
फाल्गुन ७, २०७९
काठमाडौँ — सरकारले तीन राजदूतहरुको तीन महिनाकाे म्याद थप गरिदिएकाे छ । सरकारले संयुक्त राष्ट्र संघ (यूएन)का लागि दुई स्थायी नियोगहरु न्यूयोर्क र जेनेभाका राजदूतहरु तथा फ्रान्सका राजदूतको म्याद तीन महिना थप गरिएको हो ।
मन्त्रिपरिषद्को बैठक बिहीबार बसेको थियाे । साे बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार स्थायी नियोग न्यूयोर्कका राजदूत अमृतकुमार राई, स्थायी नियोग जेनेभाका मणिप्रसाद भट्टराई र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको म्याद थप तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । मन्त्रीकाे भनाइ अनुसार तीनै राजदूतहरुले आफ्ना बच्चाहरुको कारण देखाएकाे कारणले तीन महिना म्याद थपिदिन आग्रह गरेकोले सोही अनुसार परराष्ट्रको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको बताए ।
स्थायी नियोग न्यूर्योकका राजदूत राईको फागुन १९, स्थायी नियोग जेनेभाका भट्टराईको चैत २८ र फ्रान्सका राजदूत अधिकारीको चैत २१ मा नियमित चार वर्षे कार्यकाल सकिँदै छ ।
तीन महिनासम्म ती राजदुतहरूले काम गर्नेछन् । र त्यसपछि उनीहरु नेपाल फर्कने छन् र उक्त स्थानमा फेरि सरकारले नयाँ राजदूत नियुक्ति गर्ने छ ।
