रूद्र श्रीसमगर

पोखरा, असार १० – मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई पोखराको तमुस्यो रि च्हमी परिवारले स्वागत एवं सम्मान गरेको छ । हङकङबाट दुई साताको बिदामा नेपाल आएका समाजसेवी गुरुङलाई गुरुङ चेलीबेटीहरूको संस्था तमुस्यो रि च्हमी परिवारले बिहीबार सम्मान गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष समेत रहेका समाजसेवी गुरुङलाई परिवारका अध्यक्ष गौरी गुरुङ, सदस्यहरू पुनम गुरुङ, सुगन्ध गुरुङ र निशा गुरुङ तथा पत्रकार रूद्रबहादुर श्रीसले खादा र फूलमालासहित स्वागत अनि सम्मान गर्नुभएको हो ।
स्वागत ग्रहण गर्दै समाजसेवी गुरुङले सामाजिक कार्यका लागि तमुस्यो रि च्हमीसँग हातेमालो गर्न आफू तयार रहेको बताउनुभयो । ‘तपाई चेलीबेटीहरूले तमुस्यो रि च्हमी परिवार जन्माएर निकै राम्रो गर्नुभएको छ’, गुरुङले भन्नुभयो, ‘म पनि सामाजिक कार्यमा क्रियाशील भएको व्यक्तिका नाताले तपाईहरूसँग मिलेर काम गर्न चाहन्छु ।’ सामाजिक कार्यका लागि तमुस्यो रि च्हमीलाई आफूले सक्दो सहयोग गर्ने वचन दिँदै उहाँले आफूलाई सम्मान गरेकामा धन्यवाद दिनुभयो ।
