गोविन्द घर्ती
असोज ३० । समुदायमा हस्तान्तरण गरेसंगै बनको संरक्षण र सम्वद्र्धन भएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उहाले समुदायको सहभागिता विना कुनैपनि काम गर्न नसकिने भन्दै वनको संरक्षण र सम्वद्र्धनमा स्थानीय उपभोक्ताहरु सचेत र सजग भएर लाग्नु पर्नेमा जोड दिनु भयो । प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदह–९, को आठौ बार्षिक साधारणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले वनको संरक्षण संगै सदपयोग समेत गर्नुपर्ने बताउदै सामुदायिक वनहरुले उत्पादन मुखी बनाउनु पर्नेमा जोड दिनु भयो । नगरप्रमुख खत्रीले सामुदायिक वनहरु संग हातेमालो गरेर देवदहको विकासको नगरपालिकाले विशेष योजना ल्याउने बताउनु भयो । उहाले वनको दीगो विकास र संरक्षणको लागि नगरपालिकाले समेत योजना तयार गर्ने बताउदै त्यसको लागि सामुदायिक वन उपभोक्ता समुहहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले स्थानीय विकास निर्माणमा समुदायले चासो राख्नु पर्ने बताउदै सामुदायिक वनहरुले उपभोक्ताहरुको आयआर्जनको लागि काम गर्नुपर्ने बताउनु भयो ।
प्रगति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चमकान्त गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका वन कार्यालय भलुहीका सहायक वन अधिकृत राजन खड्का, देवदह–९, का वडा अध्यक्ष केशवप्रसाद भट्टराई, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, सल्लाहकार विष्णु भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समुहका जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग, पुर्वकर्मचारी, उत्कृष्ट विद्यार्थी लगायतले सम्मान गरिएको थियो । कार्यक्रममा समुहका अध्यक्ष गौडेलले बार्षिक प्रतिवेदन संगै भावी कार्ययोजना र कोषाध्यक्ष जगनाथ अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका बरिष्ठ उपाध्यक्ष डिल्लीराज पन्थको स्वागत र सचिव बर्षा तिवारी, उपाध्यक्ष पवन पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
