
जेठ ७, २०८०
राज्यसत्ता संवाददाता
सहकारीको ऋण तिर्न नसकेपछि बागलुङ ढोरपाटनका नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि फरार रहेका छन् । नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । सहकारी संस्थाको रकम अध्यक्ष नेपालीले हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।
बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ ।
४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए भनेर सिडिओ श्रेष्ठले बताईन । नेपाली मानसिक तनावका कारण स्वास्थ्य उपचार गर्न बाहिर जाने पत्रमा उल्लेख गरेका थिए । मेयर नेपालीले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारीले बताइन् ।
‘उहाँले प्रहरीमा निवदेन दिएर हराउनु भएको रहेछ, नगरपालिकाको तर्फबाट केही जानकारी नआएपनि प्रशासनले निरन्तर खोजिरहेको छ’ सिडिओ श्रेष्ठले भनिन् ।
नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतका अनुसार ‘उहाँले ५ गते आफू नआउन्जेल कार्यवाहक चलाउनुस् भन्ने पत्र दिएर जानुभएको थियो, त्यसपछि कहाँ हुनुहुन्छ भन्ने थाहा छैन’ । अध्यक्ष नेपालीलाई सम्पर्क गर्न खोज्दा पनि उनीसँग सम्पर्क हुन नसकेको कठायतले बताए छन् ।
उपप्रमुख कठायतले भनेका छन् ‘सहकारीमा समस्या थियो भन्ने सुनिएको हो, पत्र दिएपछि कहाँ जानुभयो, किन हराउनु भयो भन्ने केही थाहा छैन’ ।