पृथ्वीनारायण शाहकाे नश्ल भ्रम

Read Time:14 Minute, 27 Second

डा. दलिपकुमार मल्ल ,काठमाडौँ

पृथ्वीनारायण शाह मगर हुन् भन्ने विद्वान्हरू अहिले प्रशस्त भेटिएका छन्। अहिले नेपालको सामाजिक मनोविज्ञान पनि पृथ्वीनारायण शाह मगर नै हुन् भन्ने बन्दै गइरहेको छ। के उनी मगर हुन् वा उनका पूर्वज मगर थिए ? यसको गहन रूपमा अध्ययन नभई उनी मगर हुन् भन्नु बौद्धिकताको उपहास हो। कसैले पनि यो मगरवंशको यो हाँगो भनेर खुट्याउन सकेका छैनन्। यदि उनी मगर हुन् भने कुन मगर वंशजका सन्तति थिए ? नेपालका मगरहरू कसरी मगर भए ? कहिले नेपाल आए ? कहाँ कहाँ राजा भए ? त्यसको ऐतिहासिक प्रमाण नभएसम्म गण्डक क्षेत्रका चौबिसे राजाहरू मगर थिए भन्नु उचित होइन।

केही इतिहासविद्ले मगरले नै जनै धारण गरेर बाइसेचौबिसेमा ठकुरी राजा भए भन्नु सतही अध्ययन मात्र हो। नेपाली समाजमा कुनै पनि राजा हुनका लागि क्षत्रिय धर्मपालक हुनुपर्ने व्यवस्था थियो। यसको आआफ्नै नीति छ। फलस्वरूप उनी र उनका पूर्वज क्षत्रिय धर्मपालक नै ठाकुर हुँदै ठकुरी भएका हुन्। हामी के आधिकारिक भन्न सक्छांै भने इतिहासमा लेखिएका वंशजलाई नै उनीहरूको वंशज हो भनेर मान्नुपर्ने हुन्छ। अन्यथा ऐतिहासिक साम्रगीले प्रस्ट पार्न सक्नुपर्छ।

मगर को हुन् वा होइनन् भन्ने बारेमा हामीले अरुहरुले मात्र लेखेको कहिले सम्म पढ्ने ?  हामी आफै किन लेखिरहेका छैनौ ?
हालको गोरखा शहर ‘चितौरे रानाहरु’ले स्थापना गरेका भनेर Eden Vansittart  को The Gurkhas – 1915  भन्ने किताबको  पृष्ठ ८५ मा पनि लेखिएको छ ।  बिक्रम सम्बत्  १६१६ माने सन् १५५९ मा गोरखामा गंगाराम राना थिए । द्रब्य शाहलाई गोरखाको राजा बनाउनकानिम्ति उनले  पनि ठूलो भूमिका खेलेकै हुन् । यो राना वा राणा  वा ठकुरी भन्ने जातिनाम वा पदहरुका बारेमा  भने Prof D. C. Sarkar को Indian Epigraphical Glossary 1966 pp 276,340 मा सबै कुरा लेखिएकै छ । सम्बत २०७० सालमा 

पर्वत पैयुँका ‘सारु मगर’हरु र ‘सेन ठकुरी’हरुले  एकैठाऊँमा  ‘कूल देवता’ पूजा गर्दा सारु मगरको घरबाट  मूलबत्ती बालेर लगिएको थियो । यसबारेमा म आफैले पनि उहाँहरुसँ प्रत्यक्ष कुरा गरेको छु – बि.के. राना मगर , हाल यु.एस.ए.

मगर को हुन्?

गोपाल शिवाकोटीले मगरहरूलाई नागा वा नागा किराँती भनेका छन्। किराँत मुन्धुमले मगरलाई हिमालयको उत्तरसिन भन्ने स्थानमा पहिलोचोटि देखापरेको मान्छ। यिनै सिनमगर र चितु (चिन्तु) मगरको नेतृत्वमा मगरहरू उत्तरबाट दक्षिणतर्फ झरेका हुन्। गोपाल शर्माको पनि भनाइ यही छ।

इमानसिंह चेमजोङले मगरजातिको उत्पत्ति सिन प्रदेशमा भएको हो भनेका छन्। डोरबहादुर विष्टले हंगेरीका मगयारहरू नै मगरका सन्तति हुन् पनि भनेका छन्। गोपाल शिवाकोटी हंगेरी जनश्रुतिअनुसार मगरहरूको उद्गम मध्यएसिया क्षेत्र हो भनी लेख्छन्। मगरभित्र धेरै थर, गोत्र र जातजाति तथा विभिन्न भाषा छन्। यिनीहरूको भाषामा खास, खाम, धुत, काइके, पोइके छन्। आले मगरभित्र धेरै मगर छन्। (अर्घाली, दुरुङचुङ, सुयाल, सिरपाली आदि) यस्तै बुढाथोकी÷बुढामगर, घर्ती मगर, थापा मगरभित्र मगरका धेरै थर छन्।

मग्वंरविषय र मगरात

नेपाली समाजमा आर्य, खस र मंगोलबिच ठुलो लडाइँ छ। तर शब्दकोशमा आर्य भनेको सभ्य समाज हो, अनार्य भनेको असभ्य समाज हो भनिएको छ। अहिलेको एक्काइसौं शताब्दीमा केही धार्मिक परम्पराबाहेक सबै जातजाति सभ्य भइसकेका छन्। सभ्यतामा आर्य सभ्यता, नेवार सभ्यता, मगरात सभ्यता, ककेसक सभ्यता, खस सभ्यता, यस्ता धेरै सभ्यता छन्।

मगर जातजातिको वासस्थान मगरात क्षेत्रमा नै थियो। यिनीहरूको सभ्यताबाट नै मगरात सभ्यता भएको देखिन्छ। अब यहाँ शिखरनाथ सुवेदीको कवितालाई उद्धरण गरौं– ‘ठकुरीको कुलमा गिरिगिरकन जो मगर भएका।’

अर्को कविता ‘मगरको वंशावली हराएर जान्छ, ठकुरी गाउँमा पसे थाहा हुन्छ।’ यसले के जनाउँछ भने केही मगरहरू ठकुरी कुलबाट झरेर मगर भएका पनि रहेछन्। यसका उदाहरण धेरै नै छन्। यसले मगर पनि मिश्रित जाति रहेछ भन्ने आभास हुन्छ।

गोपालराज वंशावलीका अनुसार धेरै विषयमा मंग्वर विषय पनि उल्लेखनीय छ। परापूर्वकालमा ‘गण्डी गुल्म विषयमा बस्ने सुवर्णकार राणा’ वा राना थिए। त्यस्तै राणाको अर्थ हामी राणा वा रानालाई मगर जातिमा जोड्न मिल्दैन। राणा तथा राना शब्द एक लोकप्रिय खानदानी शब्द वा एक उच्च पद बुझाउने शब्द थियो। यो राजकीय शब्द पनि हो।

राजतरंगितमा लेखिएझैं नेपालका अरमुडी राजालाई पनि मगर भन्नु त्यति सान्दभिक हुँदैन। राजा हर्षदेवको राज्यकालमा ‘श्री गुण्डीगुल्मविषये कुलपुत्र कायस्थ श्री जीवधरसिंहस्य पुस्तक’ भनेको पाइन्छ। यसमा जिग्लोद्गमविष्या, पन्नगविषय, मंग्वरविषय र फनपिङविषय समावेश थिए। यस्तो विषय छिमेकी राज्यमा पनि छैटौं शताब्दीदेखि आएको थियो। धेरै पछिसम्म पनि बंगाल, कन्नौज र कामरूपमा पनि यस्ता विषय देखिन्छन्।

शाहवंशको विश्लेषण

पृथ्वीनारायण शाह तथा उनका पूर्वज ठकुरीहरूले ठकुराई गरेका सबै क्षेत्रमा मगरबस्ती थियो। फलस्वरूप पृथ्वीनारायण शाहले मगरातको राजा हुँ भनेका थिए। तर अहिले आएर मगरबहुल क्षेत्र भएको ठाउँमा मगरबाहेक अरू कोही राजा हुन सक्दैन भन्ने भनाइ व्याप्त भएको छ। हामी नेपालको पहिलो राष्ट्रपति एवं काठमाडौं नगरपालिकाका मेयरको उदाहरण लिन सक्छौं।

१६१६ साल भदौमा द्रव्य शाहले मानसिंह खड्काको राज्य अधिग्रहण गरेका थिए। सर विलनम जोनले ‘सन् १७८४ मा गोर्खा चाहिँ चित्तौरका राना मगरले स्थापना गरेका थिए’ भनेका छन्। चित्तौरबाट आएका कारण चित्तौरे भनेका हुन्। तत्कालीन समयमा छिमेकी राज्य तथा उनका भाइ भारद्वार लिएर वा शक्तिशाली राज्यको रजौटामा क्षमतावान्, क्षत्रीय धर्मपालक, कुशलनीतिज्ञ भएको कुनै व्यक्ति राजा हुन सक्ने थियो। यो तथ्य काठमाडौंको इतिहास अध्ययन गर्दा प्रस्ट हुन्छ।

पृथ्वीनारायण शाहको १५औं पुस्तामा जैन खान देखिएका छन्। उनका बाबु भूपाल राना राय हुन्। यसमा बाबुराम आर्चाय, गोपीनाथ शर्मा, डा. राजाराम सुवेदीको अध्ययनमा केही फरक देखिन्छ। डा. जगमान गुरुङले बाबुराम आचार्यको भनाइ उधृत गरी धेरै अन्तर्वार्तामा द्रव्य शाहभन्दा माथिको इतिहास अन्धकारमय छ भन्नुभएको छ। त्यतिन्जेलसम्म कास्की राज्यको इतिहास र गोर्खाको इतिहास भाग एक, दुई, तीन आइसकेको थिएन। फलस्वरूप त्यो भनिएको होला।

इतिहासविद् दिनेशराज पन्तको भाग एक, दुई, तीनका ताम्रपत्र तथा डा. राजाराम सुवेदीको ‘कास्कीको इतिहास’ले शाहवंश र राजाको नाम प्रस्ट पार्छ। विटिस प्रोफेसर ट्वाइन वीले सामाजिक इतिहास र इतिहास जुम्ल्याहा दिदीबहिनी हुन् भनेका छन्।

कर्कप्रेटिकको इतिहासलाई सच्याउँदै हेमिल्टनले नेपालको इतिहास लेख्नुभएको छ। उनले शाह वंशजको इतिहासमा उनका सहयोगी साधुराम र पाल्पाली सेनका भैयाद सम्मरबहादुरको भनाइमा शाहवंशज पामरवंशी अनि चित्तौरगढका भनेका छन्। तर उनको विचारमा त्यो भेगका अन्य राजाको अनुहार हेर्दा मंगोल अनुहार देखिन्छ।

अब एक्काइसौं शताब्दीमा अनुहार हेरेर आर्य, खस र मंगोल भन्नु हास्यास्पद हुन्छ। उनी पनि धेरै ठाउँमा चुकेका छन्। पर्वत राज्यमा आएर उनले सत्रौं शताब्दीको अन्ततिरका राजा मलेबमका सन्तानहरू नै बाइसेचौबिसे हुन् भनेका छन्। पर्वतराजा मलेबम डिम्बबमको साठीऔं पुस्ता हो भनेका छन्। यो कदापि होइन।

शाह वंशजमा भारतीय इतिहासको महाराणा जवानसिंहमा रावल समरसिंहका कनिष्ठ पुत्र कुम्भकर्ण रायका १६ औं पुस्ता भूपाल राना थिए। उनका छोरा खान्चा खान (हरिहर सिंह) र मिन्चा खान (अजित सिंह) खान थिए। यो वंशावली प्राचीन इतिहासमा पनि लेखिएको छ। मेवाडको उदयपुर राज्यको इतिहासमा पनि यही लेखिएको छ।

बालकृष्ण पोखरेलले भूपाल रानालाई पृथ्वी मल्लका सन्तान भनेका छन्। उनको भनाइअनुसार खसराज्य विखण्डन भएपछि उनका सन्तति खानडाँडामा आएर बसेका थिए। पृथ्वी मल्ल गौतम गोत्रका थिए। पछि भूपाल रानाले भारद्वाज गोत्र अनुशरण गरे। यो अलि पत्यारिलो देखिन्छ। बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त इतिहास’मा जैत खानका छोरा सूर्य खान हुन् भनिएको छ। आचार्यले यिनका छोराहरू खान्चा खान र मिन्चा खान भनेका छन्। यहाँ इतिहास बाझिएको छ।

नुवाकोट वा नयाँकोटका राजा अजयसिंह मिन्चा खानका वंशज कास्कीका राजा कुलमण्डन शाह, उनका छोरा यशोब्रह्म शाह र द्रव्य शाह भनेर प्रस्ट पारिएको छ। आठौं पुस्ताका राम शाह र १४औं पुस्ताका नरभूपाल शाह हुन्। यिनै नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाह हुन्।

दिनेशराज पन्तले पनि ‘लन्डनको इन्डिया अफिसको लाइब्रेरीमा रहेको ब्रयान हड्सनको सङ्ग्रहको वंशावलीको प्रतिलिपि’लाई नै शाहवंशको तथ्यका लागि अनुशरण गरेका छन्। त्यहाँ लमजुङमा श्रीश्रीश्रीश्रीश्री यशोब्रह्मा शाह महाराज, उनका तीन पुत्रमा जेठा नरहरि शाह, माहिला द्रव्य शाह र कान्छा श्री नरपति शाह लेखिएको छ।

निष्कर्ष

हुटचिसन र वोगेलको पन्जाब पहाडी राज्यको इतिहासमा र राननाथ साहनीको ‘लाहुल द मिस्ट्र ल्यान्ड इन द हिमालयस’को इतिहासमा विक्रम संवत् १०० देखि ६०० सम्म पाल, ठाकुर, राना, सिंह, वर्मन पनि समान्त वा जागिरदार प्रशस्त भेटिन्छन्, नेपालको इतिहासमा अंशुवर्माले नै पहिलो पटक ठकुरी लेखेका थिए भनिएको छ। सूर्यवंशी मानदेव वर्मनहरू पनि ठाकुर नै थिए। राघवदेव वैश्य ठकुरी नै थिए। नान्यदेवका सन्तान तथा त्योभन्दा अघिका राजालाई ठाकुर र नेवारी भाषामा ठकुजु पनि भनिन्छ।

फलस्वरूप अझसम्म पनि कसैले भूपाल रानाभन्दा माथिको वशंजमा मगरहरूको वशंज जोड्न सकेका छैनन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर टुक्रे राज्यलाई एक बनाएको इतिहास हाम्रोसामु छ। फलस्वरूप नेपाल बनाउने अभियानमा लागेका पृथ्वीनारायण शाहका पुर्खाहरू क्षत्रिय धर्मपालक, क्षत्रिय कुलका ठाकुर वा ठकुरी हुन्, मगर होइनन्। उनी राष्ट्रिय एकताका प्रतीक हुन्।  

साभार : ( नागरिक दैनिक २७ पुस २०८१ मा प्रकाशित लाइ राज्यसत्ताका पाठक हरूका निम्ति जस्ताकाे तस्तै गरिएकाे साभार गरिएकाे )

3 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %