
काठमाण्डौं, चैत्र १०
काठमाण्डौंमा एक १९ वर्षिया युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै यही चैत्र ४ गते नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेश बाट नेपाल आएपछि होम क्वारेनटाइन्मा रहेकी उनी आफै पुन स्वास्थ्य परिक्षणका लागी अस्पताल पुगेकी थिइन् । परिक्षणका क्रममा उनमा सङ्क्रमण भएको देखिएपछि उनको शुक्रराज सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।
उनको परिवारलाई समेत क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार १९ वर्षिया ति युवतीको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आएका सवैको खोजी गरेर व्यवस्थित गर्ने कार्य भैरहेको छ । यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी उपचार पछि ठिक भएर घर फर्किसकेका छन् । काठमाण्डौं स्थित टेकु अस्पतालमा अहिलेसम्म ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएपनि कसैलाई पनि संक्रमण नभेटिएको सरकारले जनाएको छ ।
