
राज्यसत्ता संवाददाता
फाल्गुण २७, २०७९
बिर्तामोड झापा ।
समानुपातिक र पहिचान पक्षधर ६ वटा पार्टीबिच झापाकाे बिर्तामोडमा एकता भएकाे छ । यी ६ वटा पार्टीहरू पूर्वमा आन्दोलनरत छन् । ६ वटा पार्टीबिच झापाको बिर्तामोडमा शनिबार पार्टी एकीकरणको घोष्णा गरिएको हो । एकीकरण हुने पार्टीहरू राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानबीच पार्टी रहेका छन् ।
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले पहिचानको आन्दोलन कमजोर भएको निष्कर्ससहित त्यसलाई सशक्त बनाउन पार्टी एकीकरण गरिएकाे बताए । एकीकृत पार्टीको नाम, झण्डा, ब्यानरका बिषय टुङ्ग्याउन कार्यदल निर्माण गर्ने सहमति भएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले जानकारी दिए ।
हाललाई एकीकृत भएको पार्टीको संयोजक भने राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा रहने सहमति भएको छ । ६ पार्टीका अध्यक्ष तथा पदाधिकारीहरु सम्मिलित कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिबाट कार्यकारिणी परिषद निर्माण गर्ने सहमति भएको छ । कार्यकारिणी परिषदले जिल्लादेखि पालिकासम्म संयोजन समिति गठन गर्नेछ । ६ महिनाभित्र एकताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जनाएको छ । तत्तपश्चात आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको छ ।
आज एकता भएका दलहरुबीच ७ बुँदे सहमति भएको छ । स्वशासनसहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य स्थापना गर्ने, राज्यका हरेक क्षेत्रमा जातीय जनसंख्याकाे आधारमा समानुपातिक प्रतिनिधित्व प्रणालीको सिद्वान्त लागू गर्ने, बहुलराष्ट्रवाद, स्वदेशवाद र सामुदायिक समाजवाद लागू गर्ने, नेपालको संविधान पुनर्लेखन गर्न दवाव दिने सहमति भएको छ । त्यसैगरि बिद्रोहमार्फत राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्ने भएको छ । ६ वटै पार्टीसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न दवाव दिने र कोशी प्रदेश नामाङकन खारेज गर्दै प्रदेश न १ को नामाङकनको लागि शसक्त दवाव दिने सहमति भएको एकता घोषणा पत्रमा उल्लेख छ ।
संयोजक के.पी. पालुङ्वाको अध्यक्षतामा भएको पार्टी एकता घोषणा कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, कोचिला सघर्ष केन्द्रिय समितिका संयोजक त्रिनारायण राजवंशी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी केन्द्रिय समिति अध्यक्ष रघुनाथ खम्बु, लिम्बुवान राष्ट्रिय समिति लोसपा अध्यक्ष भक्त खवास, किराँत लिम्बु्वान प्रदेश नामाङ्कन अभियान संयोजक प्रेमदिप थाम्सुहाङलगायले आ-आफ्नो भनाई राखेका थिए ।



