
काठमाण्डौं, भाद्र १५
कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय कमलेस सहनीको कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो । उपचारका लागि काठमाडौं लाने क्रममा स्थानीय निजि स्वास्थ्य संस्थामा कार्यरत हेल्थ असिस्टेन्ट सहनीको बाटोमै ज्यान गएको हो । भदौ ७ गते बिरामी भई ज्यान गुमाएका कमलेसको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाई छ ।
स्थानीय जनताको उपचारमा खटिने क्रममा उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । क्लिनिक सञ्चालन गरि समस्या परेकाहरुलाई घरमै पुगेर सहयोग गर्ने क्रममा कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले शंका गरेका छन् । स्वास्थ्यकर्मी सहनीको श्रीमतीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको र परिवारका अन्य सदस्यको रिपोर्ट आउन बाँकी रहेको मनरा सिसवा नगरपालिकाका सूचना अधिकारी आलोककुमार सहनीले जानकारी दिनुभयो । ज्यान गुमाएका सहनीको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
