सोनु थापामगर
बुटवल, कार्तिक १४ – नेपालमा राजनैतिक खराबीका कारण भ्रष्टाचार मौलाएकाले भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्ने कानुन आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशब सुर्यबंशीले बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश ब्युरोले आज मंगलबार बुटवलमा आयोजना गरेको प्रतिनिधी सभा र प्रदेशसभा चुनावी घोषणा पत्र सार्बजनिक सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले वर्तमान सत्तासिन राजनैतिक दलहरुले जनतासामु भोट माग्न नैतिक रुपमा नमिल्ने समेत बताउनु भयो । “जनताले अब कस्तो पार्टीलाई मत दिने भन्ने कुराको विवेक पुर्याउनु पर्ने समय आएको छ ।” उहाँले भन्नुभयो “ २००७ साल देखि जनताले यि दललाई जिताउँदै आएका छन् तर देशको अवस्था समृद्धितर्फ भन्दा झन भ्रष्टाचारमा चुर्लुम्म डुबाउने काम भएको छ । ” भ्रष्टाचार निर्मुल, देशको समृद्धि र समावेशी राष्ट्रका लागि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले ३८ बुँदे चुनावी प्रतिबद्धता घोषणा पत्र जारी गर्दै आगामी समृद्ध नेपालका लागि राष्ट्रिय वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी मात्र रहेको उद्घोष गरेको छ । सभामा नेपाली कांग्रेस, एमाले, माओवादी, फोरम लगायत पार्टी परित्याग गरेर आएका करिब ४०० जना जनमुक्तिमा प्रवेश गरेका छन् । सो अवसरमा पार्टीका नेताहरु कमला थापा, दल बहादुर विरकटा, शंकर गाहा नवप्रवेशीहरु दुर्गा बहादुर थापा, नुर महमद खान, विनोद यादव, मनीकुमार चौधरी, दिनेश मणी त्रिपाठी लगायतले बोल्नु भएको थियो । कार्यक्रम संघीय परिषद् सदस्य होमाया गुरुङको अध्यक्षता, जिल्ला अध्यक्ष झम बहादुर गुरुङको स्वागत तथा गीता सारुको सञ्चालनमा सम्पन्न भएको थियो ।
