“फूलको मुस्कानभित्र, उज्यालो जून”

Read Time:9 Minute, 0 Second

श्रवण मुकारुङ

काठमाण्डौ ,माघ ८ ।
नेपालमा कोरोना भाइरसका कारण लकडाउन सुरू हुनुभन्दा एक दिनअगाडि भावेश भुमरीजीमार्फत दुई शब्द लेख्न गीतकार घन बहादुर थापा मगरज्यूको गीतसङ्ग्रह ‘फूलको मुस्कान’को पाण्डूलिपि पाएँ । लकडाउन सुरू भइहाल्यो । कोरोनाको त्रासले यतिका समय दराजबाट पाण्डूलिपि निकालेर पढ्ने फुर्सद जुरेन । मनोविज्ञानकै कुरा होला, ठूला त्रासदीहरूमा म गम्भीर पठन र लेखन गर्न सक्दिनँ । तर धेरैजसो साथीहरू यस्तै बेला बढी सिर्जनशील भइरहेको देख्छु, आफैँप्रति टिठ लाग्छ ।
अहिले यो लकडाउनको तीतीन महिनापछि पनि भावेशजीको ताकेता नभएको भए सायद अझै सुतिबस्थेँ म । त्यसैले यसरी ब्युँझाउन, क्रियाशील हुन उत्प्रेरित गरेकामा भावेशजी र गीतकारज्यूलाई धन्यवाद दिन चाहन्छु ।

तिम्ले चिठी लेख्यौ कि त पर्खिएकी होलिन् आमा
सोच्यौ कि त तिम्लाई सधैँ सम्झिएकी होलिन् आमा


माथि उद्धृत गीत पढेपछि पो म झल्याँस्स भएँ । तीतीन महिनाको यो लकडाउनभित्र मैले गाउँमा हुनुभएकी मेरै आमालाई एकपल्ट मात्रै फोन गरेछु, म कस्तो निष्ठुरी छोरा …. ! मैले यो गीत पढिसकेपछि अरु गीत पढ्न छोडेर तत्काल आमालाई फोन गरेँ । सन्चोबिसन्चो सोधेँ । यद्यपि माथिको यो पङ्क्तिले अहिले पनि रन्थनिरहेछु । मैले आमाको स्वास्थ्य सम्झिरहेको छु, गाउँघर सम्झिरहेको छु । मभित्र करुणा जागृत भइरहेछ । सम्भवतः गीतको शक्ति नै यति हो । कविताको शक्ति नै यति हो, जसले मानिसभित्र करुणा या मानवीयता जागृत गाराइदिन्छ ।

क्याक्मी गाउँजस्तो अति नै सुन्दर धर्तीमा कहीँ छैन
संसारमा घुम्दा आकाशमा हेर्दा यस्तो गाउँ पाइँदैन

एकएक गरी घन बहादुर थापा मगरज्यूका गीतहरू पढिरहँदा मभित्र उहाँको एउटा सुन्दर र शालीन व्यक्तित्वको बिम्ब तयार भएको छ । जसले आफ्नो देश, परदेश, मानिस, समाज, प्रकृति, पर्यावरण सबलाई प्रेम मात्र गर्न जानेको छ । आफ्नो संस्कृति, परम्परा, श्रम र सीपलाई सम्मान गर्न मात्रै जानेको छ ।

छौ कि तिमी इराकमा कि त कान्दहरमा
जहाँ भए नि मेरो प्रिय तिमी मेरै मनमा


कुनै पनि सिर्जना स्रष्टाको प्रतिच्छाया हो । ऊ के सोच्छ ऊ त्यही हो । ऊ जे सोच्छ, लेख्ने पनि त्यही नै हो । फेरि हरेक मानिसको सोचाइको आयाम वा परिधि उसको जीवन भोगाइले निर्धारण गरेको हुन्छ । सांसारिक ज्ञान सहायक भइदिन्छन् । यसरी हेर्दा गीतकार घन बहादुर थापा मगरज्यूका यी रचनाहरू उहाँको जीवन यात्राका अविस्मरणीय व्यञ्जनाहरू हुन् । नेपालको स्याङ्जा जिल्लाको क्याक्मी गाउँदेखि बेलायतसम्मको उहाँको पदचापले स्पर्श गरेका यात्राका ध्वनिहरू हुन् ।

तिमीलाई भेट्न आज आएको थेँ प्रिय साथी
तिम्रै सास भेटिएन आँसु झारेँ लासमाथि


घन बहादुर थापा मगरज्यूका रचनाभित्र मूलतः दुईवटा विषय घनिभूत छन् । पहिलो, प्रेमका अनेकौँ अभिव्यञ्जना । त्यो देश प्रेम, मानिस मानिसबीचको प्रेम, युवायुवतीबीचको रागात्मक प्रेम, जीवनप्रतिको प्रेम, प्रकृतिप्रतिको प्रेम आदि हुन् भने दोस्रो चाहिँ दुःख, संघर्ष र आशा । यसरी उहाँ एक जीवनवादी रचनाकारको रुपमा स्थापित हुनुभएको छ ।

दूरको तारा गन्दागन्दै छेउको जून भुल्छौ कि त
जिन्दगीको दोबाटोमा कहीँ एक्लो बन्छौ कि त


सोह्र अक्षरी लोक छन्द उहाँको सबभन्दा प्रिय शैली देखिन्छ । यद्यपि उहाँले अन्य प्रचलित लोक शैलीका साथै मुक्त छन्दमा पनि गीतहरूको भव्य सिर्जना गर्नुभएको छ । शब्दहरूलाई कति सजिलै चलाएर तिनलाई आफ्ना कुरा भन्न लगाउन सक्ने उहाँको क्षमता अद्भूत लाग्यो मलाई । दोहोरी भाकामा सिर्जित युगल गीतहरू पनि सजीव छन् । यसरी लोकलय वा छन्दमा सिर्जनात्मक गीत लेखेर आफ्नो विशिष्टता प्रकट गर्नु सबैभन्दा चुनौतिपूर्ण कार्य हो, जसलाई गीतकारले सम्भव तुल्याउनुभएको छ । यो नै उहाँको सबैभन्दा महङ्खवपूर्ण पक्ष हो । उहाँका धेरै गीतहरू रेकर्ड भई स्रोतासामु पुगिसकेका पनि छन् । गीतको खास शक्ति गाइएपछि मात्र थाहा हुने हुनाले उहाँका रेकर्ड नभएका अरु गीतहरू पनि रेकर्ड भई सुन्न पाइयोस् भन्ने आग्रह गर्न पनि चाहन्छु ।

युकेमा छन् कति राम्रा उन्नत आलुबारी
तिमीलाई नै सम्झी सम्झी झरेँ म ओराली
आलु खाने कि
फेरि पनि मायालु युके जाने कि


संप्रेषणका हिसाबले साहित्यको सबैभन्दा प्रभावकारी विधा, कविताको जननी गीत नै हो । गीत सुन्नलाई स्रोता साक्षर भइराख्नुपर्दैन । आम मानिसले सहजै ग्रहण गर्न सक्ने विधा भएकैले विश्वमा गीतको बजार अमूल्य छ । गीत विधा नै अन्य विधाभन्दा कहाँ हो कहाँ लोकप्रिय छ । बच्चालाई फकाउन, सुताउनदेखि दुनी अङ्क, क ख ग घ सिकाउन होस् या कुनै धार्मिक, सांस्कृतिक अनुष्ठान सम्पन्न गरिने मन्त्र हुन् कि मेलापात दाउराघाँसदेखि श्रमिकहरूले ठूल्ठूला मेशिन उचाल्दा होस् या देशको नाममा सपथ खाँदा, युद्धमा जानुअघि गाइने अथवा मृत्युपछि गाइने गीत, सबै गीत नै हुन् । यस्तो विधामा आफ्नो छुट्टै परिचयका साथ स्थापित हुन जति सजिलो छ, त्यत्तिकै कठिन पनि छ । यही विधामा आफूलाई समर्पित गर्नुभएकामा गीतकार घन बहादुर थापा मगरज्यूलाई म हृदयदेखि नै सम्मान प्रकट गर्दछु ।

चरी भए मै उडी आउने थेँ
वनको काफल कोसेली ल्याउने थेँ


तिमी पर्‍यौ पारि म परेँ वारि
हाम्रो बीचमा राप्ती र कर्णाली
तर्नु कसरी सानु भेट्नु कसरी


राम्रो गीतले ज्ञानको प्रवाह मात्रै गर्दैन, मानव सभ्यताको इतिहास भन्छ । भूगोल भन्छ, खगोलको खोजी गर्छ । घन बहादुर थापा मगरज्यूका कतिपय गीतहरूले हामीलाई नेपालको भूगोल, वैभवता, विकटता मात्र होइन, बेलायतका केही विशेषताहरूसित पनि सजिलै परिचित गराएका छन् । नेपालका कुनाकन्दराहरूका बारेमा त उहाँका गीतहरू लछप्पै भिजेका छन् । यसरी हेर्दा एउटा गीतकार वा एउटा कवि, कवि मात्र नभएर राजदूतजस्तो, विधायकजस्तो पनि हो भन्न सकिन्छ । यस्तो अनुभूति गीतकार घन बहादुर थापा मगरज्यूका यी रचनाहरूले मलाई गराएका छन् । घन बहादुर थापा मगरज्यूको गीतिकारिताका आउँदा दिनहरू अझै सुखमय र प्रगतिशील रहून् । यही शुभेक्षा टक्र्याउँछु । धन्यवाद !

घरको शोभा मकैको सुलीले
तिमी राम्री नाकैको फुलीले
प्यूठान बजारमा
तिम्रो घर मन पर्‍यो एकै नजरमा
!

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %