हामी मगर बौद्ध हौं । हामी हिन्दु हौइनौ…

हामी मगर बौद्ध हौं । हामी हिन्दु हौइनौ, भनेर समुदायगत रूपमा, संगठित रूपमा , संस्थागत रूपमा र औपचारिक रूपमा हामी मगरले बुद्ध धर्म अपनाइसकेको पनि करिब तीसबर्ष पार गरिसकेको छ । यस तीनदशकको कालखण्ड अवधिमा हामी मगरले नेपाली बुद्ध धर्मको बिकास र मगर समाजमा ठुलो परिवर्तन र बिकासको फडको मारिसकेका छौं । (जसको तथ्यांक यहाँ प्रस्तुत गर्न सम्भव छैन !) हामी मगर कसरी बौद्ध हौं ? हामीले किन बुद्ध धर्म नै मान्ने ? बुद्धको धर्म शिक्षा के हो ? बौद्ध संस्कार/संस्कृती के हो ? यसको अभ्यास के-कसरी गरिन्छ ? यस विषयमा अझैसम्म पनि हामी कतिपय मगरहरु अन्यौल र दुबिधामा रहेका छौं । यसमा हाम्रो मुख्य कमिकमजोरी यो रह्यो कि- हामी बौद्ध शिक्षामा शिक्षित दिक्षित र सचेत बन्न सकेनौं । हामी बुद्ध धर्म अलिअलि मान्ने त भयौं तर पुर्णरूपमा जान्ने हुन सकेनौं ! यसका कारण अझैसम्म पनि हामी अन्योलता र दुबिधामा रहेका छौं भन्न खोजिएको हो ।

आज दसैंमा टीका लगाउने कि नलगाउने ? टिका लगाएमा कस्तो रंगको टीका लगाउने ? यसमा पनि अझैसम्म हामी दुविधामा छौं ! स्पष्ट छ, बुद्ध धर्म शिक्षामा निधारमा टीका लगाउने संस्कृती छैन । उदाहरणका लागि भगवान बुद्धको निधारमा टिका हुँदैन । हाम्रा धर्मगुरु/गुरुमा बौद्ध भिक्षु/भिक्षुणिहरु टीका लगाउदैनन । टीका लगाउनु पर्दछ भन्दैनन । बरु इमान्दार पुर्वक टीका लगाउन पर्दैन भनिरहेका हुन्छन् । कुनैपनि बुद्ध विहारहरुमा टिका संस्कृतिको प्रयोग पनि गरिदैन । यदि हामी बौद्ध हौं भने यति सामान्य कुरा पनि बुझ्न हामी किन सक्दैनौ !
निधारमा टीका लगाउनु हिन्दु धर्ममा सौभाग्यको प्रतीक हो । हिन्दु भगवान देवीदेवताहरुले निधारमा टीका धारण गरेका हुन्छन् । हिन्दु मठमन्दिर, हिन्दु धर्म संस्कृति समाजमा टीका नभई हुँदैन । टीका हिन्दु धर्मको सिम्बल पहिचान हो । तर टिका बौद्ध संस्कृती होइन भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।
आज हिन्दु पण्डित बाहुनहरुले हामी मगरलाई अझैपनि नजान्ने अशिक्षित मुर्ख अनाडी बनाएर भाषण प्रवचन दिइरहेका हुन्छन् । उनीहरु भन्ने गर्दछ्न, पुस्तक साहित्यहरु लेखिरहेका छन् । हिन्दु मठमन्दिर शक्तिपिठहरुमा मगर पुजारी छन् । मगरले बाहुन पुज्दछ्न त्यसैले मगर हिन्दु हुन । दसैं मगरको हो त्यसैले दसैं मगरले धुमधामसंग मनाउदछ्न । मगर बौद्ध होइनन् । भनेर मगरलाई हिन्दु बनाएर, ब्राह्मणिकरण गरेर मगर समुदायबाट ठुलो धार्मिक तथा आर्थिकलाभ शोषण बाहुनहरुले प्राप्त गरिरहेका छन् । यस्तो स्पष्ट बिचार प्रकट गर्दा हामी जस्तो आधिकारिक बौद्धलाई पनि उनीहरु विदेशी डलरे, क्रिश्चियनको ट्याग भिराउने गर्दछ्न।

त्यसरिनै यसको कोपभाजनमा अशिक्षित सिधासाधा सोझा मगरहरु परिरहेका छन् । त्यसैले त मगरलाई हिन्दु बनाएर उनीहरुले धार्मिक तथा आर्थिक लाभ लिइरहेका छन् । यस्तो धार्मिक शोषणको अबस्थामा ब्राह्मणवादबाट मगर समुदायलाई मुक्त गर्नका लागि मगर अग्रज तत्कालीन मगर संघका अध्यक्ष स्व. गोरेबहादुर खपाङी मगरले दसै बहिष्कार/परित्याग र मगरको धर्म बौद्ध पहिचान कार्यक्रम होचुवाको भरमा त्यत्तिकै अगाडि ल्याइएको थिएन !
पुरातन हिन्दु बाहुन र नविनतम बौद्ध मगर बिचको यो धार्मिक सास्कृतिक बिचार अभ्यासको लडाइँ सितयुद्व (प्रकट-अप्रकट) रूपमा हिजोदेखि आजसम्म निरन्तर रूपमा चलिनै रहेको छ । मगर शिक्षित र चेतनशिल नहुदासम्म अझै केही दशक लामो समय यो अवस्था चलिनै रहनेछ ! बरु यो द्वन्द्व वा बहस हिन्दु धर्म र बाहुनविरुद्ध नभएर हामी मगरहरुमा प्रज्ञाप्राप्ति हेतु नवजागरण र नवीन चेतनाका लागि समयले दिएको एक स्वस्थ बौद्धिक बहस छलफलको सहि मार्ग हो भन्ने कुरा हामीले ठान्नु पर्दछ । स्वस्थ बौद्धिक बहस छलफलबाट प्राप्त निस्कर्सले नै हामीलाई सहि दिशा निर्देश गर्न मद्दत गर्दछ । संस्कृतमा पनि भनिएको छ-वादेवादे जायते तत्ववोध ।(छलफल, बहस गर्नाले नै सहि निस्कर्स उपाय दिन्छ ।) यहि कुरा बुद्धले अत्तदिप भव ( आफ्नो बत्ती आफै बाल) कसि लगाएर जाच, हेर ! भन्नुभएको छ ।
लेखक : लुम्बिनी बौद्ध बिश्वो बिधालयबाट पि एच डि गर्दै हुनु हुन्छ ।