
भाद्र २१, २०८०
राज्यसत्ता संवाददाता
१० वर्षमा ३ लाख हेक्टर कृषि याेग्य जमिन घटेकाे राष्ट्रिय तथ्यांक कार्यालयले बिहिवार प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकले जनाएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार मुलकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ ।
राष्ट्रिय कृषि गणना २०६८ अनुसार २५ लाख हेक्टर कृषियोग्य जमिन रहेकाे थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।
हिमाली क्षेत्रमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको तथ्यांकले देखाएको छ ।
अस्थायी बाँझो जग्गा दोब्बरले बढेको छ । कृषिगणना अनुसार कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा रहेकाे थियाे भने अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ ।