मगर आदिकवि पुरस्कार झूस्या मगरलाई

Read Time:3 Minute, 27 Second

रूद्र श्रीसमगर
Image may contain: 1 person, hat and closeup

पोखरा, भदौ २१ – मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरका नाममा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य पुरस्कार’बाट यस वर्ष मगर भाषाका अग्रज साहित्यकार एवं भाषाविद् लोकबहादुर थापामगर ‘झूस्या मगर’लाई सम्मानित गरिने भएको छ ।

संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा गण्डकी अञ्चल समितिकी सल्लाहकार फूलकुमारी थापामगर, केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, गण्डकी अञ्चल समितिकी अध्यक्ष गीता थापामगर र पूर्व सचिव मीना थापामगर सदस्य रहेको पाँच सदस्यीय प्रतिभा छनौट समितिको बुधबार बिहान बसेको बैठकले साहित्यकार झूस्या मगरलाई पुरस्कारका लागि सिफारिस गरेको हो । प्रतिभा छनौट समितिको सिफारिसलाई अञ्चल समितिले अनुमोदन समेत गरेको अञ्चल समितिका सचिव ऋतुभक्त थापामगरले जानकारी दिनुभयो ।

पाँच हजार रुपैयाँ राशिको सो पुरस्कार यही भदौ २८ गते मगर आदिकवि सु. रेखबहादुरको ७४ औं जन्मजयन्तीका दिन प्रदान गरिनेछ । पुरस्कृत व्यक्तित्वलाई नगदसहित, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । यो पुरस्कारबाट यसअघि साहित्यकार फूलकुमारी थापामगर सम्मानित भइसक्नुभएको छ । मगर भाषाका दुई आदिकवि मध्येका एक सु. रेखबहादुरको वि.सं. २००१ साल भदौ २८ गते तनहुँको रिसिङ गाउँपालिका–४, भीरकोट, अर्चल्डीमा जन्म भएको थियो भने २०६१ साल असार २९ गते निधन भएको हो ।

मगर आदिकवि पुरस्कारबाट सम्मानित हुन लाग्नुभएका अग्रज साहित्यकार झूस्या मगरका साहित्यिक कृति, मगर भाषाको व्याकरण, अन्य पुस्तक गरी झण्डै डेढ दर्जनबढी पुस्तक प्रकाशित भएका छन् । उहाँका ‘जजा बखट’, ‘आर्मीट्च मामरी’, ‘कलेज बखट’लगायतका उपन्यास, ‘रङ्सीचकूङ ल्हीङ’, ‘ङा काट भर्मी’लगायतका कविता संग्रह, मगर भाषाको व्याकरण, क्षेत्रीय भेदसम्बन्धी पुस्तकलगायत प्रकाशित छन् ।

नेपाल मगर संघका पूर्व महासचिव समेत रहनुभएका उहाँ मगर साहित्यमा झूस्या मगर नामले चिनिनुहुन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्यसचिव उहाँ हाल, मगर भाषा प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । स्याङ्जाको बिरुवा गाउँपालिका झाँगडीमा जन्मनुभएका उहाँ पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व उपप्राध्यापक समेत हुनुहुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %