पृथ्वीनारायण विश्वविद्यालय बन्नमा अब कसैले रोक्न सक्दैन

Read Time:5 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, ४ पुस

पृथ्वीनारायण क्याम्पस र त्रि.वि.उच्च शिक्षा सुधार परियोजनाको संयुक्त आयोजनामा “परिवर्तित सन्दर्भमा उच्च शिक्षाको स्वायत्तता पृ.ना. क्याम्पसका लागि अवसर र चुनौतीहरू” विषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्र बहादुर थापाको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचीव प्रा.डा.देवराज अधिकारी र पूर्व सदस्य सचीव भोला पोखरेल, त्रि.वि.उच्च शिक्षा सुधार परियोजनाका संयोजक प्राध्यापक शंकर भण्डारीका साथै वल्र्ड बैंकका शिक्षाविद्हरू प्रा.डा.मोहन प्रसाद अर्याल र डा.राजेन्द्र ध्वज जोशीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उच्च शिक्षामा गुणस्तर ल्याउन विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे बोल्दै आयोगका सदस्य सचिव प्रा.डा.अधिकारीले नेपालको परिवर्तित सन्दर्भमा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू पनि परिवर्तित हुन जरूरी भएको विचार व्यक्त गरेका थिए । उच्च शिक्षामा उत्कृष्टता उपलब्ध गर्न स्वायत्तता आवश्यक छ,प्रा.डा.अधिकारीको भनाइ थियो ।

नेपालको उच्च शिक्षा सुधारमा वल्र्ड बैंकको भूमिकाबारे आफ्नो विचार व्यक्त गर्ने क्रममा सो बैंकका उच्च शिक्षा सम्बन्धी मामला हेर्ने प्रतिनिधि प्रा.डा. मोहन प्रसाद अर्यालले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि बैंकको उच्च शिक्षामा लगानी आवश्यक छ भने । प्रा.डा.अर्यालले भने— “पृथ्वीनारायण क्याम्पसले आफूलाई सुधार गर्न चाहेमा बैंक लगानी गर्न सधै तयार छ ।”

सोही बैंकका अर्का शिक्षाविद् डा.राजेन्द्रध्वज जोशीले हरेक देशको विकासका लागि उच्च शिक्षाको महत्वबारे बोलेका थिए । “विश्वका हरेक देशमा उच्च शिक्षाको विकाससंगै आर्थिक विकास पनि भएको कुरा तथ्य हो,” डा जोशीको भनाई थियो ।

उच्च शिक्षाको स्वायत्ततामा त्रि.वि. उच्च शिक्षा सुधार परियोजनाको भूमिकाबारे बोल्दै सो परियोजनाका संयोजक प्राध्यापक भण्डारीले नेपालको बदलिँदो परिवेशमा पृथ्वीनारायण क्याम्पसले स्वायत्तताको फाइदा लिँदै यस संस्थालाई विश्वविद्यालयमा परिवर्तित गर्नुपर्ने सुझाव दिए । “पृथ्वीनारायण क्याम्पसले यस कार्यमा ढिलाई गरेमा प्रदेश नं. ४ को उच्च शिक्षामा आफ्नो अग्रणी भूमिकाबाट स्खलित हुनुपर्ने छ ।”

पृथ्वीनारायण क्याम्पसमा प्राज्ञिक उन्नयनका प्रयासहरू भन्ने शिर्षकमा बोल्दै यसै क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले पचासको दशकदेखि यस क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रयास भएतापनि सो हुन नसकेकोमा दुखः व्यक्त गरे । “ढिला नगरी क्याम्पसलाई स्वायत्त बनाउँदै विश्वविद्यालयमा परिवर्तन गर्नु पर्छ,” वहाँले भन्नुभयो ।

सोही क्याम्पसका अर्का वक्ता सह–प्राध्यापक डा. मीन पुनले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा बनाउन आनाकानी गर्न नहुने र अब कसैले रोक्न पनि नसक्ने विचार व्यक्त गर्दै नेपालमा संघीय राज्यको अवधारणा र त्यसको कार्यान्वयनसँगै सबै चिज सोही अनुरूप परिवर्तन हुन्छ भन्ने तथ्य बुझ्नु पर्छ भन्नुभयो ।

उक्त अन्तक्र्रियात्मक कार्यक्रममा सोही क्याम्पसका करीब ६० जना प्रशासनिक पदाधिकारी र प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %