११ बर्षिय बालकको हत्यारा फरार निर्दोषलाई मार्यो पुलिसले !

Read Time:4 Minute, 22 Second

छिन्डोमा तामाङ –

हाम्रो घर सिन्धुपाल्चोकको मासखर्क हो। बाह्रबिसे बजारबाट पाँच घन्टा उकालो चढेपछि पुगिन्छ। सोमवार हामी बारीमा कोदो गोड्दै थियौं। सबैले गोपालको खबर सुनाए, साढे ५ बजेतिर। पत्यार लाग्ने कुरै थिएन। छोरो मरेको खबरले केही गर्न सकिँन।

चार छोरामध्येकै जेठो, घरको आडभरोसा। भाइबहिनीलाई पढाउनुपर्छ भनेर खर्च पठाइरहन्थ्यो। हाम्रो खेती किसानीमै दिन बित्छ। कमाइ गर्ने अरु बाटो छैन। त्यसैले गोपालले दु:ख नपाओस् भनेर पढाएँ। तर, उसले ८ कक्षामै पढाई छाड्यो। अनि विदेश गयो। दुईपटक त इराक। दुबई एक चोटी। खर्च धान्ने, भाइबहिनीलाई पढाउने उही थियो। भाइबहिनी सबै हुर्कपछि बिहे गर्छु भन्थ्यो। पछि रोगी भएछ, छातीमा दाग देखेपछि विदेशबाट फर्केर आयो।

कात्तिकमा विदेशबाट आएपछि म विदेशमा जाँदिन, यतै काम गर्छु भनेर काठमाडौं बस्न थाल्यो। रङ लगाउने काम पाएछ। २०५० सालको जन्म हो उसको।

गोपाललाई त्यस्तो भएको भन्ने खबर सुनेपछि मन विरक्तिएर आयो। अनेक सोचेँ। गोपाल गाउँमा त्यस्तो गर्ने मान्छे होइन। जाँडरक्सी खाएर झगडा गर्ने खालको मान्छे पनि हैन। कसरी त्यस्तो भयो? आफैँले आफूलाई सोधेँ। मेरो श्रीमान् पनि एकोरियो। रातभर निदाउन सकिँन। हिजोको रात मुस्किलले कटाएँ। अझै पनि गोपाललाई त्यस्तो भएको भन्ने विश्वासै लागेन, १० मनमा एक मनले पनि। बिहान श्रीमान् लाई चाँडो जाउ भनेर ढिपी गरेँ। गोपाललाई भेट्ने ठेगाना उनलाई पनि थाह थिएन। म पनि काठमाडौं आएको थिइनँ। त्यही भएर गाउँलेसँग सल्लाह गरेँ। गाउँले जम्मा भए, हामीसँग आइदिने भए। घरमा वस्तुभाउ छ यत्तिकै, कहिल्यै छाडेको थिएन। सानै भए पनि छोराछोरीकै भरमा घर छाडेँ।

बाह्रबिसे नगरपालिकाको वडा नम्बर २ मा पर्ने मासखर्कबाट पैदलै हिँडेर हामी बाह्रबिसे बजार आइपुग्न चार घन्टा लाग्यो। बाटो त खुलेको थियो तर बर्खा लागेकाले गाडी आउँदैन आजकाल। गाडीमा चढ्दा पनि सपनाजस्तै लागिरह्यो। छोरा ट्याम ट्याममा घर आइरहन्थ्यो। हामी काठमाडौंमा छोरा भेट्न कहिल्यै गाउँ छाड्नु परेको थिएन। गएको शनिबार र आइतबार कुरा भएको थियो। आमा बालाई सम्झेको छ भनेर फोन गरेको थियो। पीर नगर्नु मलाई ठीकै छ भनेको थियो। यसपालि खर्च पठाउन सकिँन। आफैलाई औषधि गर्न ठिक्क भयो भनेको थियो।

गाडीबाट ३ घन्टामा टिचिङ अस्पताल आइपुगेँ। अझैसम्म गोपाल मरेकै छैन जस्तो लागिरह्यो। अस्पतालमा टेक्नसाथ गोपाललाई हेर्ने मन थियो। तर, अरुहरुले ‘अहिले हेर्न पाउँदैन’ भने। मन भतभत भयो। गोपालको अनुहार आँखाभरी नाच्यो। उसले पठाएको कपडा सम्झेँ। मान्छे राख्ने ठाउँमा पुगेर मेरो छोरा हो भनेपछि बल्ल हेर्न दिए। त्यो गोपालै रहेछ।

अब के बोल्नु? एउटा मुलाको साग चोरेर खाएको थिएन। कसरी यस्तो भयो? किन मार्‍यो मेरो छोरालाई? छिन्डोमासँग उनका पति त्रिवि शिक्षण अस्पतालमा।

(छिन्डोमासँग पहिलोपोस्टका नेत्र तामाङले गरेको कुराकानीमा आधारित)

source:http://www.pahilopost.com/content/20180807185405.html

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %