तत्कालीन गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ

Read Time:3 Minute, 5 Second

वैशाख १९, २०८०
राज्यसत्ता संवाददाता
भुटानी शरणार्थी बनाउने गिरोह सञ्चालनको मुख्य योजनाकार राई रहेको दाबी ।


काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिराेहका मुख्य याेजनाकार ईन्द्रजित राई पक्राउ परेका छन् । राईले करोडौं रुपैयाँ असुलउपर गर्दै आएको पाईएकाे छ । ईन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार थिए ।

नेपालीहरूलाई नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । राई २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार थिए । राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ । राईलाई प्रहरी परिसर टेकुमा राखिएकाे छ । गिराेहका सदस्यहरूकाे बयान अनुसार ईन्द्रजित राईले विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी उनिहरूबाट लिएको जनाएका छन् ।

यो गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन् । पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी थिए ।

रकम लिनेहरू तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरज समेत रहेकाे मध्यस्थकर्ताका रुपमा आइसकेको बयानमा उल्लेख छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %