प्रेमध्वज गाहा मगर
यसपाली जनैपुर्नेमा
मिजार दाईले
खुब्बै रोइलो गरे।
एकसरो हल्ला गरे सर्लक्कै,,गाउंमा ।
भने,,
“दलितले पण्डित बाजेको धागो लाउनु पाउनु पर्छ “
सम्झाउने मेसोमा मैले भनें,
हैट..मिजार दाई,धागो पो त ?
उ भन्छ ..` होस ´।
म्लेच्छ्को देशबाट आउंछ ,पबित्र होइन नि !
उ भन्छ `होस ´।
तिमि र तिम्रो समुदाय माथिको ,सदियौंको दलनको प्रतिक हो -.
उ फेरी भन्छ ` होस ´ ।
दलितलाई धागो बांध्दिनं , पण्डितले यसो भन्यो हो? – उ भन्छ `हो´।
अब दलितलाई दासताको जंजीरले बांध्दिनं भन्यो कि ??
उ अझै च्यांट्ठिएर भन्छ – “ होस तर सदियौं देखिको परम्परा ,
मैले धागो बांध्नु पाउनु पर्छ । “
मिजार दाईको ,
`वान वे ´ ढिपी देखेर अवाक म ।
छाडिदिएं सम्झाउन ।
उ लाग्यो ओरालै ओरालो पण्डित बाको मुकाम ताकेर ।
म तेर्सै,,तेर्सो लागें ।।
निकै हर्षित मुद्रामा ,
अर्कोन्दिन भेटिए मिजार दाई ।
मिजार दाई लायौ त धागो??- मैले सोधें ।
बर्षौं देखि बिष्टको सेवामा खटिंदा ,
छिदृएका हत्केला बोकेको एक थान नाडिमा ,
थियो एकै थान धागो ।
खुशी हुंदै ,
ओल्टाइपोल्टाइ देखायो उसले आफ्नो नाडी ।
धारा छोएकोमा पोहोर मात्र हो – उ कुटिएको ।
मन्दिर पस्दा अस्ति मात्र हो – उसले श्राप पाएको ।
हिजै मात्र हो – उसले पसल्नीको झापट खाएको ।
गिलांस नपखालेको अभियोगमा ।।
यस अघि कहिल्यै नरिसाएको मिजार दाई ,
यसपाली जनैपुर्नेमा खुब्बै रिसाए ।
रोइलो गरे ,हल्ला गरे एकसरो सर्लक्कै ।
भने ` दलितले पण्डितको धागो लाउनु पाउनुइ पर्छ । ´
मिजार दाई!
मन्दिरमा देउता भेट्न नदिएकोमा – कैले रिसाउने?
धारामा सरावरि पानी भर्न नपाएकोमा – कैले रिसाउने?
चिया पसलमा शान सित
आत्मसम्मानको चिया पिउन नपाएकोमा – कैले रिसाउने??
मेरा सवालहरु असरल्ल छाडेर भुइमै ,
पुलकित हुंदै फटाफट हिंडेको उ ,
निक्कै प..र पुगेछ ।
मनमनै सोधें ,
मिजार दाई !
फगत धागो त चुंडिजान्छ कुनै दिन ,
तर यो सत्ताले तिम्रो घांटिमा बांधिदिएको ,
दलन , दासता र उपेक्षाको,
अजंग दाम्लो चाई – कैले चुडाउंछौ ???
नवलपूर/ १३ भदौ, २०७५