माघ ८, २०७९ एजेन्सी
काठमाडौँ — हिजो शनिबार राति अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा स्थानिय समय अनुसार ८ बजेर २० मिनेट जाँदा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय मिडिया अनुसार लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको जनाएको छ । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । घाइतेको संख्या भने यकिन भएको छैन ।
यसरिनै मृतकको संख्या पनि यकिन भएको छैन । बिभिन्न मिडियाले फरक फरक संख्या उल्लेख गरेका छन् । कुनै मिडियाले १० र बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ । मृतकको संख्या हिचान भइसकेको छैन ।
स्थानीय अधिकारिहरूका अनुसार गोली प्रहार गर्ने व्यक्ति पुरुष भएको हुनसक्ने आशंका छ । घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ । लस एन्जलसबाट घटना भएको उक्त सहर १३ किलोमिटर पूर्वतर्फ पर्छ ।
बीबीसीको समाचार अनुसार एक प्रत्यक्षदर्शीले तीन जना मानिसहरू आफ्नो रेस्टुरेन्टमा आएर मेसिन गन बोकेको मानिस त्यहाँ रहेकाले ढोका बन्द गर्न आग्रह गरेका थिए । एक साता लामो लुनार नयाँ वर्ष मनाउन यसअघि त्यहाँ एक लाखभन्दा धेरै मानिसको भीड हुने गरेको थियो। शनिबार रातिको फेस्टिभल राति ९ बजे सकिने पूर्वतयारी थियो । तर फेस्टिभल सकिनुभन्दा केही मिनेट मात्रै अघि गोलीकाण्ड भएको बताइएको छ ।
मोन्टेरी पार्क करिब ६० हजार मानिसको बसोबास रहेको क्षेत्र हो । जहाँ ठूलो संख्यामा एसियालीहरूको बसोबास रहेको छ ।
