पुस २३, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वमा शीर्ष नेताहरूलाई बुझाएका छन् ।
साझा न्यूनतम कार्यक्रम शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र संयोजक एमाले अध्यक्ष केपी ओलीसमक्ष मस्यौदा पेस गरिएको हो ।
बालुवाटारकाे उक्त बैठकमा सत्ता साझेदार दलहरू जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ लगायत नेताहरू उपस्थित रहेका थिए ।
साझा कार्यक्रम सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले शुक्रबार नै उक्त मस्यौदा तयार पारेको थियो । उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राप्रपाका धवल शमशेर राणा, जसपाका रकम चेमजोङ लगायतले तयार पारेकाे मस्यौदा प्रतिवेदन शीर्ष नेताहरूले अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्नेछन् ।
