
चैत्र २२, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न आदेश दिएको छ ।
युवराज पाैडेलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधीवक्ता दिनमणि पोखरेल तथा महान्यायाधीवक्ताको कार्यालयको निर्णयविरुद्ध रिट दायरा गरेका थिए । पौडेलले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले जारी गरेको आदेशमा अमेरिकी नागरिकता त्यागेको निस्सा झिकाउन आदेश दिएको हो ।
‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाइ नियमानुसार पेस गर्नू,’ आदेशमा उल्लेख छ ।
न्यायाधीश फुयालको इजलासले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण के हाे साे माग गरेको छ । महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा नचलाउनु भन्नेको कारण के हाे साेकाे स्पष्टीकरण फुयालको एकल इजलासले बुधबार माग गरेको हो ।
रबि लामिछाने अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएका थिए । उनी नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । साे अन्तिम निर्णय चैत ६ मा महान्यायाधिवक्ता पोखरेलले गरेका थिए ।
रबिललामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा नागरिकता लिएका थिए । र सोही नागरिकताको आधारमा राहदानी लिई रबि अमेरिका गएका थिए । रबि लामिछानेले अमेरिकाको स्थायी बसोबास अनुमति पाएका थिए । लामिछानेले अमेरिकी कानुनबमोजिम शपथ लिई २०७० फागुन ९ मा अमेरिकी नागरिकता लिएका थिए ।
लामिछाने अमेरिकी नागरिकका हैसियतमा हुँदाहुँदै नेपाल आएको बखत लामिछानेले पुरानै नागरिकता प्रयोग गरी २०७२ जेठ १३ (सन् २०१५ मे २७)मा नेपालको पासपोर्ट लिएका थिए । रबिले २०७५ सालमा अमेरिकाको नागिरकता र राहदानी परित्याग गरेका थिए ।
गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन २ बाट लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रबि विरुद्ध सांसदको योग्यताको मुद्दा परेको थियो । जसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते फैसला गरेको थियो । लामिछानेले पुनः नागरिकता लिनुपर्ने तथा दोहोरो राहदानीको विषयमा छानबिनको प्रक्रिया चलिरहेको भन्ने जानकारीमा रहेको उल्लेख गरेको थियो । लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएका थिए । रबिकाे राहादानि बारे प्रहरी, सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयले उनी बिरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

