उमेश राना मगर

महोत्तरी, ११ भदौ २०८० – १२ वर्षसम्म नेपाल मगर संघको नेतृत्व गदै समाजको माग मुद्दालाई देशको कुनाकाप्चामा पुर्याउने, मगरहरुलाई चेतनशील बनाउने, ऐतिहासिक विरासत बोकेका तमाम आदिवासी जनजाति, उत्पीडित एवं बहिस्करणमा परेका समुदायलाई ब्यूँझाउँदै राष्ट्रको मूलधारमा स्थापित गर्न निरन्तर संघर्ष गर्नु भएका प्रभावशाली आदिवासी नेता गोरेबहादुर खपाङ्गी मगरको ७ औं पुण्य स्मृति दिवस उहाँकै गृहनगर राम नगर ,गौशालामा भब्य रुपमा सभा सम्पन्न भएको छ ।

खपाङ्गी फाउन्डेशनका केन्द्रीय अध्यक्ष हुमबहादुर थापाको अध्यक्षतामा सुरु भएको सो सभामा प्रमुख अतिथिका रुपमा गौशालाका नगर प्रमुख डा.दिपेन्द्र कुमार महतो उपस्थित हुनुभएको थियो । फाउन्डेशनको शाखा महोत्तरीका सदस्य फागुन सुस्लिङ्गले कार्यक्रम संचालन गर्नुभएको सो स्मृति सभालाई स्थानीयहरुको बाक्लो उपस्थितिले निकै रोचक र अर्थपूणर् बनाइदिएको थियो ।

प्रमुख अतिथि डा.महतोले ७ वटा मैनबत्ती बाली स्व.खपाङ्गीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि कार्यक्रमको सुरुवात भएको थियो । फाउण्डेशन शाखाका संयोजक गणेश जर्घाले विशेष अतिथि भिक्षु मेधङ्कर स्थविर (नारायण बहादुर आले मगर)उपस्थित अन्य अतिथि, भद्रभलादमी, समाजसेवी, जनप्रतिनिधि, आदिवासी जनजाति महासंघका प्रतिनिधि, विभिन्न मगर संघका प्रतिनिधिहरु, शिक्षक एबं बुद्धिजीवीहरु लाई स्वागत गर्नु भयो।

कार्यक्रमको सुरुवातमा केन्द्रका उपाध्यक्ष रुद्र गुर्मछानले स्व.खपाङ्गीको जीवनी र विविध पाटोलाई पूणर्रुपले झल्काउने गरी तयार गर्नुभएको स्लाइड पावर पोइन्टमा प्रस्तुत गर्नुभयो ।
मन्तव्य :

सो क्रममा गोरेबहादुर खपाङ्गी मगरका सहपाठी एवं सहकर्मी शिक्षक खड्गबहादुर सिंह ठकुरीले स्व.खपाङ्गीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उनी अत्यन्त मिलनसार, भेटनासाथ आत्मियता बढ्ने र असाध्यै रमाइलो गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँ असल, नैतिकवान र इमान्दार शिक्षक हुनुका साथै बहुभाषी, स्वाभिमानी, निर्भिक, प्रखरवक्ता, तिक्ष्ण बुद्धिका अनुकरणीय पात्र रहेको बताउनु भयो । अतिथि राजु फूयाँलले जिवनमा सबै भन्दा पहिला स्व. नेता खपाङ्गी ज्यूलाई मतदान गरेको स्मरण गर्दै उहाँले कहिलै जातिबादी राजनिती नगरेको बताउनुभयो।

अतिथि उमेश राना मगरले कार्ल माक्र्सले वर्गविहीन समाजको परिकल्पना गरेका थिए । हामीकहाँ धर्म, संस्कृति र जातिको आधारमा वर्गको निर्माण भएकोले पहिले धर्म, संस्कृति र जातीय मुक्तिको मुद्दा उठ्नुपर्छ भन्ने मान्यता राख्दा स्व.खपाङ्गी नेपाल कम्युष्टि पार्टीबाट अलग्गिनु पर्यो ।

त्यसपछि उनी न्याय र समानतामा चल्ने समाजवादी विचारधारा बोकेर हिँडे, राष्ट्रिय जनमुक्ति पार्टी खोलेर खुल्ला राजनीतिमा होमिए । नेपालमा सवैभन्दा पहिले विकासको लागि संघीयता, जातीय मुक्तिका लागि जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी प्रणाली, सामाजिक विभेद अन्त्यका लागि धर्मनिरपेक्षता जस्ता मजबुत अवधारणा उनैले राखे । यही मुद्दामा सवै एकत्रित हुँदै गए, कतिपय वर्तमान संविधानमा समेटिए पनि । नेपाली राजनीतिशास्त्री, समाजशास्त्री र मानवशास्त्रीहरुले नदेखेका र नजानेका विषयमा वकालत गर्दै हिँडे । त्यसैले स्व.खपाङ्गी नेता होइनन्, राजनेता हुन्-मास्टर होइनन्, प्रोफेसर हुन् । तर हाम्रो देश र समाजले यी महान विचारकलाई समयमै नचिनेको भनी दुःख व्यक्त गर्नुभयो ।

विशेष अतिथि भिक्षु दिपन्कर नारायण मगरले स्व.खपाङ्गीलाई सानैमा देखेको, उनमा समाजलाई गहिरिएर बुझ्ने क्षमता थियो । उहाँले बुद्धलाई ज्ञानको रुपमा लिनु हुन्थ्यो, शान्ति र समुन्नतिको एक मात्र असल मार्ग भनेर चित्रित गर्नु हुन्थ्यो ।

प्रमुख अतिथि डा.दिपेन्द्र कुमार महतोले स्व. खपाङ्गीले दिनु भएको विचार र योगदानलाई तत्कालीन अवस्थामा विरोधाभाष तरिकाले व्याख्या गरिए तापनि पछि आएर समाजमा उहाँको सिद्धान्त र विचार स्थापित भएको स्पष्ट पार्नुभयो । यस फाउण्डेशनले स्व.नेता खपाङ्गीको विचारलाई जीवित राखी त्यसको अनुशरण गरेको र प्रचारप्रसार गरेकोमा त्यसको प्रशंसा गर्दै नगरप्रमुखको हैसियतले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सभाका अध्यक्ष हुमबहादुर थापाले स्व.खपाङ्गी देशमा मात्र नभई देशबाहिर पनि चिनिएका नेता हुन् । विदेशीहरुले उनका बारेमा धेरै लेखेका छन् । बेलायतको संग्रहालयमा उनको भाषणको क्यासेट सुरक्षित राखिएको जानकारी दिँदै फाउण्डेशनका तर्फबाट विभिन्न योजनाहरु अघि सार्नुभयो र त्यसमा रचनात्मक सहयोग गर्न नगर प्रमुखलाई आग्रह पनि गर्नुभयो ।