देब पचभैया
पाल्पा, मंशिर १७ – रत्नपार्क, काठमाण्डौमा निर्माणाधिन भ्यू टावर निर्माणका लागि मगर अगुवाहरुले देशविदेशमा रहेका मगरहरुलाई सहभागी गराउने बताएका छन् ।
कुल लागतको २० प्रतिशत शेयर लगानी गर्ने गरी मगर इन्भेष्टमेन्ट गु्रप (MIG) नेपालको नेतृत्वमा सबै मगरहरुलाई सहभागी गराउने गरी अभियान संचालन भैरहेको यूके मगर संघका अध्यक्ष एबम् ग्लोबल कोअर्डिनेटर नेम थापा मगरले जानकारी दिनुभयो ।
मिग हङकङ्ग र यूके बाट भ्यू टावरमा लगानी गर्ने अभियान भैरहेपनि पछिल्लो समय संसारभर रहेका मगरहरुलाई पनि लगानी गर्ने बाताबरण सिर्जना गर्दै अभियानलाई तिब्र पारिएको मिग हङकङ्गका संयोजक सुमन थापाले बताउनुभयो ।
काठमाण्डौ भ्यू टावरका नेपाल संयोजक हुम बहादुर थापाका अनुसार पैसा भएकाहरुलाई मात्रै समेट्ने भन्दा पनि गाँउमा कुखुरा बाख्रा बेच्ने मगरहरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्ने गरी नेपालका सबै जिल्लाहरुमा जानकारी दिन अन्र्तक्रियात्मक कार्यक्रम भैरहेको छ ।
जिल्लामा पुगेर गरिएका कार्यक्रमले लगानी गर्ने मगरहरुको जमात बढ्दै गएको भन्दै संयोजक थापाले सबैलाई समेट्ने नसकिएपनि धेरैलाई सहभागी गराउने अभियानलाई तिब्र पारिएको बताउनुभयो ।
मगर संघ हङकङ्गकी अध्यक्ष युगमाया रानाले भ्यू टावर नेर्माणमा मगरहरुको योगदान पनि देखिने र त्यसबाट हुने आम्दानी सबैलाई समान रुपमा बितरणका लागि पनि अभियानलाई सक्रिय बनाइएको जानकारी दिनुभयो । रानाका अनुसार काठमाण्डौ , पोखरा , झापा, पाल्पा, रुपन्देही, चितवन लगाएतका जिल्लामा भ्यूटावर निर्माणमा लगानी जुटाउने गरी बृहत छलफल भैसकेको छ ।
झण्डै २३ रोपानी क्षेत्रफलको जमिनमा ७ अरब ६४ करोडको लागतमा बन्न लागेको ३२ तले भ्यूटावर निर्माणमा जलेश्वर कम्पनीको ५० प्रतिशत, आईडिया फर नेपालको ३० प्रतिशत र मिग नेपालको २० प्रतिशत लागत रहेको छ ।