राज्यसत्ता
काठमाडौ , सावन २५ गते। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा आधिकारिक शपथ खुवाइयो।

चौरासी बर्षिय युनुसले बंगलादेशको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएका थिए। यस कार्यक्रममा विभिन्न राजनीतिक, नागरिक, र सैनिक नेता र कूटनीतिज्ञहरू उपस्थित थिए।
सन् २००६ मा माइक्रोक्रेडिटमा गरिएको कार्यको लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुसले संविधानलाई कायम राख्नुका साथै सुरक्षाको प्रतिज्ञा गरे र आफ्नो कर्तव्यलाई ईमानदारीपूर्वक पूरा गर्ने वाचा गरे। राष्ट्रपति मोहम्मद शाहबुद्दीनको उपस्थितिमा उनले शपथ लिएका थिए। युनुससँगै अन्तरिम सरकारको हिस्साको रूपमा थुप्रै सल्लाहकारहरूले शपथ लिएका थिए। अन्तरिम सरकारको जिम्मेवारी शान्ति पुनःस्थापन र आगामी निर्वाचनको तयारी गर्नु हो। शपथ ग्रहण गर्ने सल्लाहकारहरुमा हसिनाको बहिर्गमनका लागि गरिएको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका विद्यार्थी नेताहरु नाहिद इस्लाम र आसिफ महमुद पनि थिए।

अन्य उल्लेखनीय सल्लाहकारहरूमा पूर्व विदेश सचिव तौहीद होसैन, पूर्व महाधिवक्ता हसन अरिफ, ख्यातिप्राप्त वातावरणीय अभियन्ता सायदा रिज्वाना हसन र प्रतिष्ठित कानून प्राध्यापक र लेखक आसिफ नज्रुल समावेश छन्। हसिनाको प्रशासनले दुई वर्षको जेल सजाय सुनाएका मानव अधिकार कार्यकर्ता अदीलुर रहमान खानले पनि शपथ लिएका छन्।

यस समारोहमा हसिनाको आवामी लीग पार्टीका कुनै पनि प्रतिनिधिहरू उपस्थित थिएनन्।
अन्तरिम सरकारका प्रमुखको भूमिकामा चयन हुदा युनुस पेरिसमा २०२४ ओलम्पिक हेर्दै थिए। उनी बिहीबार बिहान कडा सुरक्षा अन्तर्गत बंगलादेशमा फर्किए।