कुमाऊँ राज्यमा गोरखाली फौजको कथा

Read Time:28 Minute, 35 Second


त्रिलोक सिंह थापा मगर

कुमाऊँ राज्यमा प्रवेश
सन् १७९०को हाराहारीमा वृहद एवं विशाल गोरखा साम्राज्यका सेना नायकहरुले उत्तराखण्ड प्रदेशको तत्कालीन कुमाऊँ राज्यमा दुई तर्फबाट प्रवेश गर्ने रणनीति तयार गरे । सो अनुसार गोरखाली फौजलाई दुई टोलीमा बिभाजित गरियो । पहिलो टोलीको कमाण्ड बडाकाजी अमर सिंह थापा तथा हस्तदल चौतरियाले गरे । दोश्रो टोलीको नेतृत्व काजी जगजित पाण्डे तथा शुरबीर थापाले गरेका थिए । दुबै टोलीले एक साथ विशाल र बिकराल महाकाली नदीलाई पार गरेर दुई तर्फबाट कुमाऊँ राज्यको सरहद भित्र प्रवेश गरे ।


बडाकाजी अमरसिंह थापा र हस्तदल चौतरिया आफ्नो टोली लिइ गङगोली तर्फ बढे । काजी जगजीत पाण्डे र शुरबीर थापा आफ्नो टोलीका साथ चम्पावत तर्फ लागे । गोरखाली फौजको कुमाऊँ राज्यमा आगमन भएको समाचार थाहा पाए पछि त्यहाँका राजा महेन्द्रचन्दले सो फौजलाई बाटोमा रोक्न गङगोली तर्फ आइ पुगे । त्यस्तै कुमाऊँ राज्यका तत्कालीन दीवान लालसिंह पनि आफ्नो फौज लिइ चम्पावत तर्फ लागे । दुबै मोर्चामा गोरखाली तथा कुमायूँ राज्यका फौजको बीच घमासान युद्ध भयो । गङगोलीमा राजा महेन्द्र चन्दको फौजले गोरखाली अमर सिंह थापाको फौजलाई पछि फर्किन बाध्य गर्यो । तर चम्पावतमा दीवान लालसिंहको फौजलाई धेरै हानी नोक्सानी र ज्यान गुमाउनु पर्यो ।
फलस्वरुप लालसिंह चम्पावतको रणभूमि छोडेर तराईमा सुरक्षित ठाउँ खोज्न तिर लागे । सो समाचार थाहा पाए पछि राजा महेन्द्र चन्द पनि गङगोली छोडेर तराई तिर सुरक्षित ठाउँको खोजीमा हिडे । उनले एक्लै गोरखाली फौजको बिरुद्ध लड्न हिम्मत गरेनन् । यस्तो स्थितीमा गोरखाली फौजलाई अघि बढ्नबाट रोक्नको लागि कुमाऊँ राज्यमा कुनै पनि स्थानीय शक्तिशाली सेना नायक तथा सेना अगाडी आउन सकेनन् । अतः गोरखाली फौजले सजिलै संग सन् १७९० मार्च महिनामा कुमाऊँ राज्यलाई बृहद एवं बिशाल गोरखा साम्राज्यमा समाहित गर्न सफलता प्राप्त गर्यो ।

गढवाल राज्यमा प्रवेश :
कुमाऊँ राज्य माथि गोरखाली फौजको शासन कायम भए पछि पन्डित हर्ष देव जोशी ज्यादै प्रसन्न भए । तर उनलाई आत्म सन्तुष्टि भएन । उनि गढवाल राज्यका राजा प्रद्युमन शाहको पतन पनि हेर्न चाहन्थे । कारण प्रद्युमन शाह र उनका भाई पराक्रम शाहले महेन्द्रचन्द र मोहनचन्दको पक्ष लिएका थिए । अतः गोरखाली फौजका सेनानायकहरुलाई गढवाल राज्य माथि हमला गर्न उक्साउन थाले । साथै काठमाण्डौ राजदरवारलाई गढवाल माथि हमला गर्न आदेश पत्र जारी गर्न लेखी अनुरोध पनि गरे ।
केही समय पछि काठमाण्डौको राजदरवारबाट बहादुर शाहले सेनानायकहरुलाई गढवाल राज्य माथि हमला गर्न आदेश पत्र जारी गरे । सो अनुसार सेनानायक अमरसिंह थापाले गढवाल राज्य माथि हमला गर्न तयारी गर्दै थिए । त्यसै समयमा नेपाल तिब्बतको (भोट) युद्ध शुरु भयो । गोरखाली फौजलाई गढवाल युद्ध स्थगित गरेर काठमाण्डौ फर्कन आदेश प्राप्त भयो । अतः केही समय सम्म गढवाल राज्य माथि गोरखाली फौजको गतिबिधीहरु रोकियो ।
पछि काठमाण्डौबाट अमर सिंह थापा सोझै कुमाऊँमा आईपुगे । सन् १८०४ जनवरी महिनामा खुरबुराको युद्ध भयो । सो युद्धमा राजा प्द्युमन शाहको रणस्थलमा मृत्यु भयो । जनरल अमर सिंह थापाले गढवाल राज्यका पूर्व राजा प्रद्युमन शाहको शव माथि दोसल्ला ओढाई राजकीय सम्मानका साथ हिन्दु बिधी विधान अनुसार दाह संस्कारको सम्पूर्ण व्यवस्था मिलाई दिए । यसबाट स्थानीय जनतामा उनको धेरै प्रभाव पर्न गयो । पछि सन् १८०६ मा देहरादुन उपत्यका पनि बृहद एवं विशाल गोरखा साम्राज्यको अभिन्न अंग बन्न पुग्यो । यसरी अत्यन्त छोटो अवधिमा गोरखाली फौजले कुमाऊँ, गढवाल तथा देहरादुन उपत्यकामा गोरखालीहरुको शासन व्यवस्था कायम गर्न सफलता प्राप्त गर्यो ।

हर्षदेव जोशीको भूमिका :
पण्डित हर्षदेव जोशीले कुमाऊँ, गढवाल तथा देहरादुनको आन्तरिक सैन्य तथा राजनीतिक जानकारीहरु गोरखाली सेनालाई उपलब्ध गराए । साथै त्यहाँको भौगोलिक र सामरिक सूचनाहरु दिए । यस्का साथै गोरखाली सेनालाई कसरी, कता र कुन बाटो घाटोबाट कुमाऊँ र गढवाल राज्यमा हमला गर्नु पर्दछ आदीको गोप्य सूचनाहरु दिए । फलस्वरुप गोरखाली फौजलाई गोरखा साम्राज्यको पश्चिम सरहद अलखनन्दा नदीको किनार पुर्याउन सजिलो भयो । साथै कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखा शासन प्रणाली सन् १७९० देखि १८१६ सम्म कायम गर्न गोरखालीहरु सफल भए । तर गोरखाली शासनबाट पन्डित हर्षदेव जोशीलाई कुनै व्यक्तिगत फाईदा भएन । अतः उनि ईष्ट ईन्डिया कम्पनी सरकार संग मिल्न गए र उतराखण्ड प्रदेशबाट गोरखाली शासन व्यवस्थालाई बिस्थापित गर्न अङग्रेजहरुलाई उक्साउन थाले । गोरखाली शासन व्यवस्थाको कमी कमजोडी तथा गोप्य गतिबिधी बारेमा अङग्रेजी फौजलाई जानकारी दिन थाले । यसै क्रममा कुमाँऊ राज्यका पूर्व दिवान तथा राजदरवारिया पण्डित हर्ष देव जोशीले आफ्ना नाता गोता छरछिमेकी, स्थानिय प्रभावशाली व्यक्तित्व तथा गोरखाली फौजमा कार्यरत रहेका केही स्थानीय कुमाँउनी एवं गढवाली युवाहरुलाई समेत निरन्तर चिट्ठीपत्रहरु पठाउन थाले । सो चिट्ठीपत्रहरुका मार्फत कुमाँऊ, गढवाल तथा देहरादुनबाट संधैका लागि गोरखा शासन एवं प्रशासनलाई विस्थापित एवं हटाउन ईष्ट इण्डिया कम्पनी सरकारको अङ्ग्रेजी फौजलाई सक्दो मद्दत , सहयोग र समर्थन गर्न गराउन आह्वान गर्न थाले । सोही चिट्ठीपत्रको आधारमा कतिपय कुमाँउनी र गढवाली युवा सैनिकहरुले गोरखालीहरुको फौजलाई परित्याग गरेर अङ्ग्रेजी फौज संग मिल्न आए ।
पण्डित हर्षदेव जोशीको उमेर ७० वर्ष भन्दा पनि बढि भईसकेको थियो । यस्तो ढल्किएको उमेरमा पनि पण्डित हर्षदेव जोशी राज्य सत्ता, राज्यशक्ति, राजकीय पद तथा राजकीय सुख सुबिधा पाउनुका लागि भौतारी रहेका थिए । उनी गोरखालीहरुको शासन पद्धती एवं व्यवस्थालाई हटाएर ईष्ट ईण्डिया कम्पनी सरकारको अङ्गे्रजी शासन सत्ता कुमाँऊ, गढवाल तथा देहरादुनमा स्थापित गर्न गराउन लागि परेका थिए । यसै क्रममा अङ्ग्रेजी सेनाका कप्तान हेरसीले पण्डित हर्षदेव जोशीलाई कुमाँऊ राज्यको “अलवारविक” विद्धान राहुल संस्कृत्यानले “चाण्यक” तथा अङ्ग्रेज प्रशासन एटिक्सनले “देशद्रोही” समेत भनेर आ-आफ्नो कृति वा रचनाहरुमा उल्लेख गरेको पाईन्छ ।

गोरखा शासन
(सन् १७९०—१८१६)
सन् १७९० को मार्च महिनामा कुमाँऊ राज्य विधिवत वृहद एवं विशाल गोरखा साम्राज्यको अभिन्न अङ्ग बनिसकेको थियो । त्यस्तै सन् १८०४ मा गढवाल राज्य तथा सन् १८१६ मा देहरादुन जनपद पनि सजिलै संग बृहद एवं बिशाल गोरखा साम्राज्यमा गाभिन पुगेको थियो । यसरी सन् १७९० को मार्च महिना देखि सन् १८१६ को ४ मार्च सम्ममा कुमाँऊ, गढवाल तथा देहरादुनमा गोरखा शासन पद्धति कायम रहेको रहेको थियो । अर्थात जम्मा २५ वर्ष सम्म हालको उत्तराखण्ड प्रदेशमा गोरखा साम्राज्यको अधिपत्य रहेको इतिहासको पानामा उल्लेखित छ । त्यसपछि ईष्ट ईण्डिया कम्पनी सरकारको अङ्ग्रेजी फौजले गोरखा शासन प्रशासन व्यवस्थालाई विस्थापित गरेर अङ्ग्रेज सरकारको शासन सत्ता कुमाँऊ, गढवाल तथा देहरादुनमा क्रमशः स्थापित गरे । अङ्ग्रेज सरकारको औपोनिवेशिक एवं साम्राज्यवादी शासन सन् १८१६ को मार्च ४ देखि सन १९४७ अगस्त १५ सम्म कायम रहेको थियो । अर्थात हालको उत्तराखण्ड प्रदेशमा २०० वर्ष भन्दा बढि समय सम्म अङ्ग्रेज सरकारले शासन गरे । सो शासनलाई हटाउन कुमाँऊ, गढवाल तथा देहरादुनका स्थानीय जनताले ठुलो संघर्ष, आन्दोलन, क्रान्ती तथा बलिदान गर्नु परेको थियो ।

देवभुमिमा अङ्ग्रेजहरु :
ईष्ट ईण्डिया कम्पनी अङ्ग्रेजहरुको एउटा व्यापारिक संस्था थियो । सो कम्पनी व्यापार प्रवर्धनका लागि सन् १६०८ को २४ अगस्तमा भारतको गुजरात राज्यमा स्थित सूरत नगरमा आइ पुगेको थियो । सोही कम्पनीले तिब्बत-भोट संग व्यापार गरेर नाफा कमाउनका लागि हिमवतखण्ड प्रदेशको सरहद सम्म पनि पुग्यो । तिब्बत भोट पुग्नका लागि कम्पनीलाई सुगम, फराकिलो तथा सजिलो बाटो घाटोको आवश्यकता थियो । तर, हिमवतखण्ड प्रदेशको सम्पूर्ण व्यापारिक मार्ग, बाटो घाटोहरुमा २५ वर्ष देखि गोरखा साम्राज्यको सशक्त नियंत्रण एवं अधिपत्य थियो ।
त्यसै समयमा गोरखा साम्राज्यले आफ्नो पश्चिमको सरहदलाई काश्मीर राज्य सम्म पु¥याउने तरखरमा थियो । अतः हिमवतखण्डको देव भूमिमा अङ्ग्रेजहरुको प्रवेश तथा बिस्तारलाई रोक्न वा अवरुद्ध गर्न वृहद एवं विशाल गोरखा साम्राज्य तथा शक्तिशाली गोरखा सैन्य सङ्गठन अमेद्य पर्खालको रुपमा उभिएको थियो । मुख्य तगारो थियो ।
तैपनि अङ्ग्रेज शासकहरु हिमवतखण्डको देव भूमिमा आफ्नो शासन सत्ता बिस्तार गर्न गराउन ज्यादै लालायित एवं उत्सुक थिए । यस्का मुख्य कारणहरुमा ईष्ट ईण्डिया कम्पनीको व्यापार बिस्तार, प्रवर्धन, अङ्ग्रेजी औपोनिवेशिक शासनको प्रसार, हिमवतखण्ड प्रदेशको प्राकृतिक एवं मनमोहक भूमिको आकर्षणहरु थिए । यसै भूमिमा टेकेर काश्मीर तथा अफगानिस्तान राज्य सम्म अङ्ग्रेजी साम्राज्यको बिस्तार गर्ने गराउने सपना र सोचाई पनि अङ्ग्रेज सेना नायकहरुको थियो ।

प्रचार युद्ध :
विगतका अङ्ग्रेज-गोरखा युद्धहरुमा गोरखा सैनिकहरुको पर्वतीय युद्धकला कौशलता, क्षमता तथा एक्कासी शत्रु माथि जाइलाग्ने, आक्रमण गर्ने दक्षता र रणभुमिमा अदम्य साहस आदीबाट अङ्ग्रेज सेनानायकहरु राम्रो संग परिचित थिए । अतः पर्वतीय युद्धमा कुशल गोरखा फौजलाई केवल युद्ध गरेर पराजित गर्न ज्यादै गाह्रो छ भन्ने उनिहरुको निष्कर्श थियो । युद्धका साथै कतिपय अन्य कुटनितिक प्रयासबाट मात्र गोरखा शासनलाई कुमाँउ,, गढवाल तथा देहरादुनबाट बिस्थापित गर्न सकिन्छ भनने अङ्ग्रेज सोनानायकहरुको निक्र्यौल थियो । अतः अङ्ग्रेज सेनानायकहरुले गोरखा फौजको बिरुद्ध युद्ध गनुै भन्दा पहिले प्रचार युद्ध शुरु गरेको पाइन्छ । यस क्रममा कुमाँऊ, गढवाल तथा देहरादुनका स्थानिय जनताको मनोबैज्ञानिक समर्थन, सहयोग एवं सहायताप्राप्त गर्न आवश्यक छ भनने अनुभव गरे । सो को लागि स्थानीय जनमानसमा गोरखा शासन प्रशासन एवं गोरखा सैन्य सङ्गठनको विरुद्ध विव्देष, असन्तोष, विद्रोह एवं अराजकता फैलाउने खालका अफवाह प्रचार तथा संचारहरु गर्न गराउन थाले । भनिन्छ अङ्ग्रेजहरुले स्थानीय लोकगीत, लोककथा, उखान टुक्का एवं लोक्तीहरुको मार्फत पनि गोरखा शासन सत्ताको बारेमा नकारात्मक सन्देशहरु फैलाउन थाले ।
यसै क्रममा अङ्ग्रेज सरकारले सन १८१४ को १४ डिसेम्बरमा एउटा विज्ञप्ती पनि विधिवत रुपमा जारी गरे । सो अनुसार कुमाँऊ, गढवाल तथा देहरादुनबाट संधैका लागि गोरखाली शासन सत्तालाई हटाउन र अङ्ग्रेज सरकारको शासन कायम गर्न गराउन स्थानीय जनताले सक्दो सहयोग तथा मद्दत गर्ने गराउने अपील गरेका थिए । अङ्ग्रेज सरकारको शासन सत्ता एवं अधिपत्य कायम भए पछि स्गानिय जनताको मौलिक हक, अधिकार तथा सुरक्षा कायम गरिनेछ भनेर बाचा पनि सो बिज्ञप्ती मार्फत अङ्ग्रेज सरकारले गरेको थियो । स्थानीय जनताबाट मनोबैज्ञानिक सहयोग, समर्थन र सहायता पाउनका लागि प्रचार युद्ध कलामा अङ्ग्रेजहरु ज्यादै शिपालु थिए ।


वास्तवमा अङ्ग्रेज सैन्य सङ्गठनमा ईतिहासकार, प्रत्यक्षदर्शी, पर्यवेक्षक, लेखक तथा चित्रकारहरुको समेत संलग्नता हुन्थ्यो । अङ्ग्रेज सैन्य संङ्गठनको जुनसुकै ठाउँ वा प्रदेशमा आवागमन (मुवमेन्ट) हुन्थ्यो ; त्यहाँको सम्पूर्ण सांस्कृतिक, सामाजिक तथा सामरिक अवस्था एवं गतिविधिहरु बारेमा पहिले नै सूचनाहरु संकलन गर्दथिए । सो सूचनाहरुको विश्लेषण गरेर प्रचार नीति र सामरिक रणनीतिहरु तयार गर्द थिए । उदाहरणका लागि अङ्ग्रेज सेनाका जनरल ओक्टर लोनीले गोरखा सेनाका जनरल अमर सिंह थापाका परिवार संग “मित” को सम्बन्ध समेत गाँसेका थिए । यसबाट थाहा हुन्छ अङ्ग्रेज सैन्य सङ्गठनले आफ्नो दुश्मन सैनिकहरुको सांस्कृतिक, सामाजिक एवं सामरिक अवस्था बारेमा गहिरो अध्ययन गर्द थिए । आज भोली “मित गाँस्ने” साँस्कृतिक चलन नेपाली समाजबाट लोपन्मुख अवस्थामा छ । यस सामाजिक विशिष्टतालाई पुनः जागृत गर्नु पर्दछ ।

गोरखा प्रचार नीति :

अङ्ग्रेज सैन्य संङ्गठनको तुलनामा गोरखा सैन्य सङ्गठनले प्रचार युद्ध, प्रोपगण्डा, अफवाह तथा संचार आदीलाई केही कम महत्व दिएको पाईन्छ । प्रायः गोरखा सैन्य सङ्गठनले दायाँ बायाँ हेर्दैन थिए । शत्रुलाई पराजित गर्ने, कायल गर्ने तथा तोकिएको लक्ष्यलाई (तारगेट) समयमा फत्ते गर्ने, हासिल गर्ने प्रकृयामा गोरखा सैन्य सङ्गठनको ध्यान तुलनात्मक रुपमा बढि केन्द्रित हुन्थ्यो ।
गोरखा सैन्य सङ्गठनमा प्रत्यक्षदर्शी पर्यवेक्षक एवं लेखकहरुको संलग्नता अङ्ग्रेज सैन्य सङ्गठन भन्दा कम नै हुन्थ्यो । प्रायः गोरखा सेना नायकहरुको युद्ध स्थलको प्रतिवेदन, जाहेरी, राज दरवारको आदेश, निर्देशन, हुकुम नामा तथा बिदेशी दूतहरु संग गरिएको लेखापढिको आधारमा ऐतिहासिक दस्तावेजहरु तयार गर्ने गराउने चलन गोरखा सैन्य सङ्गठनमा बढि थियो । ताम्रपत्र, स्मृति स्मारक, शिलालेख, दन्तकथा तथा बुढापाकाहरुको मौखिक विवरण आदीको आधारमा पनि ऐतिहासिक दस्तावेजहरु तयार गर्ने प्रचलन गोरखा सैन्य सङ्गठनमा बढि थियो भनेर केहीको भनाई रहेको छ ।
फलस्वरुप अङ्ग्रेज-गोरखा युद्धको घटनाहरु बारेमा अधिकांश ऐतिहासिक दस्तावेज, प्रतिवेदन गजेट, पुस्तक, साहित्यहरु प्रायः अङ्ग्रेज इतिहासकार तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुबाट तयार गरिएको पाईन्छ । उक्त कृतिहरुमा अङ्ग्रेज सरकारको औपोनिवेसिक एवं साम्राज्यवादी छाप एवं प्रभाव हुनु स्वभाविक नै छ । उनिहरुले गोरखाली शासन प्रणालीलाई होच्याएर, अवैज्ञानिक र असभ्य देखाउने प्रयास गरेको पाईन्छ । साथै अङ्ग्रेजहरुको शासन सत्ता एवं पद्धतिलाई परिष्कृत, उत्कृष्ट एवं उच्चस्तरको थियो भनेर देखाउन चाहन्थे । यसरी स्थानीय जनताको मनोबैज्ञानिक समर्थन प्राप्त गर्ने सतत् प्रयास अङ्ग्रेहरुले गर्ने गर्द थिए ।

गोरखा पराक्रम :
अधिकांश अङ्ग्रेज इतिहासकार, लेखक तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुले गोरखाली सैनिकहरुको पराक्रम, युद्ध कौशलता, दृढ ईच्छाशक्ति, बीरता, साहस तथा शौर्यताको धेरै प्रशंसा एवं सरहाना गरेको पाईन्छ । वास्तवमा उनीहरु गोरखाली सैनिकहरुको पर्वतीय युद्धकला, कौशलता तथा रणनीतिहरुबाट ज्यादै प्रभावित थिए । अकस्मात शत्रु माथि जाई लाग्ने (हमला वा चार्ज) रण कौशलताबाट अङ्ग्रेज सैनिकहरु भयभीत रहन्थे । कतिपय अङ्ग्रेज सेना नायकहरु भयभीत भएर युद्ध स्थल छोडेर भागेका घटनाहरु पनि छन् ।
यसै क्रममा ईष्ट ईण्डिया कम्पनीका गर्वनर जनरललाई हेस्टिङ्गले गोरखाली सैनिकहरुको देशभक्ति एवं राष्ट्रभक्ति बारेमा धेरै गुणगाण र तारिफ गरेको पाईन्छ । अङ्ग्रेज-गोरखा युद्धहरुमा बीरगति पाउने आफ्नै शत्रु गोरखाली सैनिकहरुको सम्मान र सम्झनामा अङ्ग्रेज सरकारले ठाउँ ठाउँमा स्मृति स्मारक, स्तम्भ एवं शिलालेख आदी निर्माण गरे । सो स्मारकहरु आज पनि उत्तराखण्ड र हिमाञ्चल प्रदेशको कतिपय ठाउँहरुमा देख्न सकिन्छ । सम्भवतः विश्वको ईतिहासमा यो पहिलो उदाहरण होला । जहाँ शत्रु सैनिकको शौर्यता, बीरता तथा पराक्रमको प्रशंसा, सम्झना तथा सम्मानमा स्मृति, स्मारक र शिलालेखहरु स्थापना गरियो । यसरी अङ्ग्रेज सरकारले गोरखालीको “गौरवगाथा”लाई विश्वभरिमा प्रचार अथवा अमर बनाई दिएको पाईन्छ ।


नकारात्मक सन्देश :
कुमाँऊ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको शासन पद्धति के कस्तो स्थिती, परिस्थिती तथा अवस्थामा स्थापित हुन आयो । सो पृष्ठभूमि बारेमा अङग्रेज ईतिहासकार तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुले विशेष विश्लेषण गरेको देखिदैन । तर गोरखा शासन पद्धतिको केही कमी कमजोरी, त्रुटि एवं नकारात्मक पक्षहरु बारेमा धेरै बढाई चढाई आ-आफ्नो कृतिहरुमा वर्णन गरेको पाईन्छ । अधिकांश अङ्ग्रेज ईतिहासकार एवं लेखकहरुले गोरखा शासन पद्धतिलाई मध्यकालिन युगको शासन व्यवस्था थियो भनेर लेखेको पाईन्छ ।
इतिहासकार एटिक्शनले गोरखालीहरुको २५ वर्षे शासन पद्धतिलाई असभ्य, अशिष्ट तथा जंगल शासन प्रणाली थियो भनेर टिप्पणी गरेका छन् । गोरखालीहरुको न्याय प्रणाली बारेमा इतिहासकार ट्रेलरले अव्यवस्थित, अवैज्ञानिक, अव्यवहारिक तथा अन्यायपूर्ण थियो भनेर उल्लेख गरेका छन् । दण्ड सजायको परिपाटी पनि ज्यादै कठोर, अमानवीय, अत्याचारी एवं अराजक थियो भनेर उल्लेख गरेका छन् ।
इतिहासकार जे.वी. फ्रेजरले राजस्व दुरुपयोग गर्ने, सरकारी कर (टैक्स) छल्ने तथा जघन्य अपराध गर्ने स्थानिय निवासीहरुलाई गोरखा शासनले दासदासी बनाएर हरिद्वारको गोरखा चौकीमा बन्दी बनाएर सस्तो मुल्यमा बेचबिखन गर्ने चलन गोरखा शासनकालमा शुरु भएको थियो भनेर उल्लेख गरेको पाईन्छ । साथै दुई लाख स्थानिय दासदासीहरुलाई सस्तो मुल्यमा विक्रि गरेको विवरण पनि जे.वी. फेजरले लेखेका छन् ।तर त्यस समयमा कुमाँऊ, गढवाल तथा देहरादुनको जम्मा जनसंख्या कति थियो सो बारेमा उनी मौन रहेको पाईन्छ ।
गोरखालीहरुको २५ वर्षे शासन पद्धति एवं शासन सत्तालाई कुमाँऊ राज्यमा “गोरख्याल” गढवाल राज्यमा “गोरख्याणी” तथा हिमाञ्चल प्रदेशमा “गोरखा शाही” भन्ने चलन थियो । स्थानिय जनमानसमा यी शब्दहरुको नकारात्मक सन्देशहरु प्रवाहित हुन्थ्यो ।

गोरखा शासनको सकारात्मक पक्ष :
वास्तवमा कुमाँऊ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको २५ वर्षे शासन पद्धती, प्रणाली एवं प्रशासन व्यवस्थाको कतिपय विशिष्टता, गुण, उपलब्धि, योगदान तथा रचनात्मक पक्षहरु थिए । सो ओझेलमा परेको छ । सर्वप्रथम गोरखा शासन प्रणालीले शान्ति सुरक्षाको बहाल गरे । प्रशासनिक एवं न्याय व्यवस्थामा सुधार गरे । स्थानीय विकाश एवं धार्मिक क्षेत्रको विकाशमा ठुलो योगदान पुर्याए । पुरात्वतिक, धार्मिक एवं ऐतिहासिक स्थलहरुको सरंक्षण र प्रवर्धनका कार्यहरुमा महत्वपूर्ण देन दिएको पाईन्छ । फलस्वरुप गोरखा शासनकालमा स्थानीय जनताले गोरखा शासन व्यवस्था तथा सैन्य सङ्गठनको बिरुद्ध कुनै ठुलो एवं विशाल हिंसात्मक विरोध, विद्रोह, आन्दोलन र संघर्ष गरेको पाईन्दैन । कुनै कुनै गोरखा प्रशासकको व्यक्तिगत आचरण एवं व्यवहार प्रति समय समयमा असन्तोष, विरोध एवं विद्रोह गरेको पाईन्छ । सो बारेमा खबर पाउन वा उजुरी पर्ना साथ राजदरवारले तुरन्तै निजलाई फिर्ता काठमाण्डौ बोलाउने उदाहरणहरु छन् ।
तर अङ्ग्रेजी शासनकालमा सन १८५७ को गदर हुनु भन्दा पहिले नै अङ्ग्रेज सरकारको विरुद्ध हिंसात्मक विद्रोह शुरु भएको पाईन्छ । उत्तराखण्ड प्रदेशको पहिलो स्वतन्त्रता सेनानी कालु सिंह महराको नेतृत्वमा कुमाँऊ तथा गढवालका युवाहरुले लोहाघाट स्थित अङ्ग्रेजहरुको सैनिक ब्यारेक माथि भीषण हमला गरे । सो ब्यारेक माथि आगजनी गरेर ध्वस्त समेत पारेका थिए । त्यस समयमा स्थानीय कुमाउनी एवं गढवाली युवाहरुको आक्रमणबाट अङ्ग्रेज सैनिकहरु भागम भाग गर्नु प¥यो । तर गोरखा शासन व्यवस्थामा साना तिना मसिना घटनाहरु बाहेक अरु कुनै यस्तो घटना घटेको उदाहरण पाईंदैन ।

निक्र्योल :
नेपाल सरकारले ईतिहासकार एवं अन्य विज्ञहरुको एउटा अध्ययन टोलि गठन गरेर कुमाँऊ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको २५ वर्षे शासन व्यवस्थामा गरिएका रचनात्मक योगदान बारेमा अध्ययन एवं अनुसन्धान गरेर दस्तावेज तयार गर्नु पर्दछ । यसबाट “गोरखा गौरव” को ईतिहास युवा पुस्ता तथा अन्य जिज्ञासुहरुलाई जानकारी हुने थियो ।

(इतिहासबिद त्रिलोक सिंह थापा मगर मास्टर मित्रसेन प्रतिष्ठाका संस्थापक अध्यक्ष हुनुहुन्छ )।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %