
देब पचभैया
काठमाण्डौं, श्रावण ६
भूतपुर्व गोर्खा सैनिकहरुलाई विभेद गर्ने गरि सरकारले गरेको निर्णय सच्याउन माग गर्दे भूतपुर्व सैनिक प्रहरीहरु आन्दोलनमा उत्रिएका छन् । भूपु सैनिक प्रहरीहरुले नेपाल सरकार बाट प्राप्त गर्दे आएका सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारले हालै गरेको निर्णयको बिरोध गर्दे राष्ट्रिय जनमुक्ति पार्टी आवद्ध राष्ट्रिय पूर्व सैनिक संगठनले देशैभरिका जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई निर्णय फेर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गरेको तर भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि रहेको भन्दै बिरोध जनाइएको छ ।

सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्दे उनीहरुले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल मगर , भूतपूर्ब सैनिक तथा प्रहरी संघको आपत्ति

भूतपुर्व गोर्खा सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल मगर भूतपुर्व सैनिक तथा प्रहरी संघले तत्काल निर्णय सच्याउन सरकार संग माग गरेको छ । संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा द्धारा हस्ताक्षरित प्रेस वक्तब्यमा सरकारको यो निर्णयले भूपुहरुको आत्मसम्मानमा ठेस लागेको भन्दै भूपुहरुलाई अनागरिक जस्तो ब्यवहार गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरिएको छ । राज्यको खतरापूर्ण क्षेत्रमा जीवनको कलकलाउँदो समय योगदान गर्ने निबृत्तिभरण प्राप्त नेपाली सेना तथा प्रहरीलाई पनि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वाट बन्चित गर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापाले देशविदेशमा कार्यरत भूपुहरुलाई सामाजिक सुरक्षा भत्ताको सुनिश्चित गर्न र उनीहरुले देशलाई पुर्याएको योगदानको कदर गर्न समेत माग गर्नुभएको छ ।
