
माघ २२, २०७९
राज्यसत्ता संवाददाता
अर्थसचिवबाट जगेडामा राखिएका हिमालयलाई सरकारले राष्ट्र बैंक खोल्ने योजनाअनुसार अफिसर अन स्पेसल ड्युटीको जिम्मेवारी थमाएको थियो । सुरुका एक महिना नेपाल राष्ट्र बैंक स्थापना गर्नका निम्ति आवश्यक ऐनको तर्जुमा गरेका हिमालय विसं २०१३ वैशाख १४ गते राजा महेन्द्रबाट राष्ट्र बैंकको समुद्घाटन गरेलगत्तै गर्भनरमा नियुक्त भएका थिए ।
काठमाडौँ — नेपालकाे पहिलाे गभर्नर तथा अर्थ सचिव हिमालयशमशेर राणा ९५ वर्षकाे उमेरमा आइतबार बिहान ७ बजे निधन भएको छ । उमेरको उत्तरार्द्धमा पनि सक्रिय जीवन बिताएका थिए । हिमालयशमशेर राणाकाल २००७ को क्रान्ति, प्रजान्तन्त्रको संघर्षदेखि पञ्चायतको अँध्यारो र त्य पछिका प्रजातन्त्रकाे पुनःस्थापन, लाेकतन्त्र र गणतन्त्र सम्मकाे महत्त्वपूर्ण राजनीतिक आरोह अवरोहको प्रत्यक्ष साक्षी थिए । हिमालयशमशेर पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका थिए । राणाले आफ्नो जिवनकाल नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत गरेर महत्त्वपूर्ण योगदान दिएका थिए ।
हिमालयशमशेर राणा १९८४ सालमा थापाथली दरबारमा जन्मेका थिए । उनि राणा प्रधानमन्त्री देवशमशेरका पनाती थिए । हिमालयशमशेर २००४ सालमा बम्बई विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट एमए उत्तीर्ण गरेका थिए । उनले भारतमा बस्दा राजनीतिक क्रान्ति र परिवर्तन देखेका थिए । हिमालयशमशेर भारत छँदै सुवर्णशमशेर राणा र बीपीसँग नजिकिएका थिए । उनिहरूकाे संगतले हिमालयशमशेर भूमिगत भए । उनी प्रजातन्त्र पुनः स्थापनाको राजनीतिमा होमिए । नेपाल आएपछि हिमालय जहाँनिया राणा शासन हटाउने क्रान्तिमा सक्रिय भएर लागेका थिए । सुवर्णशमशेरले
२००७ सालमा अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि हिमालयशमशेर अर्थ सचिवमा नियुक्त भएका थिए । त्यतिबेला सुवर्ण अर्थ मन्त्रालय सम्हाले पछि वाणिज्यशास्त्रमा एम कम स्नातकोत्तर गरेका कर्मचारीहरुको खोजी गरेका थिए । त्यतिबेला यस्तो शैक्षिक योग्यता भएका मान्छेको एकाध पाउँथे । यहि व्यक्तित्वमा उनी परेका थिए ।
हिमालयका अनुसार अर्थमन्त्रीले त्यतिबेला बम्बईबाट पढेर फर्केका हिमालयशमशेर, परीक्षित नरसिंह राणा, विराटनगरका लिलाप्रसाद लोहनी र असनका लाल साहुका छोरा कृष्णराज राजभण्डारीलाई मन्त्रालयमा भर्ती गरेका थिए । अर्थमन्त्रालयको बालुवाटारस्थित ललिता निवासबाट जागिर सुरु गरेका हिमालयले डेढ महिनापछि पहिलाे अर्थ सचिवमा नियुक्त भएका थिए ।
२००७ फागुनमा जागिर गर्दा हिमालयशमशेर राणा २३ वर्षका थिए । उनले तलब र भत्ता गरेर मासिक ५ सय ८३ रुपैयाँ बुझ्ने गरी अर्थसचिवको जागिर सुरु गरेका थिए । हिमालयले आफ्नो कार्यकालमा अर्थतन्त्रलाई निश्चित आकार दिने काम गरे । उनकाे कार्यकालमा महत्त्वपूर्ण आर्थिक र प्रशासनिक सुधारका कामहरु पनि गरेका थिए ।
हिमालयशमशेर राणा अर्थसचिव भएपछि उनले मन्त्रालयमा मालपोत विभाग, राजस्व विभाग, खर्च विभाग, बजेट विभाग र आर्थिक मामिला विभाग गठन गरेका थिए ।
त्यतिबेला आम्दानी र खर्चको दुरुस्त हिसाब थिएन । नेपालकाे अर्थतन्त्रको आकार कत्रो छ भन्ने पनि थाहा थिएन । यस्तो अवस्थामा हिमालयले पहिलो बजेट ल्याउने जिम्मेवारी पाएका थिए । हिमालयले भनेका थिए, ‘अर्थतन्त्र भनेकै मालपोत र चुंगीकर मात्रै थियो । झन् त्यतिबेला वर्षा राम्रो भएपछि उब्जनी बढेकैले पूर्वका जिल्लाहरुबाट मालपोत समयमै उठेको थियो भने खडेरीका कारण उब्जनी नभएकाले पश्चिमका जिल्लाबाट मालपोत समयमै उठन सकेको थिएन ।’
हिमालयका चनाई अनुसार देशका विभिन्न माल अड्डाले पठाउने सरकारी आम्दानी काठमाडौंको मुलुकीखानामा जम्मा हुन्थ्यो । पूर्वका विराटनगर, झापालगायतका जिल्लाले उठाएको माल वीरगन्जस्थित बडा हाकिमको कार्यालयमा र सुदूरपश्चिमका जिल्लाले उठाएको माल नेपालगन्ज माल अड्डामा जम्मा हुन्थ्यो । उनले भनेका थिए, ‘जम्मा भएको पैसा कपडाको थैलामा हालेर मुख बाँधेर शिलबन्दी गरीवरी टिनको ट्यांकामा राखेर सुरक्षाकर्मीका साथ काठमाडौंको मुलुकीखानामा ल्याइन्थ्यो । तर त्यो पैसा कसरी र कहाँ कहाँ खर्च भयो ? खर्चको प्राथमिकता के हो भन्ने कसैलाई थाह हुँदैनथ्यो । किनकी प्रधानमन्त्रीलाई सोझै हजुरिया जर्नेलले खर्चको हिसाब सुनाउँथे र प्रधानमन्त्रीले आफूखुशी खर्च गर्थे ।’
हिमालयशमशेरले पहिलो बजेटकाे ड्राफ्ट करिब चार महिना लगाएर देशभरका माल अड्डा र कौषितोषखानाबाट अर्थतन्त्रका सूचकांकहरू जम्मा गरेर तयार पारेका थिए । हिमालयशमशेरले तयार पारेकाे पहिलाे बजेट २००८ माघ १९ गते अर्थमन्त्री सुवर्णशमशेरले रेडियो नेपालबाट पढेर देशबासिलाई सुनाएका थिए । हिमालयलेअ सुनाएका थिए, ‘राज्यसँग कति पैसा छ, कति आम्दानी छ, के–केमा खर्च भइरहेको छ भन्नेबारे न कसैले प्रश्न सोध्ने न त सरकारले नै बताउने त्यस्तो समयमा हामीले सबै आम्दानी र खर्चको विवरणसहितको बजेट सार्वजनिक गरेपछि सबैले अनौठो माने ।’ पहिलो बजेटका अनुसार २००७ सालको देशको कुल आम्दानी २ करोड नब्बे लाख ८१ हजार थियो भने खर्च २ करोड ४६ लाख २७ हजार रुपैयाँ थियो ।
हिमालय पहिलाे अर्थसचिव सम्हाले पछि पहिलोपटक आर्थिक नियमावली उनैले बनाएका थिए । उनले नियमावली तयार पार्दा अर्थमन्त्री सुवर्णको सहयोग लिएका थिए । त्यतिबेला सुवर्णकाे भारतको पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र रोयसँग सुमधुर सम्बन्ध भएकैले पश्चिम बंगालका अवकाशप्राप्त सहसचिव मुकरर्जी साहेबलाई नेपाल झिकाएर हिमालयसँग मिलेर आर्थिक नियमावली बनाउन सहयोग लिएका थिए । आर्थिक नियमावलीमा राजपरिवारको खान्की तोके र कर्मचारीको तलब पनि निर्धारण गरे । हिमालयले २००८ मा पार्टीको नीतिअनुसार देशभरिका मोहीको लगत लिनेजस्ता महत्त्वपूर्ण काम पनि सुरुआती वर्षमै गरेका थिएु । उनकै पालामा तराई तथा भोटका सिमानाहरुमा रहेका बजार अड्डाहरुलाई पुनर्संरचित गरे । हिमालयले नेपाल भारत सिमानाका मुख्य पाँच स्थानमा रहेका बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरे ।#
