रूद्र श्रीसमगर
पोखरा, कात्तिक ११ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान सहयोगमा निर्मित पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५, हेम्जास्थित सहकारी हाईटेक ग्रीन हाउस परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
देवीस्थान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार भएको कार्यक्रममा उपस्थित कृषकहरुले विभिन्न जिज्ञासा एवं प्रश्न राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासा एवं प्रश्नहरुको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाई पोखराका प्रमुख महेन्द्र कौडाल, अध्यक्ष धर्मराज बाँस्तोला, रुद्रनाथ तिमिल्सिनालगायतले जवाफ दिएका थिए ।
१२ वटा सहकारी संस्था आबद्ध भइ १ करोड २० लाख रुपैयाँको लागतमा सुरु गरिएको परियोजनामा ७२ लाख सरकारी अनुदान तथा विभिन्न सहकारीमा आबद्ध किसानहरुको ४८ लाख रुपैयाँ लगानी भएको सचिव भीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । परियोजना अन्तर्गत हाल पाँच वटा टनेलमा विभिन्न तरकारी खेती गरिएका छन् । कार्यक्रममा उपस्थित किसानहरुले अनुसन्धानमा जोड दिनुपर्ने, बजारीकरणमा ध्यान दिनुपर्ने, प्राड्डारिक खेतीमा जोड गर्नुपर्नेलगायतका सुझाव राखेका थिए ।
