गोरखाली फौजकाे सङ्गठन, आधुनिकीकरण र युद्धको पूर्व तयारी

Read Time:17 Minute, 12 Second

त्रिलोक सिंह थापा मगर

बृहद एवं बिशाल गोरखा साम्राज्यका सेनानायकहरुले कुमाऊँ राज्यको अलमोडा जनपदमा बिधिवत सन् १७९० को अगष्ट महिनाको हाराहारीमा प्रवेश गर्ने निधो गरे । सोही अनुसार आवश्यक पुर्व तयारीहरु गोेरखा फौजले गर्न गराउन थाल्यो । सबभन्दा पहिले गोरखा साम्राज्यका पश्चिम भेगका विभिन्न ठाउँहरु तथा काठमाण्डौंमा तैनात रहेका सैनिकहरुलाई जम्मा पार्न थालियो । झण्डै पाँच हजार भन्दा पनि बढि सैनिकहरुलाई पश्चिम सरहदको विस्तार अभियानमा परिचालित गरियो । तर अंग्रेज सरकारको गुप्तचरहरुले दस हजार भन्दा बढि गोरखा सैनिकहरु सो अभियानमा संलग्न रहेका थिए भनेर अड्कल गरेका थिए । गोरखाली फौजले सैनिक सङ्गठनको आधुनिकीकरण, युद्धको तयारी, आवागमन र संचारको सुदृढीकरण आदीको व्यवस्थापन शुरु गर्यो ।
पारम्परिक सैनिक सङ्गठन :
सन् १७६२ भन्दा पहिले बृहद एवं विशाल गोरखा साम्राज्यमा कुनै स्थायी, आधुनिक तथा पश्चिमी शैलीको सैनिक सङ्गठन तथा पलटनहरुको व्यवस्था थिएन । प्रायः राज्य वा शासकहरुलाई आवश्यक पर्दा गाँऊघर, टोल तथा परिवारहरुबाट शारारिक दृष्टिकोणले हृष्टपुष्ट, सक्षम र योग्य युवाहरुको छनौट गर्ने चलन थियो । उनिहरुलाई युद्ध सम्बन्धि साधारण तालिम दिई लड्न पठाईन्थ्यो । युद्ध समाप्त भए पछि आ—आफ्नो गाऊँघर, टोल तथा परिवारमा फर्किनु पर्द थियो । तैपनि पलटनमा सेवा गर्न पाउँदा उनिहरु गर्व गर्द थिए । कारण गाऊँघरमा सामाजिक प्रतिष्ठा प्राप्त हुन्थ्यो ।
पारम्परिक हातहतियार:
परम्परिक सैन्य संगठनमा प्रायः सैनिकहरु घरेलु हात हतियारहरुको भरमा लडाई गर्द थिए । आमने सामनेको लडाई हुन्थ्यो । अतः गोरखाली फौजका प्रमुख हतियारहरु खुकुरी र खुँडा हुन्थ्यो । भाला, ढाल, बन्चरो, तरवार तथा ढुङ्गामुढाको पनि प्रयोग गोरखाली फौजले गर्द थिए । पछि गोरखाली पलटनमा धनुबाण (धनुषबान) शस्त्र पनि थपियो । सोही घरेलु हात हतियारहरुको भरमा गोरखाका शाहवंशीय राजाहरुले गोरखा साम्राज्यको विस्तार र नेपाल एकीकरणको अभियान शुरु गरेका थिए ।


सैन्य सङ्ठनको आधुनिकीकरण:
सन् १७६३, जनवरी महिनामा (बि.सं १८१९ माघ) भारतको बङ्गाल राज्यका नवाब मीर कासिम अलि खानको तीन हजार सैनिकहरुले मकवानपुर जित्न सो माथि भीषण हमला गरयो । तर जम्मा चार सय गोरखाली सैनिकहरुले खुकुरी तथा खुँडाको भरमा नवाब कासिम अलिका फौजलाई नराम्रो संग पराजित गर्यो । रणभूमि छाडेर भाग्ने क्रममा मीर कासिमका सैनिकहरुको ५०० नाल बन्दुक, २ नाल टोप, गोलीगठ्ठा र गोला बारुद समेत गोरखाली फौजले हात पारेका थिए । यी हात हतियारहरुबाट गोरखाली फौजमा आधुनिक हात हतियारको प्रयोग शुरु भयो ।
कुमाऊँ राज्यमा प्रवेश गर्नु भन्दा १७ वा १८ वर्ष पहिले सन् १७६३ मा (बि.सं. १८१९) गोरखाका राजा पृथ्वीनारायण शाहले आधुनिक पश्चिमी तथा स्थायी शैलीका पाँच वटा पलटनहरु स्थापना गरे । श्री पुरानो गोख गण, श्रीनाथ, कालिबक्स, बर्दवाणी तथा सबुज । यसरी गोरखाली कम्पनीहरुको आधुनिकीकरण, पश्चिमीकरण तथा स्थायीकरणको इतिहास सन् १७६२ र ६३ देखि शुरु भएको हो भनेर भनिन्छ । तर अत्यन्त छोटो अवधिमा गोरखाली फौजले विश्वको अत्यन्त शक्तिशाली आधुनिक तथा विशाल अङ्ग्रेजी सेनाको विरुद्ध सन् १८१४ देखि सन् १८१६ सम्म भिड्न, लड्न तथा जुध्न सक्षम रहेको थियो । ईस्ट ईन्डिया कम्पनीको छलकपट तथा कूटनीतिक चालबाजीले गर्दा गोरखाली फौजलाई पछि हट्न वाध्य हुनु पर्यो ।


आधुनिक हात हतियारहरु :
गोरखाली फौजको सैन्य सङ्गठनलाई आधुनीकिकरण तथा पश्चिमीकरण गरियो । सो अनुसारको आधुनिक हात हतियारहरुको आवश्यकता पनि प¥यो । अतः राजा पृथ्वीनारायण शाह आफै भारतको बनारस शहरमा (वाराणसी) हात हतियार खरिद गर्न पुगे । भनिन्छ उनि नारायणी तथा गङ्गा नदीमा पटना शहर हुंदै डुङ्गा—नावमा वनारस पुगेका थिए । त्यहाँबाट आधुनिक हात हतियारहरु (बन्दुक, तोप, गोली गठ्ठा, गोला बारुद, पिस्तौल आदी) खरिद गरेर नेपाल ल्याए । साथै तीन जना मुस्लिम हात हतियार कालिगढ, विशेषज्ञ र विज्ञहरुलाई पनि आफ्नो साथमा ल्याएका थिए ।
बनारसबाट राजा पृथ्वीनारायण शाहको साथमा आएका तीन जना मुस्लिम हात हतियार विज्ञहरुले गोरखाली सैनिकहरुलाई आधुनिक अस्त्रशस्त्र चलाउन सिखाए । पछि समय समयमा अन्य विदेशी हात हतियार विज्ञहरु पनि नेपालमा आएर उच्च स्तरीय तालिम गोरखाली सैनिकहरुलाई प्रदान गरे । अत्यन्त छोटो अवधि एवं समयमा गोरखाली सैनिकहरु आधुनिक हात हतियार चलाउनमा शिपालु हुन गए ।
हात हतियारहरुको उत्पादन :
आधुनिक तथा पश्चिमी शैलीको हात हतियारहरु आफ्नै मुलुकमा उत्पादन गरेर सो क्षेत्रमा आत्मनिर्भर हुने राजा पृथ्वी नारायण शाहको सामरिक रणनीति थियो । अतः बनारसबाट आएका तीन जना मुस्लिम कालिगडहरुको मद्दत तथा सहयोगमा मुलुकमा हात हतियार उत्पादन गर्ने कारखाना स्थापना गरियो । पछि अन्य सेना नायकहरुले पनि परम्परागत हात हतियारको स्थानमा आधुनिक हात हतियारहरुको प्रयोगमा जोड दिएका थिए । मेग्जिन आर्सनल खडा गरि बन्दुक, तोप, गोला बारुद, गोली आदी निर्माण गर्ने कार्य बिस्तार गरेका थिए । तिब्रता दिएका थिए ।
भनिन्छ आफ्नै मुलुकमा उत्पादन गरिएका आधुनिक तथा पश्चिमी शैलीका हात हतियारहरु तुलनात्मक रुपमा उच्च स्तर तथा गुणस्तरीय हुन्थ्यो । कारण हात हतियार बनाउनका लागि आवश्यक पर्ने खनिज पदार्थहरु जस्तो फलाम, तामा, सिसा, सल्फर, गन्धक, बारुद तथा अन्य धातुहरु प्रशस्त मात्रामा आफ्नै मुलुकमा उपलब्ध थियो । अझ पनि छ । स्वदेशमा गोली गठ्ठा, गोला तथा बारुदको बिस्फोटक क्षमता पनि ज्यादै शक्तिशाली एवं उच्च स्तरको हुन्थ्यो । आफ्नै मुलुकमा बनेको हात हतियारको भरमा गोरखाली फौजले गोरखा साम्राज्यको पश्चिम सरहद काँगडा किल्ला सम्म पु¥याएको इतिहास साक्षी छ ।
राजा पृथ्वीनारायण शाहले स्थापना गरेका अधिकांश कम्पनीहरु पश्चिम सरहदको बिस्तार अभियानमा परिचालित थिए । सो अभियानमा मगर जनजातीको युवाहरुको बाहुल्यता थियो । गुरुङ्ग जनजातीका युवाहरुको पनि ठुलो संख्यामा संलग्नता थियो । पछि खस आर्य तथा अन्य समुदायका युवाहरुको पनि सहभागिता पश्चिम सरहदको बिस्तार अभियानमा क्रमशः बढ्दै गएको थियो ।
आवागमन र संचार :
काठमाण्डौ देखि अलमोडा जनपद अनुमानित आठ सय किलोमिटर (चार सय सन्तानब्बे माईल) भन्दा पनि बढि दुरीमा पर्दछ । त्यस समयमा अनुमानित एक महिनामा काठमाण्डौ देखि हिडेर अलमोडा जनपद सम्म पुग्न सकिन्थ्यो । बाटोमा साना ठुला ढुंगा, बिषालु झारपात, बाक्लो घना बन जंगल, खाल्टो खाल्डो, उबड खावड तथा उकालो ओरालो भएर पदयात्रा गर्नु पर्द थियो । अत्यन्त कष्टमय, पीडादायक एवं दुःख दायी यात्रा गर्नु पर्द थियो । तैपनि उत्साही युवकहरु (सैनिक) मादलको सुरतालमा गीत गाउःँदै, नाच्दै, रमाइलो गर्दै पश्चिम सरहदको अभियानमा लागि परेका थिए ।
गोरखा गोरेटो :
काठमाण्डौ देखि अलमोडा जनपद सम्म गोरखाली फौजलाई आवागमन गर्न गराउनका लागि सहज, सरल एवं सुरक्षित बाटो घाटोको आवश्यकता थियो । अतः सब भन्दा पहिले गोरखाली फौजले काठमाण्डौ देखि महाकाली नदीको पूर्वि किनार सम्म पुराना, भत्केका, बिग्रेका बाटो घाटोको मरमत तथा पुनर्निर्माणको कार्य शुरु गरे । साथै नयाँ फराकिलो चौडा, सुगम र सुरक्षित बाटो घाटोहरु बनाए । जस्लाई बुढापाकाहरु ”गोरखा गोरेटो वा बाटो” भनेर नामाकरण गरे ।
“गोरखा गोरेटो” (पैदल बाटो) काठमाण्डौ देखि पोखरा, प्युठान, सल्यान, दैलेख, अछाम,डोटी तथा अन्य ठाऊँहरु हुंदै महाकाली नदीको पुर्वी किनार सम्म पुग्द थियो । पछि “गोरखा गोरेटो”को बिस्तार गरियो । सो गोरेटो बाटो काठमाण्डौं देखि किल्ला काँगडा सम्म कायम हुन गयो । यहि बाटो भएर गोरखाली फौज किल्ला काँगडा सम्म पुगेर सो किल्लालाई चार वर्ष भन्दा पनि बढि समय सम्म आफ्नो घेराबन्दीमा राखेको ईतिहास रहेको छ ।
सोह्रौं शताब्दीको अन्तिम समयमा भारतका तत्कालीन मुगल बादशाह शेरशाह शूरीले बङ्गाल राज्यबाट अफगानिस्तानको काबुल शहर सम्म “सडक ए आजम” अर्थात “ग्रैड ट्रंक रोड” को पुनर्निर्माण तथा पक्की रोड बनाएका थिए । त्यस समयमा हिमवतखण्ड प्रदेशमा “गोरखा गोरेटो” तथा समतल भूमिमा “ग्रैड ट्रंक रोड”को सामरिक दृष्टिकोणबाट ज्यादै महत्व थियो । ती दुबै रोडहरु दक्षिण एसियामा सबभन्दा पुराना तथा ऐतिहासिक मार्गहरु थिए । पदयात्राका लागि “गोरखा गोरेटो” तथा बाहनहरुका लागि “ग्रैड ट्रंक रोड” त्यस समयको चर्चित तथा प्रख्यात मार्ग वा बाटोहरु थिए ।
जनसहयोग :
काठमाण्डौ देखि महाकाली नदी सम्म पुग्ने गोरेटो बाटो घाटोको वरपर रहेका गाऊँघर, टोलका स्थानीय जनताले आ—आफ्नो क्षेत्रमा “गोरखा गोरेटो” निर्माण गरेका थिए । सो निर्माण कार्यको संयोजन गोरखाली फौजले गरेको थियो । आ—आफ्नो क्षेत्रको बाटो घाटोको रेखदेख तथा सुरक्षाको जिम्मेवारी पनि ठाउँ ठाऊँमा गाऊँ मुखिया, जिम्मेवाल र अगुवाहरुको हुन्थ्यो ।
गोरखा सैनिकहरुलाई बिश्राम गर्न गराउन पौवापाटी र बिश्रामघर पनि आ—आफ्नो क्षेत्रमा स्थानीय गाऊँलेहरुले बनाएका थिए । बांसका तामदान बनाएर ठुलो ओहदाका सेनानायक, बृद्ध र बाल बालखहरुलाई ओसार पसार उनिहरुले गर्ने गर्द थिए । सैनिकहरुको हात हतियार, खाद्य सामाग्री तथा अन्य आवश्यक मालसामानको ढुवानी आदि पनि आ—आफ्नो क्षेत्रमा स्थानीय गाऊँलेहरुले गर्ने गर्द थिए ।
“गोरखा गोरेटो”मा पर्ने नदी नाला तथा खोलाहरु वारपार गर्न गराउन स्थानीय बोटे वा माझी समुदायको जिम्मेवारी हुन्थ्यो । काठमाण्डौ देखि महाकाली नदी सम्म ठाऊँ ठाऊँमा झण्डै ५० वा ६० वटा घाटहरु नदी नाला खोलाहरुमा बनाएका थिए । काठ खोपेर बनाइएको डुङगा, नौका वा नाऊहरुबाट सैनिक र सैन्य सामाग्रीहरु स्थानीय बोटे र माझी समुदायले वारपार गराउने गर्द थिए । फौजको घोडा खच्चरहरुलाई पनि नदी नाला वारपार गर्न गराउन स्थानीय बोटेहरुको सहयोगबाट हुन्थ्यो ।
वर्षा, बाढी तथा पहिरोले गर्दा प्रायः बाटो घाटो, काठेपुल, घाट, पौवापाटी आदी भत्किने, बिग्रिने र बग्ने अवस्थामा हुंदा सो को मरमरम्मत र निर्माणकोजिम्मा पनि ठाऊँ ठाऊँका मुखिया र जिम्मेवालहरुको हुन्थ्यो । समय समयमा विदेशी गुप्तचरहरुको आगमन हुंदा उनिहरुको निगरानी पनि गाऊँको मुखियाले गर्नु पर्द थियो । यसरी पश्चिम सरहदको बिस्तार अभियानमा स्थानीय जनता र मुखियाहरुको संलग्नता रहेको पाईन्छ । यसलाई झारा प्रथा भनेर पनि केही बुढापाकाहरुको भनाई छ ।
हुलाक व्यवस्था :
काठमाण्डौ देखि अलमोडा सम्म हरेक चार वा पाँच किलोमिटरको दुरीमा गोरखाली सेनाले हुलाक घरको निर्माण गरेको थियो । ठाऊँ ठाऊँका स्थानीय गाऊँलेले आ—आफ्ना क्षेत्रमा एक एक जना युवालाई हुलाकीको जिम्मा दिइएको थियो । सरकारी पत्र, सैन्य सामाग्री तथा गोप्य दस्तावेजहरु समयमा ल्याउने पु¥याउने व्यवस्थामिलाईएको थियो । विदेशी गुप्तचरहरुबाट गोप्य दस्तावेजलाई सुरक्षित राख्ने व्यवस्था पनि गरिएको थियो । यसरी कुमाऊँको अलमोडा जनपद माथि आक्रमण गर्नु भन्दा अगाडी गोरखाली सेनाले पुर्व तयारी गरेको थियो ।
सारांश :
(क) पश्चिम सरहदको बिस्तार अभियानको पूर्व तयारीमा विशेष गरि मगर, गुरुङ्ग, माझी, बोटे तथा अन्य जाति जनजातीका स्थानीय अगुवा एवं युवाहरुको महत्वपूर्ण योगदान तथा बलिदान रहेको पाईन्छ । तर सेना नायकहरुको योगदानको चर्चा परिचर्चा मात्र प्रायः हुन्छ । स्थलगत स्तरमा रहेका नायकहरुको पनि खोज तलाश हुनुपर्ने र उनीहरुको योगदान र बलिदानको पनि चर्चा हुनुपर्ने ।
(ख) लुप्त रहेको ऐतिहासिक “गोरखा गोरेटो”को पुर्ननिर्माण गरेर पदयात्रा पर्यटनलाई प्रोत्साहित गर्नुपर्ने ।
(कुराकानीमा आधारित लेखक ऐतिहासिक कथा लेखनमा अभिरुची राख्नु हुन्छ ।)

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %