समाजसेवी गुरुङद्वारा पाल्पाको मिलन पुस्तकालयलाई ३ सय बढी पुस्तक हस्तान्तरण

Read Time:5 Minute, 56 Second

रूद्र श्रीसमगर

Image may contain: 7 people, people smiling, people standing and outdoor

रम्भा (पाल्पा), असार १० – मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफूले स्थापना गरेको पुस्तकालयलाई ३ सय भन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको छ ।

समाजसेवी गुरुङले पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा स्थापित मिलन पुस्तकालयलाई शनिबार करिब २५ हजार रुपैयाँ बराबरको ३ सय २२ पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष समेत रहेका समाजसेवी गुरुङ संस्थापक रहेको सो पुस्तकालयमा थपिएका नयाँ पुस्तकसहित झण्डै ९ सय पुस्तकहरू रहेको विद्यालयका सहायक प्रधानाध्यापक रनबहादुर कामुले जानकारी दिनुभयो । शनिबार समाजसेवी गुरुङले हस्तान्तरण गरेका पुस्तकहरू बालसाहित्य, स्वास्थ्य, विज्ञान, वातावरण तथा कृषिसँग सम्बन्धित रहेका छन् ।

पुस्तक हस्तान्तरणपछि बोल्दै समाजसेवी गुरुङले ज्ञानविज्ञानका लागि पुस्तक महŒवपूर्ण हुने बताउनुभयो । ‘ज्ञानविज्ञानका लागि पुस्तक अध्ययन गर्नु अनिवार्य छ’, गुरुङले भन्नुभयो, ‘गाउँलेहरूका निम्ति अध्ययन संस्कृतिको विकासका लागि पुस्तकालय सहयोगी हुने मेरो अपेक्षा छ ।’ पुस्तकालयका लागि आवश्यक सामग्री केही आफूले पहिल्यै सहयोग गरेको र अझै पनि आवश्यक सामग्री सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

‘विद्यालयका निम्ति के आवश्यक छ, मैले सक्ने चिज म सहयोग गर्न तत्पर छु’, उहाँले भन्नुभयो, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि म पनि हातेमालो गर्न इच्छुक छु ।’ आफूले मिलन फाउण्डेशनमार्फत् थुप्रै सामाजिक कार्य गरेको भन्दै गुरुङले आवश्यकताले समाजसेवामा लाग्न प्रेरित भएको उल्लेख गर्नुभयो ।

‘मसँग प्रशस्त धन, सम्पत्ति भएर सहयोग गरेको होइन’, गुरुङले भन्नुभयो, ‘विशुद्ध सामाजिक मनले परदेशमा कमाएको दुई चार पैसा बचत गरेर केही गर्ने प्रयत्न मात्र गरेको हुँ ।’ उहाँले पुस्कालयमा उपलब्ध पुस्तकहरूको सदुपयोग गर्न आग्रह गर्दै अध्ययन गरेर ज्ञान आर्जनका निम्ति सबैलाई सुझाव दिनुभयो ।

Image may contain: 1 person, crowd, tree and outdoor

पत्रकार रूद्रबहादुर श्रीसले समाजसेवी गुरुङ सबैका लागि उदाहरणीय व्यक्तित्व भएको उल्लेख गर्नुभयो । ‘दुर्गा गुरुङ ‘मिलन’, सबैका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ’, पत्रकार श्रीसले भन्नुभयो, ‘परदेशमा गएर पैसा त सबैले कमाएका छन्, तर, समाजसेवामा थोरै मात्र क्रियाशील छन् ।’ पत्रकार श्रीसले समाजसेवी गुरुङले राज्यले गर्नुपर्ने काम गरेको भन्दै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधा राज्यको दायित्वभित्र पर्ने उल्लेख गर्नुभयो ।

मिलन फाउण्डेशन नेपालकी कोषाध्यक्ष देउकी (दिपिका) सिंजाली ‘मिलन’ले भौतिक विकासका दृष्टिले पछि परेको गाउँको शिक्षाको विकासका लागि पुस्तकालय सहयोगी साबित हुने उल्लेख गर्नुभयो । ‘समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ज्यूले यो गाउँको शैक्षिक विकासका लागि धेरै ठूलो गुन लगाउनुभएको छ’, उहाँले भन्नुभयो, ‘यस विद्यालयको आवश्यकता परिपूर्ति गर्न हामीले संस्थामार्फत् पनि पहल अवश्यक गर्नेछौं ।’

कार्यक्रममा स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत रम्भा गाउँपालिका वडा नं. २, सुरुमडाँडा मतदान केन्द्रका मतदान अधिकृत यज्ञप्रसाद गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजाली र शिक्षक अभिभावक संघका अध्यक्ष खिलबहादुर घर्तीमगरले विद्यालयलाई सहयोग गरेकामा समाजसेवी गुरुङप्रति धन्यवाद प्रकट गर्नुभयो ।

मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नारायण मसराड्डी र विद्यालयका सहायक प्रधानाध्यापक रनबहादुर कामुले स्वागत गर्नुभएको थियो ।

समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले विद्यालयमा मिलन पुस्तकालय स्थापनासँगै एक थान युरो गार्ड, एक थान कम्प्युटर सेट, एक थान प्रिन्टर सहयोग गरिसक्नुभएको छ भने अध्ययनरत प्रत्येक विद्यार्थीहरूलाई विद्यालय पोशाकको स्वीटर र टोपी समेत प्रदान गरिसक्नुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %