रूद्र श्रीसमगर
पोखरा, कार्तिक १५ – नेपाली मौलिक गीत संगीतमा पछिल्लो समय स्थापित हुन थालेका लोक तथा दोहोरी गायक नवीन रानामगरले नेपाली मौलिक संस्कृतिको एक अभिन्न लोकगीत सोरठी गाएका छन् ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ५, सिमलबोटका मगर समुदायमा प्रचलित सोरठीको एक हाँगा “आँधीपुर”मा लोक तथा दोहोरी गायिका यमु श्रीसमगरसँगै स्वर दिएका हुन् । सो सोरठी गीतको गत कार्तिक १ गते तिहारको अवसरमा म्यूजिक भिडियो सार्वजनिक समेत गरियो ।
सोरठीको सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो । संस्कृति संरक्षण मञ्च, सिमलबोटले निर्माण गरेको म्यूजिक भिडियोको छायाङ्कन र सम्पादन दानबहादुर श्रीसमगरले गरेका हुन् भने निर्देशन गोविन्द पुनमगरले गरेका हुन् । मिलन गुरुङको कलरिङ रहेको म्यूजिक भिडियोको श्रृंगार पुनम पुनमगरले गरेकी हुन् ।