रुद्र श्रीसमगर
असार ११ – पहिलो चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै चुनाव हुन बाँकी चार प्रदेशमध्ये तीन प्रदेशमा दोस्रो चरणमा यही असार १४ गते चुनाव हुँदैछ ।
राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने भन्दै सरकारले प्रदेश नम्बर दुईको निर्वाचन भने आगामी असोज २ गते गर्ने घोषणा गरेको छ । पहिलो चरणमा प्रदेश नम्बर तीन, चार र छ मा निर्वाचन भएको थियो । अब दोस्रो चरणमा प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचन हुँदैछ ।
आइतबार ती सबै प्रदेशमा उत्साहपूर्वक मनोनयनदर्ता भएका छन् । तराई क्षेत्रमा पर्ने केही स्थानमा संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताएको राजपाले समेत उम्मेदवारी दिएको छ । त्यस्तै, स्थानीय तहको चुनाव खारेज गर्नुपर्ने माग गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत रोल्पाको थबाङ गाउँपालिका लगायतका स्थानमा निर्वाचनमा भाग लिएको छ । यसले पनि निर्वाचनलाई थप उत्साहपूर्ण बनाएको छ ।
बहिष्कार गर्ने बताएका पार्टीले समेत भाग लिनुलाई सकारात्मक मान्नुपर्दछ । यस हिसाबले चुनाव हुन आँटेका तीन प्रदेशमा चुनावी माहौल बढ्दै गएको प्रष्ट पनि हुन्छ । निवर्तमान प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन सफल पार्नुभयो भने दोस्रो चरण र तेस्रो चरणको स्थानीय तहको निर्वाचनसहित प्रादेशिक र संघीय निर्वाचन सफल पार्नुपर्ने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको छ । असन्तुष्ट राजपालाई समेत सहमति ल्याएर सिंगो देशलाई चुनावमा होमिने बनाउनु सरकारको प्रमुख दायित्व हो ।
