सोनु थापामगर
बुटवल, मंसिर १२ । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार सूर्य कुमार सारुलाई बुटवल उपमहानगरपालिका वडा नं १७ र १९ नं वडा साविक मौतिपुरका मतदाताहरुले मोतिपुर मूख्य शहर बुटवलबाट नजिकै रहेर पनि तुलनात्मक हिसाबमा आर्थिक, सामाजिक, ब्यापारिक, शैक्षिक रुपमा विकास नभएको गुनासो गरेका छन् ।
चुनाबी प्रचार प्रसारको क्रममा आज मंगलबार मोतिपुर पुगेका उम्मेद्वार सूर्यकुमार सारुमगरसंग चुनाबी छलफलमा स्थानियले यस्तो समस्या र गुनासो पोखेका हुन् । स्थानियले छलफल गर्दै उम्मेद्वार सूर्यकुमार सारुबाट भने यसपटक आसा रहेको बताएका छन् । उनीहरुले जनताको आसा नमारेर मोतिपुरबासीको हितमा काम गर्न सुझाब दिएका छन् । साथै चुनाबी समयमा मात्र भोट माग्न आउने तर पछि केही नगर्ने नेता देखि भने आफुहरु पीडित रहेको बताएका छन् ।
मतदाताहरुलाई आस्वस्त पार्दै उम्मेद्वार सूर्यकुमार सारुले अन्य उम्मेद्वार र आफुमा फरक रहेको बताउँदै आफ्नो जीतपश्चात स्थानिय समस्यालाई स्थानियकै सहभागितामा समाधान गरिने प्रतिबद्धता जनाएका छन् । उनले मतदातासंग यसपटक जिताएर काम गर्ने मौका दिन समेत आग्रह गरेका छन् । उनले जनमुक्तिका उम्मेद्वारहरुले चुनाब जीतेर बेइमानी नगर्ने कुरामा ढुक्क हुन आग्रह गरे । जनमुक्ति पार्टीले जीतपछि काम नगर्ने आफ्ना पार्टीका नेताहरुलाई अदालतमा मुद्दा दायर गरेर कारबाही चलाउनेसम्मको अधिकार जनतालाई आफ्नो घोषणा पत्रमा नै व्यवस्था गरेकाले मतदाताहरुलाई जनमुक्तिका कुनैपनि उम्मेद्वारहरुले जीतपश्चात काम गर्दैनकी भनेर शंका नगर्न आग्रह गरेका छन् । यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं २ का उम्मेद्वार केवी पुनले बुटवल कालिकानगर र देविनगरमा जनभेटघाट गरेको छ ।
