सि.बि. थापा
चितवन, फागुन २९ । सम्पूर्ण भूपू सैनिक तथा प्रहरीहरूको एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ चितवनमा नयाँ गोर्खा ब्रिगेड नेपालको स्थापना भएको छ । वीर गोर्खा सैनिक तथा प्रहरीहरूको महान् गौरवशाली इतिहास संरक्षण र संवर्धन यो संस्थाको मूल उदेश्य रहेकाले चिततनबाट महाअभियान थालिने भएको छ ।

केन्द्रीय कार्यालय चितवनमा र अन्य जिल्लामा शाखा रहनेगरी २०८० माघ ०२ गते चितवनमा स्थापना भएको संस्थाका संरक्षक मेजर चोकबहादुर थापामगरले राज्यसत्तालाई बताउनुभयो । चितवनमा फागुन २९ गते उद्घाटन स्वयम् संस्थाका संरक्षक थापामगरले गर्नुभएको थियो । साथै, यसको सम्पूर्ण जिम्मेवार गोर्खा ब्रिगेड नेपाल प्रालि कम्पनीले लिने छ । यस संस्थाका मूल उदेश्यहरू यस प्रकारका रहेका छन्–

१. महान् स्मारक कोष निर्माणः महान् स्मारक निर्माणका लागि ब्रिटिस गोर्खा आर्मीको १० पल्टन, भारतीय सेनाको ४१ पल्टन र अन्य सेनाको एक गरेर ५२ पल्टनको कोष निर्माण गरी विभिन्न युद्धमा मारिएका सेनाका र प्रहरीका शहिदहरूलाई श्रद्धाञ्जली दिने काम यस शहिद स्मारकमा गरिने छ ।
२. वीर गोर्खा पार्कको निर्माणः सन् १८१५ देखि आजसम्मका ती तमाम बहादुरीको उच्च पदक प्राप्त गर्ने वीर गोर्खा सैनिकहरूको सालिक स्थापित गरिएको एउटा विशाल सुन्दर, अनुपम बगैँचाको निर्माण गरिने छ, जसमा सयभन्दा माथि वीर शहिदहरूको सालिक रहने छ । हरेक शालिकहरूमा फेरि उधृत गरिएका शब्दहरूले हरेक योद्धाहरूको वीरताको अलगअलग बहु आयामहरूले पर्यटकहरूको दिलदिमागमा विशेष छाप छोड्ने छ ।

३. आजसम्मको २०८ वर्षभित्र ५२ गोर्खा पल्टनहरूले चाहे युद्धको दौरानमा होस् या सेवाको दौरानमा होस्, जता जता आफ्ना पाइलाहरू टेकेका ठाउँहरू छन्, तिनका बारेमा लेखिएका पुस्तकहरू राख्ने ठाउँ अनि युद्धका विशेष उपलब्धीहरू, मानसम्मानका प्रशंसापत्र, चिन्ह, उपहारहरू साथै पल्टनका उच्च पद पाएका कमाण्डरहरूका तस्बिरहरू प्रदर्शन गर्न एउटा भव्य सङ्ग्रहालयको निर्माण गरिने छ । यी तमाम विषयहरूका निर्माणहरूका लागि बाग्मती प्रदेश, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ को थाकलाङमा नेपाल दाहाखानी नेचर रिसोर्ट प्रालिको २४ बिघा जग्गामा गोर्खा ब्रिगेड नेपाल प्रालि कम्पनीले विशेष सम्झौतापत्रको आधारमा छुट्टै ५ बिघा जग्गा प्राप्त गरेको छ । जसमा, वीर गोर्खालीहरूको महान् गौरवशाली गाथा बोकेको इतिहासलाई जिवन्त बनाइराख्न मात्र ६०० गोर्खा भूपू सैनिकहरू र उनका उत्तराधिकारीहरूले यो इतिहासलाई आजीवन संरक्षण गर्ने ठोकुवा गरेको जानकारी गराउँछौँ ।

४. जो पनि गोर्खा सैनिकहरू गोर्खा ब्रिगेड नेपाल प्रालि कम्पनीले चालेको वीर गोर्खाली गौरवशाली महान् इतिहास संरक्षण अभियानमा स्वेच्छाले व्यक्तित रूपमा ६०० गोर्खा सैनिकहरूभित्रमा सामेल हुन चाहनुहुन्छ भने त्यसका लागि तलको सम्पर्क नम्बरमा सम्पर्क राख्नुहोला ।
५. गोर्खा ब्रिगेड नेपाल प्रालि कम्पनी आम भू्पू सैनिक संस्थाहरू जस्तो सामाजिक संस्था नभएर यो व्यावसायिक संस्था हो । धेरैलाई शङका होला किन यस्तो गरेको भनेर । यसका मूल कारणहरू निम्नलिखित रहेका छन्–
नेपालमा २०० सयभन्दा बढी भूपू सैनिक संघ संस्था, सङ्गठन, क्लब आदि मुनाफारहित सामाजिक संस्थाहरूको रूपमा दर्ता भएका छन् । जसमा लाखौँ भूपू सैनिकहरूले सय, हजार गर्दै जीवनभरी पैसा दिन्छन्, जुन लाख होइन करोड, अर्ब पुग्छ । तर, केही टाठाबाठा पदाधिकारीहरूले मात्रै त्यसको फाइदा उठाउँछन् । अब त भर्ती पनि बन्द भयो, भोलि पेन्सन खाने बूढा भएर मर्दै जान्छन् अनि भूपू सैनिकहरू नै नरहे संस्था बन्द हुन्छ ।

त्यसपछि थोपा थोपा जम्मा गरेको रकम कसले खोज्ला ? अनि अर्को कुरा जोकोही संस्था, महासंघ आदिहरूले कुनै संरचना, स्मारक, संग्रहालय यदि बनाइसकिएको छ भने त्यो कसले संरक्षण गर्ला ? किनकि ती संस्थाहरूमा भूपू सैनिकहरू मात्र साधारण सदस्य रहेका हुन्छन् । उनीहरूसँग अरू कुनै कानुनी अधिकारहरू रहेका हुँदैनन् । तर, प्रालिी कम्पनी भनेको नाफामूलक कम्पनी हो । यसमा सदस्य बन्नका लागि शेयर किन्नुपर्ने हुन्छ र हरेक वर्ष लेखा परीक्षण गर्नुपर्छ । आर्थिक प्रतिवेदन वार्षिक सरकारलाई बुझाउनुपर्छ । साथै, प्रालि कम्पनीहरूमा कथमकदाचित शेयर सदस्यहरूको मृत्यु भएमा त्यसको शेयर र मुनाफा हकवालाको नाममा सर्दै जान्छ । यसरी यो प्रक्रिया आजीवन चलिरहन्छ । यो कारणले नै सामाजिक संस्था र प्रालिी कम्पनीहरूमा ठूलो भिन्नता रहेको हुन्छ ।
धेरै भूपू सैनिकहरू सामाजिक संस्थामा आबद्ध भएकै कारण उनीहरूको रकमबाट बनेका प्राय धेरै संरचनाहरू बेवारिसे भएर नेपाल सरकारको स्वामित्वमा गई अपराधी तङ्खवहरूबाट कब्जा गरिएको छ ।