राङ्क्या सङ्कराइ : मगर समुदायमा गाेठालाे सभ्यताकाे अनुष्ठान

Read Time:3 Minute, 54 Second

राङ्क्या सङ्कराइ अर्थात् साउने सकरातीलाई मगर समुदायमा एउटा पर्वको रुपमा मनाउने प्रचलन छ । यो पर्वलाई पारिवारिक तहमा गाउँगाउँमा भव्यरुपले मनाइन्छ । यो पर्वको खास विषय भने ग्वाला पूजा हो । खासगरी रोल्पा रुकुम र बाग्लुङका मगर समुदायमा यो पर्व लोकप्रिय छ । राजधानीमा बस्दै आएका रोल्पा र रुकुमका डायस्पोरा समुदायले विगत २ दशक अघिदेखि यो पर्वलाई मनाउँदै आएका छन् ।


अठार मगरात मगर प्रतिष्ठान काठमाडौँ मुख्य आयोजक भै मनाउने गरिएको यो पर्व मगरहरुको स्थापित पर्वको रुपमा विकास हुँदै गएको छ । औपचारिक कार्यक्रम, पूजा तथा नाचगान र खानपिनसहित डायस्पोराहरुको भेटघाट हुने यो पर्व काठमाण्डौँ खाल्डोमा बसोबास गरिरहेका रोल्पा रुकुमेलीहरुको भेटघाट तथा सामाजिक अन्तरकृयाको अवसर बनेको छ । यसको आरम्भ अठार मगरात मगर प्रतिष्ठानका संस्थापक अध्यक्ष बमकुमारी बुढामगरले वि.सं २०५० को दशकतिर गर्नु भएको थियो । यो पर्व मनाइरहँदा यसको उत्पत्ति, इतिहास र औचित्यबारे आम रुपमा जानकारी हुन आवश्यक छ ।


पृष्ठभूमि :
ग्वाला अर्थात् गोठालो पूजा मगर जातिमा प्रचलित पितृ पूजा हो । यो साउने सकरातीको दिन मनाउने गरिएकोले यसलाई साउने सकराती, राँके सकराती तथा लुटो फाल्ने पर्वको रुपमा पनि बुझ्ने गरिन्छ । यो पर्व विशेषगरी गाई गोठालोहरुको नाममा समर्पित पूजा भएकोले कतैकतै गोठ पूजा पनि भन्ने गरिएको छ । कतै कतै यसैदिन भूमि पूजा गर्ने चलन पनि छ । साउने सकरातीकै दिन पर्ने भएको हुँदा विक्रम संवतको पात्रो अनुसार पर्न आउने अन्य पर्वहरुको मिश्रणले केही अन्यौलताहरु सृजना भएको छ ।
प्रकृतिपूजक मगरजातिको परम्परागत मुख्य आर्थिक आयाम भनेको खेतीपाती र पशुपालन हुन् । पशुपालनमा पनि उचाईतिर भेडा र मध्यपहाडी क्षेत्रमा गाई पालन हो । सयौँको संख्यामा गाई पालन गर्ने मगर पूर्वजहरुले गाई पाल्ने विधि, चरण क्षेत्र तथा सुरक्षाको निमित्र् आफ्नै पशुपालन प्रणाली विकास गरेका थिए । ग्वाला पूजाको इतिहास मगर समुदायको प्राचीन आर्थिक संस्कृतिसँग जोडिएको छ । यो पर्व विशेष गरी माडी प्रश्रवण क्षेत्रमा भव्य रुपले मनाउने गरिन्छ ।


मगर जाति प्राकृतिपूजक मानव समुदाय हो । प्रकृतिका तमाम बस्तुहरुस सूर्य, चन्द्र, तारा, बादल, पहाड, खोला, वनजंगल, सिम, जमिन, रुख, पत्थर लगायतलाई पूजा गर्छ । यस्तै पूर्वजहरुस रमा, बजु, बराहा, सिद्ध, पालु, ग्वाला, गुनामी, भूयाँर लगायतका देउपितृहरुलाई पूजा गर्छ । मगर जातिका धेरै पूजा र पर्वहरु प्राचीन आर्थिक जीवनसँग जोडिएका छन् । आदिम सभ्यताको कथालाई उजागर मात्र होइन जीवन्तता प्रदान गरेका छन् ।
लेखक
बलबहादुर घर्तीमगर
समाजशास्त्री (उपसचिव)

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %