राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

Read Time:3 Minute, 4 Second

चैत्र १३, २०७९
राज्यसत्ता संवाददाता

काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले राख्नुभएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलपछि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सांसदहरुले विधेयक ल्याउने कर्तव्य कार्यपालिकाको भएको भन्दै विधिको शासनका लागि यस प्रकारको कानुन आवश्यक रहेको बताए ।

विधेयकमा सरकारी एवम् सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनलाई योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधनलगायतका विषय विधेयकमा समेटिएको छ ।

विधेयकमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने लगायतका विषय पनि समावेश गरिएको छ ।

राष्ट्रियसभाको बसेको पहिलो बैठकमा राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेश गरेका थिए ।

विधेयक पास हुनुअघि।विशेष समयमा सांसदहरुले मिटरव्यजीबाट नागरिक पीडित बनिरहेको आवाज उठाए । साथै सरकारी अस्पतालहरूमा भएका प्रविधिको प्रयोग हुन नसकेको, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारीमा जानेमाथि भइरहेको ठगीलगायतका विषय उठाए ।

यस्तै, जातीय भेदभाव, राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, मदरसालाई राज्यको मूल प्रवाहमा ल्याइनुपर्ने, नागरिकता समस्या, मलखाद, युवा विदेश पलायन लगायतका विषयप्रति सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको आजको पहिलो बैठक सुरु भएलगत्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको निर्धारित समयमा नेपाल सरकारका मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक चैत १६ गते बिहीबार ११ बजेर १ मिनेटमा बस्ने भएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %