मीना थापामगर
पोखरा, भाद्र २ – नेपाल मगर युवा संघ दिप वगर इकाई समितिको आयोजनामा हारितालिका तिजको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । ‘मौलिक कला संस्कृतिको जगेर्ना, हामी सबैको चाहना’ भन्ने मुल उद्देश्यका साथ आयोजना गरिएको उक्त सांस्कृतिक कार्यक्रम भाद्र ३ गते शनिबार बगर टुडिखेलको खुल्ला चौरमा हुने संघका अध्यक्ष भाइराज रानामगरले बताउनुभयो ।
नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजको हार्दिक शुभकामना सहित हुने विविध सांस्कृतिक कार्यक्रममा विभिन्न ठाउँमा रहेका मगरहरुको मौलिक कला संस्कृति झल्किने खालका नृत्यहरु प्रस्तुत गरिने छ । साथै विभिन्न जातजातिका संस्कृतिका साथै विभिन्न क्षेत्रमा प्रचलित मौलिक नृत्य पनि प्रस्तुत गरिने संघले जनाएको छ । मगरहरुको मौलिक नृत्य कौरा, झ्याउरे, सालैजो, सोरठी, यानीमाया, रुकुम रोल्पाका मगरहरुले नचाइने मयुर नाच, म्याग्दीका पुनमगरहरुमा प्रचलित थाली नाच जस्ता मौलिक नृत्यहरु मुख्य आकर्षण हुनेछ । त्यसैगरी पश्चिम भेगमा नचाइने टप्पा नाच, मध्य र सुदुर पश्चिममा प्रचलित हुड्केली नाच, सेर्पा जातिको सेबु्र, गुरुङ, तामाङ थारुलगायत नेपाली कला संस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिने अध्यक्ष रानामगरले जानकारी दिए । यसैगरी राष्ट्रिय हास्यकलाकारहरु दिपक थापामगर, निर आलेमगर, लोकदोहोरी गायक नविन रानामगर, सृष्टि पुनमगर, पुजा गुरुङ ललित पुनमगर, सन्तोष थापामगर लगायतको सांगीतिक प्रस्तुति पनि रहने छ । साथै नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष कविराज थापामगरको विशेष उपस्थिति रहने सचिव विमला थापामगरले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमको लागि तयारी पुरा भएको अध्यक्ष भाइराज रानाले जानकारी दिएका छन् । डिडी नृत्य प्रशिक्षण केन्द्रले नृत्य प्रशिक्षणमा सहकार्य गरेको छ । नृत्य प्रशिक्षणका संचालक समेत रहेका नेपाल मगर युवा संघ दिप बगर इकाई समितिका उपाध्यक्ष दिलिप रानामगर उक्त सांस्कृतिक कार्यक्रमका अर्थ संयोजक रहेका छन् । यसैगरी मञ्च व्यवस्थापनमा सिमन रोकामगर, टिकत संयोजकमा अस्मिता पुनमगर, प्रचारप्रसार संयोजकमा खुसी रानामगर, अतिथि व्यवस्थापनमा मनोज पुनमगर, राष्ट्रिय कलाकार संयोजकमा हास्यकलाकार दिपक थापामगर रहेका छन् ।
नेपालका विभिन्न जाति, समुदाय र क्षेत्रमा प्रचलित मौलिक पहिचान बोकेको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रानामगरले बताए । कार्यक्रम सम्पन्न गर्नको लागि साढे ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ३ हजार सम्म दर्शकको उपस्थिति रहने आयोजकको दावी छ । कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुने संघले जनाएको छ ।
