सिर्जनाले समाजमा नकारात्मक सन्देश दिनुहुँदैन-साहित्यकार भावेश भुमरी

Read Time:12 Minute, 5 Second

(नयाँ युगबोध राष्ट्रिय दैनिकमा शशिधर भण्डारीले भावेश भुमरीसँग लिनुभएको यो अन्तर्वार्ता सान्दर्भिक भएको हुँदा राज्यसत्ताका पाठकहरूका लागि यहाँ प्रस्तुत गरिएको छ ।)

मदन पुरस्कारका लागि छनोट भएका पाँच कृतिमा परेपछि भावेश भुमरीको पछिल्लो पुस्तक ‘भावलिपि’ यतिबेला चर्चामा छ । प्युठान नगरपालिका–१० मरन्ठानामा जन्मनुभएका ४९ वर्षीय भावेशले नेपालीमा स्नातकोत्तर गर्नुभएको छ । प्युठान काठमाडौँ वाङ्मय केन्द्रका अध्यक्ष भावेशका गीति क्यासेट र सङ्ग्रह गरी ११ गीति सङ्ग्रह, कविता सङ्ग्रह, लेख तथा निबन्धको सँगालो र संयुक्त प्रेमपत्र सङ्ग्रह ‘भावलिपि’ गरी १५ कृति प्रकाशित छन् । साहित्यिक तथा अन्य पत्रपत्रिका, कविता तथा नियात्रा सम्पादन समेत गर्दै आउनुभएका भावेशसँग साहित्य कला र संस्कृतिको सेरोफेरोमा रहेर युगबोधका लागि शशिधर भण्डारीले गर्नुभएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ । – सम्पादक

भावेशजी आजभोलि के गर्दै हुनुहुन्छ ?

उल्लेख गर्नुपर्ने नयाँ र सिर्जनात्मक कार्यहरू त्यति छैनन् । मैले करिब २८ वर्षअगाडि पत्रिकाहरूमा साहित्य, सङ्गीत र गायक गायिकाहरूसम्बन्धी स्तम्भ चलाउँथेँ । त्यसबेला पत्रिकामा छापिएका ती लेखहरू टाइप गर्दैछु । ती लेखहरूका साथमा अझै केही साहित्यकार र कलाकारहरूसम्बन्धी लेखहरू थपेर भविष्यमा एउटा फरक खालको किताब बनाउने सोचमा छु ।

‘भावलिपि’ कस्तो कृति हो ? मदन पुरस्कारका लागि छनोट भएका पाँच कृतिभित्र पर्दा कस्तो महसुस भएको छ ?

वि.सं. २०५३ देखि २०५५ सम्म मैले आरआर क्याम्पस र प्रणिता चामलिङले उत्तर बङ्गाल विश्वविद्यालयमा स्नातक पढ्दै गर्दा लेखेका प्रेमपत्रहरूको सङ्ग्रह हो ‘भावलिपि’ ।

त्यतिबेला लेखेका पत्रहरू कस्ता थिए भन्ने कुराबाट हामी धेरै टाढा भइसकेका थियौँ । कोभिड–१९ ले आठ महिना काठमाडौँको डेरा छाडेर प्युठान बस्न बाध्य बनायो । पछि जिल्लाबाट फर्केर आई कोठा सफा गर्दा खाटमुनिको कार्टुनमा भेटिएका हाम्रा प्रेमपत्रहरूमध्ये एउटाको फोटो खिचेर फेसुबकमा राखेँ र त्यहाँ पाएका सुझावहरूले पुस्तक छाप्न हौस्याएका हुन् । २६ वर्षभन्दा अगाडिका प्रेमपत्रहरूको सङ्ग्रह अहिले आएर ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृतिभित्र छनोट भएको छ । मदन पुरस्कारको छनोटले हामीजस्ता स्रष्टाका कृतिलाई पाठकहरूसम्म पुग्न निकै ठूलो सहयोग गर्ने रहेछ । यस कुरामा मेरी जीवनसाथी प्रणिता र मैले यस कृतिका लागि भाग्यमानी महसुस गरेका छौँ ।

तपाईंलाई कला, साहित्य र संस्कृतिका क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?

त्यतिबेला म प्युठानको सदरमुकाम खलङ्गास्थित महेन्द्र मा.वि.मा अध्ययनका लागि दिनमा दुई घन्टाभन्दा बढी पैदल हिँड्थेँ । दुर्गम गाउँमा मैले पहिले दियालो बालेर पढेँ । केही वर्षपछि टुकी बालेर आफ्नो पढाइलाई अगाडि बढाएँ । तर स्कुलमा पढ्न अब्बल भएका कारण अतिरिक्त क्रियाकलापहरूअन्तर्गत कविता, निबन्ध, कथा र हाजिरीजवाफ प्रतियोगिताहरूमा सहभागी बन्दै प्रायमा पुरस्कृत भएँ । पुरस्कारसँगै मलाई लेखन क्षेत्रमा लाग्न गुरु, गुरुआमाहरू र मेरा बाबाआमाबाट हौसला मिलिरह्यो । तिनै हौसलाहरू मेरा लागि प्रेरणा बने ।

तपाईंलाई सबैभन्दा मन पर्ने विधा कुन हो र किन ?

शुरुशुरुतिर मैले निबन्ध लेखनमा कलम चलाएँ । बीचमा कविताहरू रचेँ । कविताका साथै लामैे समय गीत रचनामा लागेर त्यतै रमाएँ । आफ्ना गीतहरू रेकर्ड गराई आधा दर्जनभन्दा बढी गीति एल्बम पनि बनाएँ । त्यसपछि म लागेँ नियात्रा लेखनमा । अब आख्यान लेखनतिर लाग्ने रहर छ । मलाई यही विधा मन पर्छ भन्ने छैन, जुन विधामा लेख्दै हुन्छु, मलाई त्यही विधा नै मन पर्छ । मेरो अन्तर्मनले सोच्छ, त्यस्तो भएन भने आफू त्यस विधामा समर्पित हुन कठिन छ ।

तपाईंको दृष्टिकोणमा साहित्य के हो ? साहित्यले कसको सेवा गर्नुपर्छ ?

साहित्यलाई ठूला ठूला वाद, विचार भनेर परिभाषित गर्ने पक्षमा म छैन । पढ्दा, देख्दा, सोच्दा म जे कुराको अनुभूति गर्छु, त्यसबाट मलाई मनले केही लेख्न घचघच्याउँछ, म इमान्दारिताका साथ त्यही कुरा लेख्छु । लेखाइमा पक्कै पनि परिवेश र समाजका साथै आफ्ना वैयक्तिक कुरा पनि आउँछन् । एउटा कुरा के भने आफ्ना सिर्जनाबाट समाजले नकारात्मक असर भोग्न हुँदैन भन्नेमा म अलि विचार पु¥याउँछु । समाजले त्यही कुरा पाउने हो । केही पाउनु नै अर्को पक्षको पाटोबाट सेवा पो हो कि ?

तपाईंको जीवनमा अति नै प्रभाव पारेका महत्वपूर्ण कृति कुन कुन हुन् ?

भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे पढ्दै गर्दा कवि बन्ने हुटहुटी जाग्यो । माधव घिमिरेको किन्नरकिन्नरी पढेपछि गीतकार बनिन्छ कि भन्ने रहर गरें । विद्यार्थी जीवनमा पारिजातको शिरिषको फूल पढेर एउटा लघु उपन्यास नै लेखें तर पछि मन परेन र पाण्डुलिपि नै फ्याँकिदिएँ । अलि पछि ताना शर्माको बेलायततिर बरालिँदा पढेपछि नियात्राकारै पो बन्न सकुँला कि भन्ने सोचेँ । स्कुल जीवनमा देवकोटाको मुनामदन पढेको थिएँ धेरैपटक । मलाई मुना र मदनको जीवनघटनाले एकान्तमा केहीपटक रुवाएको पक्कै हो । काठमाडौंमा अभावैअभावसँग बग्दै गर्दा पर्ल एस बगको कल्याणी धर्तीको पठनले ठूलो प्रभाव पारेको थियो । केही वर्षदेखि म बढी नै भाषा सम्पादनको कार्यमा लागेकाले बडो मन दिएर पढ्न पाएको छैन । कुनै नयाँ कृतिको योजनामा लागें भने बजारमा आएका केही प्रतिनिधि पुस्तकहरू त पढ्नैपर्ला ।

तपाईंलाई मन पर्ने लेखकहरू ?

जीवनमा ठूलो प्रभाव पार्ने मेरो एक आदर्श लेखक भनेर कसैलाई देखाउन सक्दिनँ म । कसैको विषयले छुन्छ, त्यही मन पर्छ, कसैको शैली राम्रो लाग्छ । यी कुरा भन्दा पनि मलाई लेख्नका लागि व्यक्तिगत रूपबाट बढी प्रेरित गर्नुहुने माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, मञ्जुल र दिनेश अधिकारीको नाम छुटाएँ भने अन्याय गर्नेछु । म मात्र होइन, मेरा समकालीक र अनुज पुस्ताका धेरै लेखकहरू जन्माउने र हुर्काउने कार्यमा उहाँहरूको कहीं न कहीं विशिष्ट भूमिका छ ।

तपाईंको लेखनका आगामी योजना के छन् ?

पछिल्लो समय म अलि बढी गद्य लेखनतिर लहसिएको छु । बेलायत यात्राको नियात्रासङ्ग्रह भिसाको रङको दोस्रो संस्करणलाई केही परिमार्जन गर्ने कि भन्ने सोच बनाएको छु । हङकङ यात्राको नियात्रा आधा लेखिसकेको छु ।

तपाईंले किताबहरु आफैँ प्रकाशन गर्दै आउनुभएको छ, यसबारेमा के भन्नुहुन्छ ?

हो, मैले मेरा सबै कृति आफैँ प्रकाशन गर्दै आएको छु । अब त सोच्न थालेको छु, किताब मात्र लेखेर अनि प्रकाशन गरेर पनि के गर्नु र ! किताब प्रकाशन ग¥यो, बिक्री हुँदैन । अनेक फुँदा जोडेर विज्ञापित हुन पनि मन लाग्दैन । किताब पढ्ने पाठकहरूको कमी छ । साथीभाइ र चिनेकाहरूलाई एकदुईवटा बेच्न खोज्दा मन्टो बटार्छन् । कोही कोही त नजिकसम्म पर्दैनन्, बोल्नै छाड्छन् । फेरि उनीहरू नै भन्न भ्याउँछन्, ‘किताब बेचेर टन्न पैसा कमाउँछ ।’ किताब त्यसै पढ्न दियो, कतै बेवारिस छाडेर हिँड्छन् । कसैकसैले भने केही प्रति बेचिदिएर पनि सहयोग गर्छन् । लेख्नु, प्रकाशन गर्नु अनि बेच्नु पनि, समय खर्चका साथै आर्थिक बोझसम्म आफैँ बोकिरहनु मेरा लागि एक चुनौती बनेको छ । थाहा छैन, कहिलेसम्म गर्छु म यस्तो कार्य ?

तपाईं राप्ती क्षेत्रको एक स्रष्टा हुनुहुन्छ, त्यसमा पनि मगर समुदायको । तपाईं आफ्नो र अन्य समुदायलाई केही भन्न चाहनुहुन्छ ?

हामी सबै प्रतिशोधको भावनाले होइन, प्रतिस्पर्धाको भावनाले अगाडि बढ्नुपर्छ । उपेक्षित र पीडितहरूप्रति भने सबैले ध्यान दिनुपर्छ । विशेषतः म मेरो समुदायलाई रमाइलोमा बढी समय नबिताई बौद्धिक कार्यमा लाग्न अनुरोध गर्छु । एउटा विशेष कुरा के छ भने विदेशहरूमा आयोजना गरिने विभिन्न कार्यक्रमहरूमा पुस्तकहरूलाई प्रतिबन्ध नलगाउनुहोला । यस्ता कार्य गर्दै जानु भए ती कार्यले दिने सन्देश बडो गम्भीर हुने निश्चित प्रायः छ ।

अन्त्यमा युगबोधमार्फत भन्नुपर्ने थप कुराहरू छन् कि ?

युगबोधले मलाई दिलाएको गुन बिर्सिनसक्नुको छ । राप्ती सेरोफेरोमा यस पत्रिकाले पत्रकारिता र साहित्य लेखनमा दिँदै आएको योगदान अविस्मरणीय र अमूल्य छ । यस पत्रिकाले समय समयमा हामीलाई घचघच्याओस्, अझ नयाँ प्रतिभाहरूको प्रबद्र्धनमा यसले महत्वपूर्ण योगदान दिँदै जाओस् ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %