पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९, ११ र १२ मा माओवादी केन्द्रको घरदैलो तथा मतदाता शिक्षा

Read Time:3 Minute, 24 Second

रूद्र श्रीसमगर

पोखरा, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतका वडाहरूमा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ ।

बुधबार माओवादी केन्द्रले वडा नं. ९ का विभिन्न टोलहरूमा घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ९ अन्तर्गतका कृष्णटोलमा घरदैलो, पार्वतीटोलमा मतदाता शिक्षा कार्यक्रम र सहाराटोलमा छलफल सम्पन्न गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार सुवेदी ‘राजन’ले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवारहरूमा वडाध्यक्षमा यमुना गुरुङ, सदस्यहरूमा आइतमान गुरुङ, सैबु निशा, दलित महिला सदस्यमा दुर्गा विक ‘कमला’ रहनुभएको छ । चुनावी अभियान अन्तर्गत बिहीबार वडा नं. ९ को कृष्णटोल र भीमसेनचोक, महेन्द्रपुलमा कोणसभा आयोजना गरिने सुवेदीले जानकारी दिनुभयो । घरदैलो अभियान निकै उत्साहपूर्ण भएको र माओवादी केन्द्रको जित सुनिश्चित भएको पार्टीका वडाध्यक्ष बमबहादुर कार्कीले दाबी गर्नुभयो ।

त्यस्तै, वडा नं. ११ मा पनि माओवादी केन्द्रले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएको छ । जस अन्तर्गत वडा नं. ११ का विकट क्षेत्रहरूमा मचहारी, रानीबगर, सिमलचौरलगायतका ठाउँमा माओवादी केन्द्रले घरदैलो अभियान सम्पन्न गरेको माओवादी केन्द्रका वडा अध्यक्ष कुमार क्षत्रीले जानकारी दिनुभयो ।

वडा नं. ११ का माओवादी उम्मेदवारहरूमा वडाध्यक्षमा हर्कमान विक, सदस्यहरूमा ईश्वरी आचार्य, दलित महिला सदस्यमा सरिता विक र विष्णुप्रसाद आचार्य रहनुभएको छ ।
त्यसैगरी, वडा नं. १२ मा पनि माओवादी केन्द्रले आफ्नो चुनावी अभियान तीव्र पारेको छ । जसमा ६ वटा टोल विकास संस्थाहरूमा घरदैलो सम्पन्न गरेको पार्टीका वडा अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जस अन्तर्गत कालिकामार्ग, बुद्धदेव, बौद्धमौला, लालीगुराँस, शान्तिमार्ग, मिनी लालीगुराँसटोल विकास संस्थाहरूमा उल्लेख्य जनसहभागितासहित घरदैलो सम्पन्न भएको घिमिरेले दाबी गर्नुभयो । घरदैलोमा देखिएको जनसहभागिताले माओवादी केन्द्रको जित सुनिश्चित देखिएको उहाँको दाबी थियो ।

वडा नं. १२ मा माओवादी केन्द्र तर्फका उम्मेदवारहरूमा वडाध्यक्षमा मीनबहादुर गुरुङ, सदस्यहरूमा भुवनप्रकाश आचार्य, हिरादेवी लामिछानेलगायत रहनुभएको छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %