रूद्र श्रीसमगर
पोखरा, साउन १ – सुन्दर पर्यटकीय नगरी पोखरा लेखनाथ महानगरपालिका वडा १५ र १७ मा अवस्थित ऐतिहासिक ठाउँ ढुड्डेसाँघुको चिनारी गीतका तथा वृत्तचित्र आइतबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
त्यहाँका ऐतिहासिक पुल ढुड्डेसाँघु र धार्मिक एवम पर्यटकीय स्थलहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो गीतका साथै वृत्तचित्र निर्माण गरिएको हो । सो अवसरमा नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्रमुख सूर्य थपलिया, पं. कमलनयन गौतम र वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले सिडीको विमोचन गर्नुभएको थियो ।
प्रमुख अतिथि थपलियाले ओझेलमा परेका सुन्दर पर्यटकीय सम्भावना बोकेका ठाउँहरुलाई चिनारी गीत संगीत साथै वृत्तचित्रमार्फत् प्रकाशमा ल्याउने प्रयास गर्नु अत्यन्तै राम्रो कार्य रहेको बताउनुभयो । विमोचन कार्यक्रममा विशेष अतिथी पण्डित कमलनयन गौतम, वडा न १५ का वडाध्यक्ष प्रकाश पौडेल,वडा सदस्य तोरण बानियाँ, वडा १७ का वडा सदस्य वैकुण्ठ भण्डारीलगायतले बोल्नु भएको थियो ।
“हाम्रो गाउँ ढुड्डेसाँघु” बोलको गीतको परिकल्पना शब्द, संगीत र निर्देशन मदन गिरीको रहेको छ भने स्वर मालती गुरुङको रहेको छ । टाइगर्स फिल्मस् प्रालिको बजार व्यवस्थापन रहेको सो म्यूजिक भिडियो तथा वृत्तचित्रको छायाड्कन तथा सम्पादन दानबहादुर श्रीसले गर्नुभएको हो भने होम गुरुङको कोरियोग्राफी रहेको छ ।
ढुड्डेसाँघु पर्यटनस्थल संरक्षण समितिका अध्यक्ष नरेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्थानीय सीतापुरी युवा क्लबका अध्यक्ष शंकर भण्डारीले गर्नुभएको थियो भने सञ्चालन पर्यटन स्थल समितिका सचिव रघुनाथ भण्डारीले गर्नुभएको थियो । स्थानीय जानकी आधारभूत विद्यालय महतगौँडामा भएको विमोचन कार्यक्रममा स्थानीयबासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।