
चैत्र ६, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । सि तीन दिने रुसि भ्रमणमा छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि सिले यस्तो बताएका हुन् । सीले रुसलाई भरपर्दो साझेदार रहेको पनि बताएका थिए ।
सीले भनेका छन् ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भन्ने माग गर्छ,’ । सिले आफ्नो यस भ्रमणले चीन-रूस सम्बन्धको चौतर्फी विकासको नयाँ अध्याय खुलेको पनि बताए । चीन र रुसले जनस्तरमा पनि लामो समयदेखि मित्रता बनाएको भन्दै सीले दुई देशबीच सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताएका छन् । यस्तै सिले दुई देशबीचको सम्बन्धले ठोस लाभ प्राप्त हुने मात्रै नभएर विश्वकै विकास र प्रगतिमा पनि महत्त्वपूर्ण योगदान दिने बताएका छन् । ‘विगत एक दशकमा हाम्रा दुई देशले गैरगठबन्धन, गैरटकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगरी द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाएका छन्,’ सीले भनेका छन् ।
रुसमाथि अमेरिकी दबाब जारी रहँदा चिनियाँ राष्ट्रपति सीको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । यस क्रममा सीले चीन र रुसबीच सम्मान, शान्तिपूर्ण सहअस्तित्वसहितको उदाहरणीय सम्बन्ध रहेको पनि बताएका छन् ।