रुद्र श्रीसमगर
पोखरा, माघ २४ – ‘नेपाली लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने मूल नारासहित लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको नाममा स्थापित ‘कल्याण शेरचन स्मृति सम्मान’बाट यस वर्ष वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानले बुधबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा वरिष्ठ खेलाडी रानाभाटलाई खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् रविन्द्र अधिकारीले ताम्रपत्र, शेरचनपत्नी एवं प्रतिष्ठानकी प्रमुख संरक्षक शर्मिला शेरचनले २५ हजार १ रुपैयाँ नगद र वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले दोसल्लासहित रानाभाटलाई सम्मान गर्नुभयो ।
सो अवसरमा सम्मानित रानाभाटले आफूले सम्मानबापत पाएको २५ हजार रुपैयाँमा पाँच हजार थपेर ३० हजार रुपैयाँ प्रतिष्ठानलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । सम्मान ग्रहणपछि रानाभाटले कल्याण शेरचनजस्तो स्रष्टालाई चाँडै गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै आफू बाँचुञ्जेल शेरचनको बाटोमा हिँड्ने प्रण गर्नुभयो ।
सांसद् रविन्द्र अधिकारीले कल्याण शेरचन नेपाली लोकसंस्कृतिका एक अमर हस्ती भएको बताउनुभयो । वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले नेपाली लोक संस्कृतिको क्षेत्रमा कल्याण शेरचनको अभाव सधैं खड्किरहेको उल्लेख गर्नुभयो । वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले कल्याण शेरचन नेपाली लोकसंगीत क्षेत्रको एक अमर नक्षत्र भएको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व छनौट समितिका संयोजक एवं प्रतिष्ठानका सल्लाहकार नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटजस्तो व्यक्तित्वलाई सम्मानका लागि छनौट गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानको आजीवन सदस्यता लिएकालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । आजीवन सदस्यताको प्रमाणपत्र पाउनेहरूमा तेजबहादुर गुरुङ, प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, दिनेश श्रेष्ठ, हरिप्रसाद पराजुली, दिलबहादुर गुरुङ, जुमबहादुर गुरुङ रहनुभएको छ भने डा. चन्द्रबहादुर गुरुङ, सुष्मा गुरुङ र योगेन्द्र शर्माले नयाँ आजीवन सदस्यता लिने भएकोमा स्वागत गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर Þयोल्मोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्रीजंग गुरुङ र उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
