– त्रिलोक सिंह थापा मगर
ई.सं. १५०० वर्षभन्दा पहिले नै नेपालको भूखण्डमा मगर जनजाति देखापरेका थिए । लिच्छवीहरूको आगमन हुनुभन्दा अघि नै मगर समुदायले नेपालको भू–भागमा बसोबास गरेको पाइन्छ । यसरी यस भूखण्डको सबभन्दा प्राचीन आदिवासी, मुलबासी मगर जनजाति हुन् भनेर इतिहासकारहरूले स्वीकार गर्दछन् ।
नेपाल अधिराज्यको मध्यपश्चिम पहाडी भू–भागहरुमा धौलागिरी, गण्डकी, लुम्बिनी, राप्ती, भेरी तथा कर्णालीका प्रदेशका मध्ये भू–भागहरुमा मगर जनजातिको मूलथलो तथा बसोबास गरेको देखिन्छ । अझपनि यस क्षेत्रमा मगरहरूको घनाबस्ती तथा सघन बसोबास रहेको पाइन्छ । यस प्रदेश र क्षेत्रमा बौद्ध दर्शनको आगमन र प्रचार हुन भन्दा अघि नै मगरहरु स्थापित एवं बसोबास गरिसकेका थिए ।
साझा राज्यब्यवस्था :
प्राचीन समयमा मगर जनजातिको सानासाना २२० वटा स्वायत र स्वतन्त्र मगर राज्य तथा थुमहरु थिए । पछि राज्य र थुमहरु “बाह्र” तथा “अठार” मगरात राज्यमा खुमचिन पुग्यो । कालान्तरमा मगर राना, मुखिया, मगर बुद्धिजीवि र अगुवाहरुले मिलेर साझा, संगठित र संघात्मक मगर राज्यको अवधारणा प्रतिपादित तथा विकसित गरे । (Concept of federal state) यस राजनैतिक अवधारणामा अन्तर्गत २२० वटा मगर राजा, बाह्र र अठार मगरातका राजाहरुले
क) आ–आपसको समझदारीको आधारमा छरिएर रहेका मगर राज्य र थुमहरूलाई एकीकरण (unification) गरेर एउटा शक्तिशाली र विशाल “मगरात राज्य” स्थापना गरेका थिए ।
ख) आ–आपसको सम्झौताको आधारमा मगरहरूको विभिन्न राज्यको भू–भागहरु, जनसंख्या तथा भौतिक संरचनाहरूलाई एउटै भूभागमा समेटेर विशाल “मगरत राज्य” खडा गरेका थिए ।
ग) आपसी सहमतिमा आफ्नो भेगका स्थानीय धर्म, भाषा, संस्कृति, सामाजिक पद्धति, रीति, थितीहरुलाई यथावत् पालन र अभ्यास गर्दै मगराती धर्म, मगराती सँस्कृति तथा “मगराती सभ्यता”को विकास गरेका थिए ।
घ) प्राचीन समयमा आपसीको “समझदारी, सम्झौता तथा सहभागितामा” “मगर राज्य”हरूको एकीकरण गरेर मगरहरूले विशाल एंव शक्तिशाली “मगरात राज्य”को स्थापना गरेका थिए । यसै सन्दर्भमा हेर्ने हो भने पृथ्वीनारायण शाहले नेपाल अधिराज्यको एकीकरण गर्दा आन्तरिक उपनिवेश लाई आधार बनाएका थिए भनेर केही इतिहासकारहरूको भनाइ छ । मगर राजाहरूले २२० वटा राज्यहरूको एकीकरण गर्दा कुनै किसिमको हिंसा, हत्या तथा युद्धको प्रमाण भेटिँदैन ।
शासनपद्धति र अवधि :
इतिहासकारहरुको अनुसार १६औँ शताब्दीसम्म मगर राजाहरूको गौरवमय राज्य शासन थियो । शाहवंश भन्दापनि बढि समयसम्म मगरहरूले नेपाल अधिराज्यमा शासन गरेका थिए । मगरहरूले आफ्नै शासन पद्धतिको विकास गरेका थिए । प्राचीन समयदेखि मगरहरूले लोकतान्त्रिक र प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास गरेको देखिन्छ । उदाहरणका लागि शाह राजाहरूको जस्तै वंशको आधारमा राज्य शासन गर्ने पद्धति मगर जनजातिमा थिएन । लोकतान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा निश्चित समय अवधिका लागि राजा वा थुमको मुखियाको छनौट गर्ने प्रचलन मगर जनजातिमा थियो । यस्तो पद्धति अन्तर्गत समय–समयमा गैर मगर पनि निश्चित अवधिका लागि मगर राज्यका राजा, मुखिया र प्रमुख हुने वा छनोट हुने चलन थियो । यसैको नमुना हो लिगलिगकोटमा प्रतिस्पर्धाको आधारमा राजा छनौट गर्ने प्रचलन ।
मगर राजाहरु :
इतिहासकारहरूले प्राचीन कालका धेरै मगर राजाहरुका नाम उल्लेख गरेका छन् । तिनीहरुमध्ये चर्चित मगर राना अरमुडडी मगर तथा बलिहाङ राना मगर पनि पर्दछन् । भारत कश्मिरका प्रसिद्ध इतिहासकार कत्न्हणले “राजत रङ्गिर्ण” (राजतरगिनी) पुस्तकमा मगर राजा अरमुडडीको चर्चा गरेका छन् । नवौं शताब्दीमा नेपालको कालीगण्डकी नदीको किनारमा “मगरात राज्य”को किल्ला थियो । काश्मरिका राजा जयर्पीडाले (वि.सं. ८३५–८६९) सो किल्ला कब्जा गर्न आक्रमण गर्दा मगर राजा अरडडमुनीले उनलाई पराजित गरेका थिए । अनि पछि बन्दी बनाएका थिए । विदेशी इतिहासकार को यस ऐतिहासिक आलेख बाट “मगरात राज्य”को अस्तित्वका बारेमा प्रस्ट जानकारी प्राप्त हुन्छ ।
राज्य बलिहाङ रानामगर
साभार :Flash Nepal https://www.youtube.com/watch?v=iImpRUrJ-jI
वर्तमान पाल्पा जिल्ला, बल्देङगढीमा गा.वि.स. वार्ड न ५ मा “मगरात राज्य”को गरिमामय इतिहास बोकेको मगर राजाको किल्ला छ । अनुमानित पन्ध्रौ शताब्दिमा उक्त किल्लाको निर्माण मगर राजा बलिहाङ्गले गरेका थिए ।
मगर राजाको राजधानीको रुपमा परिचित ऐतिहासिक पाल्पाको बल्ढेङ्गढीमा रहेको बलिहाङगढी दरबार संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको छ । पाल्पाको सदरमुकाम तानसेन देखि झण्डै ५० किलोमिटर पश्चिमदक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ किलोमिटर उत्तरमा पर्ने बलिहाङगढी दरबार ओझेलमा परेको हो । विक्रम सम्वत १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ । मगरको विशाल राज्य त्यतिखेर सञ्चालनमा रहेको कुरा इतिहासमा पाइएपनि व्यवहारिक रुपमा यसको सोधीखोजी हुन सकेको छैन । भग्नावशेष अवस्थामा रहेको बलिहाङगढी दरबार क्षेत्र वरीपरी अहिले पनि पुरानो दरबारको अवशेष इनार,युद्ध मोर्चाहरु, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको त्यतिखेरको चर्पी र मन्दिर रहेका छन् ।
फोटो साभार :www.Flash Nepal.com
अहिले त्यस क्षेत्रमा स्थानीयहरुले देवताको मन्दिर बनाई पूजाआजा गर्दै आएका छन् । अति सुन्दर, रमणीय डाँडाको चुचुरोमा रहेको दरबार क्षेत्रमा पुगेपछि जो कोहीलाई पनि स्वर्गमा पुगेको आनन्द आउने त्यहाँ आउने पर्यटकहरुले समेत बताउने गरेका छन् ।
न्यायप्रेमी, जनप्रिय मगर राजा बलिहाङ्गको राज्य पोखरा देखि भारतको उत्तर प्रदेशका कतिपय जिल्लाका सीमासम्म फैलिएको थियो । यीनको सेनामा चार हजार प्रशिक्षित मगर सैनिकहरु रहेका थिए । त्यसबेला यिनी अति शक्तिशाली मगर राजा थिए ।
पाल्पाको बल्डेङगढिमा बलिहाङ्गगढि पहाडको टाकुरामा अति रमणीय स्थानमा अवस्थित छ । योजनाबद्ध ढंगले किल्लाको निर्माण गरिएको थियो । किल्लाको सबभन्दा तल्लो भू–भागमा रैति अथवा प्रजाहरूको आवासको व्यवस्था थियो । त्यस ठाउँमा किल्लाको चारैतिर प्रजाहरू बस्ने, खेती, घरेलु उद्योग, व्यापार आदि गर्ने गराउने व्यवस्था मिलाइएको थियो । त्यसमाथि अर्ध सैनिकहरूको आवास क्षेत्र थियो । किल्लाको नजिक राजाको विश्वासिलो सुरक्षा सैनिकहरूको घेराबन्दी थियो । खानेपानी र अन्य आवश्यक सामग्रीका लागि योजनाबद्ध ढंगले क्षेत्रहरु छुट्याइएको थियो । आफ्नै औषधी उत्पादन पनि थियो । आज पनि त्यो किल्लाको भग्नावशेष अवस्थामा छ । साथै त्यहाँको वास्तुकला देख्न सकिन्छ । यस किल्लाले प्रमाणित गर्दछ प्राचीन समयमा मगर जनजातिको सभ्यता कति विकसित थियो । यो भग्नावशेष किल्लाको संरक्षणमा नेपाल मगर संघले चाख लिनुपर्ने हुन्छ । यस भग्नावशेष किल्लाले प्राचीन समयको मगरात र मगरात सभ्यताको प्रमाण दिन्छ ।
राजनैतिक र आर्थिक संरचना :
प्राचीन समयमा मगरहरुले अत्यन्तै सरल एवं सक्षम राजनैतिक संरचना खडा गरिसकेका थिए । सुलभ प्रशासन, न्याय प्रणाली, सामाजिक सेवाहरु उपलब्ध थियो । भाषा साहित्य, युद्धकला, संस्कृति एवं सामाजिक परम्पराहरूको विकास गरिसकेका थिए ।
आर्थिक क्षेत्रमा खानी उद्योग, फलफूल, निर्माण प्रविधि, कृषि, पशुपालन र अन्य व्यवसाय विकसित थिए । मगरात राज्यको उत्तरी भेग र तिब्बतसँग वस्तु विनिमयको व्यापारसमेत मगरहले गरेको पाइन्छ । “मगरात राज्य” आर्थिकरुपले आत्मनिर्भर तथा मगरहरु स्वालम्बी जनजाति थिए । यसरी प्राचीन समयमा “मगरत राज्य” अत्यन्त वैभवशाली तथा समृद्धिशाली राज्य थियो । त्यसै लागि छिमेकी गैर मगर राजाहरूमा यो उखान जादै प्रचलित छ, “दुख पाए मगरात पस्नु ।”
साथै समय समयमा पृथ्वीनारायण शाहले पनि आफूलाई “मगरातको राजा हूँ” भनेर उद्घोष गर्न गर्व गर्दथे । आफ्नो सन्ततिहरुलाई राज्यको न्यायसेवामा मगरलाई “विचारी” अर्थात न्यायधीशकोे पद दिनु भनि समेत उपदेश दिएका थिए । (दिव्य उपदेश) यी ऐतिहासिक प्रमाण र विवरणहरू बाट छर्लङ्ग हुन्छ प्राचिनकालमा मगर र मगरातको ऐतिहासिक महत्व कस्तो थियो ? कति माथि सम्म मगरहरूको छवि पुगेको थियो ।
धार्मिक आस्था :
प्राचीन समयमा मगर जनजातिहरूले आफ्नै आदिम धर्म तथा आदिम संस्कृतिको विकास गरिसकेका थिए । आफ्नै मौलिक धार्मिक आस्था, विश्वास र धार्मिक कर्मकाण्डको सिर्जना गरेका थिए । जसलाई अदृश्य शक्ति (Supernatural power) को पूजा, प्रकृति पूजा या (Worship of nature), पितृ पूजा ,(Ancestor worship),,, झाँक्रीवाद,,(Shanism),, बोन धर्म तन्त्रमन्त्र विद्या, वायु पुजा, कुल पुजा आदि । मगरहरूले हरेक कुरामा “आत्मा” हुन्छ भनि विश्वास गर्दथे । यसरी प्राचीन समयमा मगरहरूले आफ्नै मगराती धर्म, दर्शन र संस्कृतिहरूको विकास गरिसकेका थिए । जुन आज लोप हुन सक्ने सम्भावना देखिन्छ ।
मगर समाजमा हिन्दू धर्म, बौद्ध दर्शन तथा क्रिश्चियन अभ्यास धेरैपछि आएको पाइन्छ । मगरहरू हिन्दू, बौद्ध र क्रिस्चियन धर्ममा परिवर्तन भए तापनि अधिकांश मगरहरूले आफ्नो पूर्व कालदेखि आदिम धर्म, प्राकृतिक धर्मलाई पूर्णरूपमा परित्याग गर्न सकेका छैनन् । गाउँघरमा अझ पनि मगराती धर्म संस्कृति र कर्मकाण्डको यथावत् पालन र अभ्यास गरेको देखिन्छ । मगरहरुले संस्थागत र औपचारिकरुपमा मगरहरूको धर्म बौद्ध भनेर नेपाल मगर संघकोे पहिलो अन्तराष्ट्रिय सम्मेलन २०५५ साल असोज १,२ र ३ गते झापाको बिरतामोडको सम्मेलनले पारित गरेको थियो । साथै नेपाल मगर संघको २०५७ सालको सुनसरीे धरानको ७ औ राष्ट्रिय महाधिवेशनले यसलाई अनुमोदन समेत गरेको छ ।
विसं २०५५ सालमा सुवर्णकार रानामगरले बौद्ध ग्रन्थ “प्रज्ञापाचिता” रचना गरेका थिए । सो ग्रन्थ १२२६ सालमा गंगा रानामगरले सारेका अथवा उल्था गरेका थिए । डोल्पाको प्रसिद्ध “तारा गुम्बा” बुद्धमार्गी मगरहरूको ऐतिहासिक धार्मिक स्थल हो । त्यहाँ विदेशबाट पनि बौद्ध धर्मलम्बी दर्शन गर्न आउँछन् ।
मगरातका राजाहरुले पनि प्राचीन समयमा मगरात राज्यभित्र २२ र २३ वटा भन्दा बढी देवस्थल, कोट पूजाघरहरु विभिन्न ठाउँहरुमा निर्माण गरेका थिए । गुठी स्थापित गरेर मगर पूजारीहरुले माम पूजागर्ने व्यवस्था मगर राज्यहरुले मिलाएका थिए । आज पनि ती देवी स्थलमा र कोटहरुमा मगर पूजारीहरुले आफ्नै तन्त्रमन्त्र विधिद्वारा पूजाआजा प्राथाना तथा आराधना गर्ने गरेका छन् । मगर पूर्ण पूजारीहरुले मूर्तिपूजा गर्दैनन् । तैपनि सबै जात, थर, समुदायका भक्तहरू मगर पुजारीको हातबाट प्रसाद र आशीर्वाद ग्रहण गर्न आउने चलन अझसम्म पनि यथावत कायम छ । मगर पुजारी माथि आस्था र विश्वास भक्तहरूको यथावत छ ।
मगर राजाहरुले स्थापना गरेका मगरहरूको धार्मिक स्थल, देवल, कोत र देव स्थानहरुमा केही समयदेखि हिन्दू पूजारीहरुले अतिक्रमण गरेको देखिन थालेको छ । तत्कालीन राजाहरुले मगर पुजारी को नाममा गुठी स्थापित गरिदिएका देवस्थल र कोटहरूको परिसरमा हिन्दु पूजारीहरुले मूर्ति स्थापना गर्दै प्रार्थना र अन्य हिन्दु कर्मकाण्ड सुरु गरेको देखिन्छ । तत्कालीन राज्य प्रशासनले स्थापित गरेका गुठी अन्तर्गतका मगरहरुको देवस्थल, कोट र पूजाघरको परिसरमा हिन्दु पुजारीहरूको अतिक्रमण र हिन्दुक्रमण प्रति स्थानीय नेपाल मगर संघले छानविन र आवश्यक पहल गर्न सम्बन्धित निकायहरूमा सम्पर्क राख्न आवश्यक छ ।
क्रमश …………
लेखक : मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष एबं नेपाल मगर संघका सल्लाहकार हुनुहुन्छ ।