गोबिन्द घर्ती
चैत्र २१ । युवाहरुलाई बैदशिक रोजगारबाट रोक्न स्वरोजगारको सृजना गर्नुपर्ने प्रदेश ५ का सांसद बिमला पन्थीले बताइन ।
पन्थीले सीपले मात्र स्वरोजगार बन्न सक्ने भएकोले युवाहरुलाई सीप र ज्ञान दिने खालका कार्यक्रम प्रदेश सरकारले ल्याउने दावी गरीन । देवदह नगरपालिकाद्वारा आयोजित विभिन्न सिपमुलक तालिमको उद्घाटन गर्दै पन्थीले उक्त कुरा बताएको हो ।
सांसद पन्थीले सीपले मात्र आत्मनिर्भर बन्न सकिनेमा जोड दिएका थिए । पन्थीले समृद्ध समाज निर्माण गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले स्वरोजगारको योजना ल्याउन आवश्यक रहेको औल्याइन । प्राविधिक शिक्षाले मात्र आत्मनिर्भर बनाउने भन्दै अव शिक्षा निति सोही अनुसार बनाउने दावी समेत गरीन । पन्थीले आमनागरिकको क्षमता अभिबृद्धि गर्ने गरी सीपमुलक तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिए ।
देवदह नगरपालिका उप्रमुख विद्या लक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–७, का वडा अध्यक्ष पदम थापा, देवदह–६, का वडा अध्यक्ष दामोर क्षेत्री, सिप विकास तालिम केन्द्रका वाल कृष्ण पौडेल, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, एमाओवादीका देवदह अध्यक्ष मोतीलाल ढकाल, हेमा बेलवासे लगायतले आ–आफना भनाई राखेका थिए ।
देवदह नगरपालिकाको आर्थिक सहयोग र ए फोर टेनिङ्ग सेन्टरको व्यवस्थापनमा ३ महिने महिला, युवा र आदिवासी जनजाति लक्षित व्यूटिपार्लर, सिलाई कटाई, प्लम्विङ्ग, हाउस वायरिङ्ग, हाते कढाई बुटिक तालिम शुरु भएको छ । करिव १७ लाखको लागतमा उक्त तालिमहरु सम्पन्न हुने नगरपालिकाले जनाएको छ । बम बहादुर गुरुङ्गको स्वागत र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
