।
हुनत यी मनुवादि ओलि, दाहाल, देउवा पाैडेलहरूकाे रत्तिभर विश्वास गर्न हुन्न हाेला । किनकि यिनिहरूले राजा ज्ञानेन्द्रसँग हामी एकछिन गणतन्त्रमा जान्छौं । अनि पछि देशमा बेथिति, अनियमितता, महङ्गि, कालाेबजारि, भ्रष्टाचार र अराजकता गरेर फेरि जनतामा राजतन्त्र चाहियाे भन्ने माहाेल खडा गर्छौं र तपाईंलाई ससम्मान नारायणहिटिकाे राजसिंहासनमा पुनर्स्थापना गर्छाैं भनेकाे पनि हुनसक्छ । त्यसैले राजा ज्ञानेन्द्रले सात दलसँग गरेकाे सम्झौताकाे कुरा गरिरहन्छ ।
मनुस्मृतिले छियाछिया र थिलाेथलाे पारेकाे नेपाल र भारत जस्तो देशमा दलितले खाकाे भाँडाेमा उनिहरूले माझिसकेपछि त्यहि भाँडाेमा आगाेकाे काेईला र पानीहालेर झ्वाईँया परेर सुकाएर घर भित्र लान्थ्याे राजाको शासन कालमा । दमैकामिलाई छाेयाे भने पानीको छिटा लिनुपर्थ्याे । स्कुलमा लसपस भयाे भनेर स्कुलबाट पढेर आउँदा घरमा छिटाे दिने काेहि नहुँदा गाईकाे गाेबर कुचेर घर भित्र पस्थ्याैं । श्रीमान् मरेपछि श्रीमती मरेकै लाेग्नेसँग सेताेफकपडा लगाएर बिहे गरेर बस्नुपर्ने । अझ पहिला त सति गएर मरेकाे लाेग्नेसँग जिउँदै मर्नुपर्ने अवस्था थियाे ।
राजकालमा घरबाट नुन लिन ७/८ दिनकाे बाटाे जानू पर्ने थियाे रे । कास्की पाेखरा र तनहुँबाट नुन तेल लिन साेहपुर ठाेरि जानू पर्थ्याेरे हिंडेर । पछि बटाैलि र अनि नारायणगढ जानुपर्थाे रे । हाम्राे पालमा ६ दिन र ७ दिन त हिंड्न परेन तर ६/७ घण्टा हिंडेर दमाैलिमा नुन तेल, मकै बाेक्न म आफै आएकाे छु ।
हिजाे याे देश विकास नभएको राजाले गर्दा हाे । देश लुटेको राजाले हाे । राजाकाे स्विस बैंकमा अरबाैं खरबाैं रूपैयाँ छ । त्याे पैसा ल्याउन पाए नेपालीहरू बसिबसि खान पाउँछन् भनेर भन्थे । यसरी शाहवंश राजालाई चाेर अाैंलाले तेर्स्याएर ताराे देखाएर एकाधिकार मनुवादि देउवा, ओलि, पाैडेल, नेपाल, दाहालहरूले देश लुटेर बेहाल बनाएका थिए । देश लुटेकाे त राजाले मात्रै हाेईन रहेछ यी मनुवादीहरूले नै रहेछ चाहे राजतन्त्रमा हाेस, चाहे राणातन्त्रमा हाेस, चाहे पञ्चायतीतन्त्रमा हाेस वा चाहे अहिलेकाे गणतन्त्रमानै किन नहाेस । नेपाली जनता देश लुटेका यी ओलि, देउवा, दाहाल, नेपाल र पाैडेलहरू नै रहेछ भनेर छ्याङ्ग भएका छन् । नत्र किन देशमा ४/५ लाख कमाउने बाताबरण यिनले बनाएनन्? कि यी देश यिनले लुटेकाे हाेईन भने के राउटे र कुसुन्डाले लुटेकाे हाे? के राउटे र कुसुन्डाहरू याे देशकाे प्रधानमन्त्री, राष्ट्रपति, सचिव, न्यायाधीश भएर देश चलाएकाे छ? त्यतिकै प्रधानमन्त्री जस्ताे मानिस जहाँ गएनि “ओलि चाेर देश छाेड” काे नारा गुन्जिन्छ र घन्किन्छ? अब नेपाली जनताले यिनलाई नेता मान्नेवाला छैन ।