रूद्र श्रीसमगर

गलकोट, वैशाख २४ – बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरका दगामी (दगाईं) श्रीस मगरहरूको कुल पूजा सम्पन्न भएको छ ।
ऐतिहासिक दरमखानी क्षेत्रका दगाईं श्रीस मगरहरूले हरेक दुई/दुई वर्षमा कुल पूजा गर्दै आएका छन् । शुक्रबार सम्पन्न कुल पूजामा ठूलाथर, भुजुड्डेसहित पोखरा, बुटवल, भैरहवा, देहरादून लगायतका ठाउँबाट आफ्नो कुल पूजामा सहभागी हुन दगाईं श्रीस मगरहरू आएका थिए ।
कुल पूजामा युवा कम्युनिष्ट नेता यामबहादुर श्रीसमगर, वरिष्ठ छायाँकार दानबहादुर श्रीसमगर, ई. बमबहादुर श्रीसमगर, ई. दिलकुमारी श्रीसमगर, पत्रकार रूद्रबहादुर श्रीसमगर लगायतको उपस्थिति थियो । ‘यसपालीको कुल पूजा पनि सदाको झैं भव्यतापूर्वक सम्पन्न भयो’, दगाईं श्रीस मगरहरूका कुल पुजारी एवं धर्मगुरु धनबहादुर श्रीसमगरले भन्नुभयो, ‘हामी दगाईं श्रीस मगरहरू प्रकृतिपूजक हौं, मौलिक परम्परा अनुसार हामीले कुल पूजालाई निरन्तरता दिएका छौं ।’
दगाईं श्रीस मगरहरू प्रकृतिपूजक भएपनि पछिल्लो समयमा केहीले हिन्दू, बौद्ध र इसाई धर्म अँगालेको पुजारी श्रीसमगरले भन्नुभयो । ‘हाम्रो संस्कारमा केही हिन्दू संस्कारको प्रभाव अवश्य छ’, पुजारी श्रीसमगरले भन्नुभयो, ‘तर, हामीले हाम्रो मौलिक धर्म, संस्कारलाई पनि छोडेका छैनौं ।’
