सोनु थापा मगर
बुटवल, असार ११ – राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी प्रचारप्रसारको अन्तिम दिन आज आइतबार पनि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह नगरपालिका, सिनपा, कञ्चन गाउँपालिका लगायतका ठाउँहरुमा घरदैलो तथा प्रचार प्रसार अभियान सम्पन्न गरेको छ ।
केही स्थानिय तहमा नेपाली कांग्रेससंग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीले तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा मतदाताहरुसंग भेटघाट तथा छलफल गरेको छ । घरदैलो अभियानमा मतदाताहरुले तिलोत्तमाको विकासका लागि जनमुक्ति र कांग्रेसको संयुक्त उम्मेद्वारहरुलाई मत दिन आतुर रहेको जनाउँदै संयुक्त गठबन्धनका उम्मेद्वारहरुसंग समृद्ध तिलोत्तमा नगर बनाउने अपेक्षा गरेको र यसैका लागि आफुहरुले रुख चिन्हमा मतदान गर्ने बताए । स्थानियहरुसंगको भेटघाटमा मेयर पद्का उम्मेद्वार रामकृष्ण खाँण र उपमेयर पदका उम्मेद्वार गीता सारुले स्थानिय जनताको भावना अनुरुप नै आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउँदै तिलोत्तमा नगरलाई नमुना र समृद्ध नगर बनाउनका लागि नै कांग्रेस र जनमुक्तिको संयुक्त गठबन्धनको उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नु भएको छ ।
यसैबीच बुटवल उपमहागरपालिकामा वडा नं ७,९,१०, वडा नं ११ र वडा नं १२ का स्थानियहरुसंग बुटवल उपमहानगरका मेयर पद्का उम्मेद्वार जनक थापा र धनी आलेले प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन् । उनीहरुले बुटवलका विभिन्न समस्या र संभाव्यतालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । दिगो आर्थिक विकासका लागि विश्वमा पर्यटन विकास अपरिहार्य बन्दै गइरहेका बेला बुटवलमा स्थानिय पर्यटन विकासका लागि एतिहासिक स्थलहरुको अनुसन्धान तथा विकास, राष्ट्रिय स्तरको खेलमैदान तथा पार्क निर्माण र पर्यटकीय जलक्रिडाको लागि तिनाउ नदिमा नेपालकै ठुलो कृतिम जलाशय निर्माण गर्ने योजना आफुहरुसंग रहेको बताउनु भएको छ ।
महिला हितका लागि भन्दै बुटवल उपमहानगरपालिका वडा नं १२ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट महिला सदस्यमा हिरा माया तरामु, वडा नं ११ मा वीमला गुरुङ, वडा नं ७ मा बसन्ती साठीघरेले उम्मेद्वारी दिनु भएको छ । त्यसैगरि कञ्चन गाउँपालिकामा घरदैलो तथा प्रचारप्रसार अभियान पश्चात रुद्रपुरमा भएको कोण सभामा राष्ट्रिय जनमुक्ति पार्टिका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, कञ्चन गाउँपालिकाका प्रमूखका उम्मेद्वार रुम बहादुर फौजा, उपप्रमूखका उम्मेद्वार दानकुमारी थापाले भ्रष्टाचारमुक्त स्थानिय प्रशासनका लागि जनताहरुले आफुहरुलाई मत दिन आतुर रहेकाले कञ्चन गाउँपालिकामा जनमुक्तिको जीत सुनिश्चित भइसकेको बताउँनु भयो ।
