रूद्र श्रीसमगर
पोखरा, साउन २४ – राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले पत्रकारितामार्फत् कौरा नाचको संरक्षणमा योगदान पुर्याउने एक जना पत्रकारलाई पुरस्कृत गर्न ‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाले सञ्चालन गर्ने गरी हरेक वर्ष कौरा संरक्षण समितिको स्थापना दिवस जेठ १५ गते सो पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो । मगर पत्रकार संघ कास्की शाखा र कौरा संरक्षण समितिको मंगलबार सम्पन्न संयुक्त बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि पाँच हजार पाँच रुपैयाँ रहनेछ ।
पुरस्कार घोषणाले मगर जातिको मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको संरक्षण एवं प्रवद्र्धनमा कलम चलाउने पत्रकारहरूलाई उत्साहित बनाएको मगर पत्रकार संघ कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरले बताउनुभयो । पुरस्कार आगामी वर्षदेखि प्रदान गरिने हितानमगरले बताउनुभयो ।
संयुक्त बैठकमा सांस्कृतिक अभियन्ताहरू तारामाया थापामगर, नरमाया आलेमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर र नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगरले पुरस्कारले सबै पत्रकारलाई कौरा नाचको संरक्षण र प्रवद्र्धनका लागि कलम चलाउन प्रोत्साहन गर्ने धारणा राख्नुभयो ।